विश्वकै धनाढ्य एलन मस्कदेखि आफ्नै बहिनीसम्मले उनीमाथि त्यस्ता गम्भीर मुद्दा लगाएका छन्, जो प्रमाणित भएमा उनीमात्रै नभएर ओपन एआईकै विश्वसनीयतामा दाग लाग्नेछ ।
What you should know
काठमाडौँ — जेनेरेटिभ एआईको दुनियाँमा सबैभन्दा प्रसिद्ध नाम हो : च्याटजीपिटी । मानिसहरुले यस एआई टुललाई आफ्ना सानाभन्दा साना र अति गोप्य समस्या समाधानका लागि प्रयोग गर्ने गरेका छन् । आफ्नो जीवनका अति गोप्य विषय च्याटजीपिटीसँगको संवादमा सोध्छन् र जवाफहरु खोल्छन् ।
च्याटजीपिटी ओपन एआईको स्वामित्वमा रहेको कम्पनी हो ।
यही कम्पनीका सिइओ तथा संस्थापक साम अल्टम्यान अहिले कानुनी झमेलामा फसेका छन् । विश्वकै धनाढ्य एलन मस्कदेखि आफ्नै बहिनीसम्मले उनीमाथि त्यस्ता गम्भीर मुद्दा लगाएका छन्, जो प्रमाणित भएमा उनीमात्रै नभएर ओपन एआईकै विश्वसनीयतामा दाग लाग्नेछ । यद्यपी, अहिलेसम्म यी आरोप उनले अस्विकार गर्दै आएका छन् ।
द न्युयोर्करमा प्रकाशित लामो आलेखमा उनका सहयोगी र पूर्व कर्मचारीहरुले अल्टम्यान विश्वास गर्न योग्य मानिस नरहेको आरोप लगाएका छन् । द न्युयोर्करसँगको कुराकानीमा ओपन एआईकै एक बोर्ड सदस्यले अल्टम्यान असामाजिक व्यक्तित्व रहेको आरोप लगाए ।
‘उनीसँग त्यस्तो दोहोरो चरित्र छ । जो एउटै व्यक्तिमा कहिल्यै देखिन्न । पहिलो, उनी मानिसहरुलाई अति खुसी पार्न चाहन्छन् । हरेक छलफलमा मख्ख पार्छन् । दोस्रो, उनी असामाजिक छन् । अरुलाई झुठ बोल्दाको असर के हुन्छ भनेर रत्तिभर चिन्ता गर्दैनन् ।’
द न्यु योर्करमा रोनान फारो र एन्ड्रियु मारान्टजले ‘साम अल्टम्यानले हाम्रो भविष्य नियन्त्रण गर्नसक्छन् : के उनी विश्वास योग्य छन् ?’ शीर्षकमा उनको निजी जीवनका धेरै विषय उजागर गरेका छन् । यसक्रममा ओपन एआईका पूर्व बोर्ड सदस्य सुइ योनले द न्यु योर्करसँग भनेका छन्, ‘उनी आफ्नै मान्यतामा अति जड छन् । यदी तपाई धरातलमा हुनुहुन्छ भने आफ्ना विश्वासमा अडिग रहदाँ फरक पर्दैन । तर, उनी वास्तविक दुनियाँमा छैनन् ।’
अल्टम्यानमाथि उनकै बहिनीले यौन दुर्व्यवहार मुद्दा चलाएका बेला द न्यु योर्करले यस्तो रिपोर्ट बाहिर ल्याएको हो ।
एन्नी अल्टम्यानले सन् १९९७ र २००६ मा यौन दुर्व्यवहार गरेको आरोपमा साम अल्टम्यानविरूद्ध मुद्दा दायर गरेकी छिन् । उनले विगतको दुर्व्यवहारको घाउ अझै महसुस हुने बताएकी छिन् ।
जनवरी २०२५ मा क्यार्लिफोनियाको सान फ्रान्सिस्कोस्थित काउन्टी अदालतमा दर्ता गरिएको यो आरोपलाई मार्च २०२५ मा म्याद गुज्रिएको भन्दै खारेज गरिएको थियो । १ अप्रिलमा संशोधन गरेर बाल दुर्व्यवहार सम्बन्धी कासूरअन्तर्गत अघि बढाइएको छ ।
