ध्वनिको गतिभन्दा ३३ गुणा तेज गतिमा हावा चिरेर यो यान पृथ्वीको वायुमण्डलमा छिर्यो ।
काठमाडौँ — एपी : झन्डै ५० वर्षपछि चन्द्रमा आसपास यात्रा गरेर आर्टेमिस–२ मिशनका अन्तरिक्ष यात्रीहरू फर्किएका छन् । नेपाली समयअनुसार शनिबार बिहान ५ : ४५ बजे उनीहरु प्रशान्त महासागरमा अवरण गरेका हुन् । मिशनअन्तर्गत १ अप्रिल ६ : ४५ बजे साँझ (नेपाली समय २ अप्रिल ४ : २० बिहान) फ्लोरिडाबाट उडेको इन्टेग्रिटी नामको ओरियन क्याप्सुल धर्तीमा फर्किएको हो ।
मिशनले चन्द्रमाबाट निकै टाढा रहेका त्यस्ता ठाउँहरु देखाएको छ, जो मानिसका आँखाले यसअघि कहिल्यै देखेका थिएनन् ।
यस यानले पूर्ण सूर्यग्रहण र अन्तरिक्षका अन्य धेरै ग्रहहरू पनि देखेको छ । अन्धकारबीच चम्किरहेको पृथ्वीलाई पनि उनीहरुले स्पष्टसँग नियाले ।
अमेरिकाको अन्तरिक्ष अनुसन्धान संस्था (नासा) ले परीक्षणस्वरुप यी यात्रुहरुलाई अन्तरिक्षमा चन्द्र कक्षनजिक पठाएको हो । आगामी दुई वर्षभित्र नासाले अर्को टोली पठाउनेछ, जसले चन्द्रमा अवतरण गर्नेछन् । नासाले चरण–चरणमा विभिन्न अध्ययन-अनुसन्धान गरेर आगामी दशक चन्द्रमामा आधार शिविर (मुन बेस) निर्माण गर्ने योजना पनि बनाएको छ ।
यसअघि ध्वनिको गतिभन्दा ३३ गुणा तेज गतिमा हावा चिरेर यो यान पृथ्वीको वायुमण्डलमा छिरेको थियो । त्यसपछि क्रमशः यसको गति घट्दै गएको थियो । कमाण्डर रिड वाइजम्यान, पाइलट भिक्टर ग्लोभर, क्रिस्टिना कोच र क्यानडाका जेरेमी ह्यान्से सहितका चार अन्तरिक्ष यात्रीहरू प्यारासुटको सहयोगमा सान डिएगोनजिक समुद्रको पानीमा झरेका थिए ।
त्यहाँबाट अमेरिकी जलसेनाले उनीहरुलाई जलसेनाको जहाज यूएसएस जोन पी. मर्थामा लगे । नासा प्रमुख जारेड आइज्याकम्यानले यी यात्रुहरुलाई मानव सभ्यताका तर्फबाट तारामा पठाइएका दूत भनेर सम्बोधन गरे । उनले टोलीका सदस्यहरुले निकै राम्रो काम गरेको बताए । चन्द्रमा मिशनमा जाने यो पहिलो समावेशी टोली हो । समाजिक रुपान्तरणको झल्को दिन नासाले यसपटक विविध जातीय पृष्ठभूमि र फरक देशको प्रतिनिधित्व हुने गरी अन्तर्राष्ट्रिय टोली छानेको हो ।
जसकारण, क्रिस्टिना कोच चन्द्रतर्फ उड्ने पहिलो महिला बनिन्, भिक्टर ग्लोभर पहिलो अश्वेत अन्तरिक्ष यात्री बने भने क्यानेडेली नागरिक जेरेमी ह्यान्सेन चन्द्र यात्रामा जाने पहिलो गैर–अमेरिकी बने । नासाले चन्द्रमा आधार शिविर बनाउने लक्ष्यअनुसार थालनी गरेको कामको सुरुवाती कदमका रुपमा यस मिसनलाई लिएको छ ।
आर्टेमिस–२ ले चन्द्रमा अवतरण गरेन, चन्द्र कक्षमा पनि प्रवेश गरेन, नजिकबाट त्यसलाई नियाल्यो । यसले अपोलो–१३ को रेकर्ड तोड्दै पृथ्वीबाट मानव पुगेको सबैभन्दा टाढाको दूरी, २,५२,७५६ माइल (४०६,७७१ किलोमिटर) सम्मको यात्रा गर्यो ।
सबैभन्दा भावुक क्षणमा आँखा रसाएका अन्तरिक्ष यात्रीहरूले आफ्नो चन्द्रयान र कमान्डर वाइजम्यानकी दिवङ्गत पत्नी क्यारोलको संझना गरेका थिए । उनीहरूको कौतुहल र माया तथा चन्द्रमा–पृथ्वीका विभिन्न तस्बिरले सबैलाई मोहित बनाएको छ ।
