अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबाट बाँकी ‘खतरा’ समुद्री माइन भएको दाबी गर्दै हर्मुज जलघाँटीमा तिनको सफाइ प्रक्रिया सुरु गरेको दाबी गरेका छन् ।
What you should know
काठमाडौँ — इरानको सरकारी प्रसारक आईआरआईबीले एक वरिष्ठ सैन्य अधिकारीलाई उद्धृत गर्दै कुनै पनि अमेरिकी जहाजले हर्मुज जलघाँटी पार नगरेको दाबी गरेको छ ।
यो दाबी अमेरिकी समाचार साइट एक्सिओसले एक अमेरिकी अधिकारीको हवाला दिँदै केही अमेरिकी नौसैनिक जहाजहरूले उक्त जलमार्ग पार गरेको उल्लेख गरेपछि आएको हो । साथै, डोनाल्ड ट्रम्पले अमेरिका हर्मुजबाट बारुदी सुरुङ (माइन) हटाउने काम गरिरहेको दाबी गरेका थिए ।
अमेरिकाले हर्मुजबाट माइन हटाउँदै गरेको ट्रम्पको दाबी
आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलको पोस्टमा ट्रम्पले इरानबाट बाँकी रहेको एक मात्र 'खतरा' समुद्री माइन भएको र ती इरानी जहाजहरूले हर्मुजमा राखेको दाबी गरेका छन् ।
'हामी अहिले चीन, जापान, दक्षिण कोरिया, फ्रान्स, जर्मनीलगायत विश्वका अन्य देशहरूको हितका लागि हर्मुज जलघाँटी सफा गर्ने प्रक्रिया सुरु गर्दैछौं,' उनले लेखेका छन् ।
ट्रम्पले ती देशहरूलाई यो काम आफैं गर्न 'साहस वा इच्छाशक्ति नभएको' आरोप समेत लगाएका छन् ।
एक महिनाभन्दा लामो युद्धपछि आज पाकिस्तानको मध्यस्थतामा इरान र अमेरिका शान्ति वार्तामा बस्दैछन् । यद्यपी, यो वार्ता प्रत्यक्ष हुनेछैन । इस्लामावादस्थित जिन्हा सम्मेलन केन्द्रमा दुबै पक्षका प्रतिनिधिहरु बेग्ला–बेग्लै स्थानमा बस्नेछन् । पाकिस्तानी मध्यस्थकर्ताहरुले एक–अर्काका सन्देश दुबैपक्ष समक्ष पुर्याउनेछन् । अमेरिकाबाट उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा वार्ता टोली इस्लामावाद आइपुगेको छ । टोलीमा राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाँइ जरेद कुस्नर र पश्चिम एसिया दूत स्टिभ विटकफ सहभागी छन् ।
इरानको प्रतिनिधिमण्डल पनि शनिबारै इस्लामावाद आइपुगेको छ । सभामुख महोम्मद बगेर गालीबाफले नेतृत्व गरेको यस प्रतिनिधिमण्डलमा विदेशमन्त्री अब्बास अराग्चीसहित विशिष्ट अधिकारी छन् ।