सामले यो आरोप अस्विकार गरेका छन् । उनकी आमा र दुई भाईले पनि जनवरी २०२५ मा विज्ञप्ति जारी गर्दै एन्नी मानसिक समस्याबाट ग्रस्त रहेको र उनका सबै दाबी झुठो रहेको बताएका थिए । यस विषयमा अनुसन्धान जारी छ ।
उनले उल्टै एन्नीविरुद्ध मानहानीको आरोप लगाएका छन् ।
फोब्र्स म्यागेजिनले सार्वजनिक गरेको सुचीअनुसार विश्वका धनाढ्यहरुको सुचीमा अल्टम्यान १२ सय ५१ नम्बरमा छन् । उनीको कुल सम्पत्ति ३ अर्ब ३० करोड डलर रहेको फोब्र्सले अनुमान गरेको छ ।
विश्वकै सबैभन्दा धनी व्यक्ति एलोन मस्क सन् २०२४ देखि नै अल्टम्यान र उनको कम्पनी ओपन एआईसँग कानुनी लडाँइमा छन् । क्यालिफोर्नियाको अकल्यान्डस्थित संघीय अदालतले २७ अप्रिलमा मस्कको मुद्दाको पेशी तोकेको छ ।
सन् २०१५ मा मस्क र अल्टम्यान दुबैले मिलेर ओपन एआई स्थापना गरेका थिए । स्थापनाकालमा दुबैजना सह–अध्यक्ष थिए । यो कम्पनी त्यसबेला नाफारहित ढंगले सञ्चालन गर्न लक्ष्य राखिएको थियो । मस्कका अनुसार अनुसन्धान, सुरक्षा र मानवीय सेवाका लागि यस कम्पनीलाई चलाउने लक्ष्य थियो ।
कम्पनीमा सुरुवातमा मस्कले ३ करोड ८० लाख डलर लगानी गरेका थिए । कृतिम बौद्धिकता (एआई) निर्माणका लागि खर्बौ डलर लगानी आवश्यक पर्ने भएपछि सन् २०१७ मा अल्टम्यान र मस्कबीच विवाद सुरु भयो ।
अनि, २०१८ मा बाहिरिए । लगत्तै, अल्टम्यानले यस कम्पनीलाई नाफामुलक रुपमा अघि बढाए । २०१९ मा माइक्रोसफ्टले यस कम्पनीमा १ अर्ब डलर र २०२१ मा २ अर्ब डलर लगानी गर्यो । ३० नोभेम्बर २०२२ मा जेनेरेटिभ एआई च्याटजीपिटी लन्च भएको केही दिनमै यो कम्पनीले विश्वव्यापी चर्चा बटुल्यो ।
कम्पनीलाई थप शशक्त बनाउनका लागि २३ जनवरी २०२३ मा माइक्रोसफ्टले थप १० अर्ब डलर लगानी गर्यो । मस्कले त्यसबेलै यस लगानीको विरोध गरेका थिए ।
१ मार्च २०२३ मा मस्कले कम्पनीविरुद्ध पहिलोपटक मुद्दा हाले । अकल्यान्डस्थित संघीय अदालतमा यो मुद्दा दायर गरिएको थियो । अल्टम्यानले कम्पनीलाई अवैध रुपमा नाफामुलक बनाउन खोजेको आरोप मस्कको थियो । तर, उनले ११ जुन २०२४ मा मुद्दा फिर्ता लिए । उनले त्यसबेलै नयाँ प्रमाणहरुसहित पुनः मुद्दा दायर गर्ने बताएका थिए ।
५ अगस्ट २०२४ मा उनले माइक्रोसफ्ट र ओपन एआईविरुद्ध नयाँ मुद्दा दायर गरे । अकल्यान्डमै दायर गरिएको यस मुद्दामा नाफारहित ढंगले मानवीय सेवा पुर्याउने लक्ष्यसहित स्थापना भएको ओपन एआईलाई अल्टम्यानले दूरुपयोग गर्दै नाफामुलक कम्पनीमा रुपान्तरण गर्न खोज्नु गैरकानुनी रहेको उल्लेख छ ।
मुनाफाको लोभमा माइक्रोसफ्टलाई शेयर दिइएको र उक्त प्रक्रिया कम्पनी स्थापना हुँदाको मर्मविपरीत रहेको मस्कको दाबी छ । उनले यस कम्पनीलाई सुरुमा मानवीय सेवाका लागि उपयोग गर्ने मर्मअनुसार स्थापना गरिएको दाबी गरेका छन् । अल्टम्यानले कम्पनीको बोर्ड र कर्मचारीहरुमा मनलाग्दी फेरबदल गरेको पनि उनको आरोप छ ।