आर्टेमिस–२ टोलीले ‘अर्थसेट’ नामको तस्बिरमार्फत निलो पृथ्वीलाई खैरो चन्द्र क्षितिज पछाडि डुब्दै गरेको देखाउँछ । यसले १९६८ को अपोलो–८ को ऐतिहासिक ‘अर्थराइज’ सम्झाइदियो ।
नासा प्रमुख जारेड आइज्याकम्यानले भने, ‘हामी फेरि चन्द्रमा मानिस पठाउने, सुरक्षित फर्काउने र यस्ता धेरै मिशनको श्रृंखला तयार गर्ने काममा फर्किएका छौँ । यो त सुरुआत मात्र हो ।’
करिब १० दिनको उडान वैज्ञानिक हिसाबले फलदायी भए पनि प्रविधिक समस्या मुक्त थिएन । क्याप्सुलको खानेपानी र इन्धन दुवै प्रणालीमा भाल्भसम्बन्धी समस्या देखिएको थियो । यस यानको ट्वाइलेट पटक–पटक बिग्रिरह्यो, तर अन्तरिक्ष यात्रीहरूले यसलाई ठट्टामै उडाए ।
‘हामी अझ गहिरो अन्तरिक्षमा जान चाहन्छौँ भने केही असहज कुरा सहनै पर्छ, केही त्याग र जोखिम लिनै पर्छ, यी सबै सामान्य हुन्,’ कोचले भनिन् ।
ह्यान्सेनले भने, ‘जमिनमा जति धेरै परीक्षण गरेपनि अन्तिम ठूलो परीक्षा अन्तरिक्षमै हुन्छ ।’
नयाँ आर्टेमिस योजनाअनुसार अर्को वर्षको आर्टेमिस–३ उडानमा अन्तरिक्ष यात्रीहरूले पृथ्वी कक्षामै बसेर आफ्नो क्याप्सुललाई एउटा वा दुईवटा लुनार ल्यान्डरसँग जडान गर्ने अभ्यास गर्नेछन् । आर्टेमिस–४ ले २०२८ मा चन्द्रको दक्षिण ध्रुवनजिक दुई अन्तरिक्ष यात्री अवतरण गराउने लक्ष्य लिएको छ ।
५० वर्षपछि फर्किएको अभियान
एजेन्सी : १९६० र ७० को दशकमा एपोलो मिशनअन्तर्गत नासाले चन्द्रमातर्फ थुप्रै यानहरु पठाएको थियो । शितयुद्धको समयमा सोभियत युनियनसँग चलेको ‘स्पेस रेस’ को हिस्साका रुपमा यसलाई लिइएको थियो । १९५७ मा स्पुतनिक २ मार्फत लाइका नामक कुकुरलाई सोभियत युनियनले अन्तरिक्षमा पठाएको थियो । त्यसको चार वर्षभित्रै १२ अप्रिल १९६१ मा सोभियत युनियनका युरी गाग्रिनले अन्तरिक्षमा पाइला राखे ।
अन्तरिक्षको खोजमा देखिएको सोभियत युनियनको प्रभूत्वलाई चुनौती दिनुपर्ने दबाब महसुस गरेर अमेरिकाले नासामा ठूलो लगानी गरेको थियो । अमेरिकाबाट २० जुलाई १९६९ मा एपोलो ११ का निल आर्मस्ट्रङ र बज एल्ड्रिनले चन्द्रमामा पाइला टेकेका थिए । निल चन्द्रमामा पाइला टेक्ने पहिलो मानिस बने, त्यसको १९ मिनेटपछि बजले पाइला राखेर दोस्रो हुने किर्तिमान बनाए ।
त्यसयता, ३ वर्षभित्र कुल १२ जना अमेरिकीहरुले एपोलो मिशनअन्तर्गत चन्द्रमामा पाइला राखे । अन्तिमपटक १४ डिसेम्बर १९७२ मा एपोलो १७ मिशनका युजिन सिर्निनले पाइला राखेका थिए । तर, त्यसपछि अमेरिकाले झन्डै ५० वर्ष चन्द्रमामा कुनै यान पठाएन । यसपछि नासाको बजेट क्रमशः कटौती हुँदै गएको थियो । ठूलो लगानी, जोखिम र मानिसहरुको चासो घट्न थालेपछि यसमा कटौती गरिएको थियो ।
त्यसपछि नासाको ध्यान स्पेस शटल र पृथ्वी नजिकका कक्षहरुको अनुसन्धानमा केन्द्रीत गर्यो । तर, ५० वर्षपछि अमेरिकाले फेरि चन्द्रमा कार्यक्रमलाई अघि सारेको हो । यस कार्यक्रमअन्तर्गत आगामी दशक चन्द्रमा मानव शिविर स्थापना गर्ने नासाको लक्ष्य छ । चीनले अहिले ‘स्पेस रेस’ मा अमेरिकालाई चुनौती दिइरहेको छ । २०३० तिर चन्द्रमा आफ्ना नागरिकलाई पठाउने चीनको लक्ष्य छ ।