उनले ओपन एआई र माइक्रोसफ्टसँग ७९ देखि १३४ बिलियनसम्म क्षतिपुर्ति माग गरेका थिए । पछिल्लोपटक गत मंगलबार मुद्दा संशोधन गरे क्षतिपुर्ति रकम बढाउँदै १ सय ५० बिलियन माग गरेका छन् । आफ्नो लगानी, छवि र मेहिनत जोडिएकाले क्षतिपुर्ति धेरै पाउनुपर्ने उनको माग छ । उनले अल्टम्यान र अध्यक्ष ग्रेग ब्रेगम्यानको पनि राजीनामा मागेका छन् ।
तर, मस्कले क्षतिपुर्तिस्वरुप प्राप्त रकम आफ्नो निजी खाता नभएर ओपन एआईकै नाफारहित शाखाको खातामा जम्मा गरिदिन माग गरेका छन् । सन् २०१९ यता अल्टम्यानले ओपन एआईलाई नाफामुलक र नाफारहित दुबै गरेर हाइब्रिड मोडलमा अघि बढाइरहेका छन् ।
अल्टम्यानको नेतृत्वमा रहेको ओपन एआईले आफ्नो कम्पनीको काममा अवरोधमा सिर्जना गर्नका लागि मस्कले नियतवस्ः मुद्दा हालेको आरोप लगाएको छ ।
‘नाफारहित ओपन एआई फाउन्डेशनविरुद्ध विगतमा गरेका आक्रमणकारी प्रचारवाजीको भाषाशैली फेरेर आज अन्तिम समयमा एलोनले मुद्दा संशोधन गरे,’ कम्पनीले लेखेको छ, ‘एलोनले धेरै शक्ति र धेरै पैसाका आर्जनका लागि यो मुद्दा हालेको जगजाहेर छ । उनी आधारहिन मुद्दा हालेर नाफारहित ओपन एआई फाउन्डेशनको गतिविधि र विकासलाई ढिलो बनाउन चाहन्छन् । पेशी नजिकिदैं जाँदा फेरि एकपटक आफ्नो भाषा परिवर्तन गरेर आफ्नो लाज ढाक्ने कोसिस गरेका छन् । उनको मुद्दा एउटा दुव्यवर्हार अभियानबाहेक केही होइन । घमण्ड, ईश्र्या र प्रतिस्पर्धीलाई सुस्त बनाउने चाहनाले यो प्रेरित छ,’ ओपन एआईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मस्क र अल्टम्यानबीच यसक्रममा सामाजिक सञ्जालमै आरोप प्रत्यारोप चल्ने गरेको छ ।
फेब्रुअरी २०२५ मा मस्कका वकिल मार्क रोबेरोफले क्यालिफोर्निया संघीय अदालतमा ओपन एआईको नाफारहित कम्पनी किन्ने प्रस्तावसहिको पत्र पठाएका थिए । उनले झन्डै ९७ अर्ब ४० करोडमा यो कम्पनी किनने इच्छा व्यक्त गरेका थिए ।
जवाफमा अल्टम्यानले १० फेब्रुअरीमा मस्ककै स्वामित्वमा रहेको सामाजिक सञ्जाल एक्समा लेखे, ‘धन्यवाद् । तर हामीलाई चाहिदैंन । बरु, तिमी बेच्न चाहन्छौं भने ९ दशमलव ७४ अर्ब डलरमा हामी ट्वीटर (एक्स) किन्छौं ।’
जवाफमा मस्कले लेखेका थिए : ‘ठग’ ।
विश्वचर्चित कम्पनी टेस्ला र स्पेस एक्सका संस्थापक मस्कले ओपन एआईबाट बाहिरिएपछि २८ अक्टुबर २०२२ मा ट्वीटरको स्वामित्व किनेका थिए । जुलाई २०२३ मा यसलाई एक्स नामाकरण गरे । १२ जुलाई २०२३ मा एक्स एआई लन्च गरे । त्यसपछि ४ नोभेम्बर २०२३ मा ग्रोक एआई सञ्चालनमा ल्याए । च्याटजीपिटीका प्रतिस्पर्धीहरुमध्ये ग्रोक एक हो ।
(एजेन्सीको सहयाेगमा )
