विवादमा च्याटजीपिटी सञ्चालक साम अल्टम्यान, एलन मस्कदेखि बहिनीसम्मले दायर गरे मुद्दा

विश्वकै धनाढ्य एलन मस्कदेखि आफ्नै बहिनीसम्मले उनीमाथि त्यस्ता गम्भीर मुद्दा लगाएका छन्, जो प्रमाणित भएमा उनीमात्रै नभएर ओपन एआईकै विश्वसनीयतामा दाग लाग्नेछ ।

चैत्र २६, २०८२

अन्वेषण अधिकारी

ChatGPTI owner Sam Altman, Elon Musk, and his sister all file lawsuits in controversy

What you should know

काठमाडौँ — जेनेरेटिभ एआईको दुनियाँमा सबैभन्दा प्रसिद्ध नाम हो : च्याटजीपिटी । मानिसहरुले यस एआई टुललाई आफ्ना सानाभन्दा साना र अति गोप्य समस्या समाधानका लागि प्रयोग गर्ने गरेका छन् । आफ्नो जीवनका अति गोप्य विषय च्याटजीपिटीसँगको संवादमा सोध्छन् र जवाफहरु खोल्छन् । 

च्याटजीपिटी ओपन एआईको स्वामित्वमा रहेको कम्पनी हो । 

यही कम्पनीका सिइओ तथा संस्थापक साम अल्टम्यान अहिले कानुनी झमेलामा फसेका छन् । विश्वकै धनाढ्य एलन मस्कदेखि आफ्नै बहिनीसम्मले उनीमाथि त्यस्ता गम्भीर मुद्दा लगाएका छन्, जो प्रमाणित भएमा उनीमात्रै नभएर ओपन एआईकै विश्वसनीयतामा दाग लाग्नेछ । यद्यपी, अहिलेसम्म यी आरोप उनले अस्विकार गर्दै आएका छन् । 

द न्युयोर्करमा प्रकाशित लामो आलेखमा उनका सहयोगी र पूर्व कर्मचारीहरुले अल्टम्यान विश्वास गर्न योग्य मानिस नरहेको आरोप लगाएका छन् । द न्युयोर्करसँगको कुराकानीमा ओपन एआईकै एक बोर्ड सदस्यले अल्टम्यान असामाजिक व्यक्तित्व रहेको आरोप लगाए । 

‘उनीसँग त्यस्तो दोहोरो चरित्र छ । जो एउटै व्यक्तिमा कहिल्यै देखिन्न । पहिलो, उनी मानिसहरुलाई अति खुसी पार्न चाहन्छन् । हरेक छलफलमा मख्ख पार्छन् । दोस्रो, उनी असामाजिक छन् । अरुलाई झुठ बोल्दाको असर के हुन्छ भनेर रत्तिभर चिन्ता गर्दैनन् ।’

द न्यु योर्करमा रोनान फारो र एन्ड्रियु मारान्टजले ‘साम अल्टम्यानले हाम्रो भविष्य नियन्त्रण गर्नसक्छन् : के उनी विश्वास योग्य छन् ?’ शीर्षकमा उनको निजी जीवनका धेरै विषय उजागर गरेका छन् । यसक्रममा ओपन एआईका पूर्व बोर्ड सदस्य सुइ योनले द न्यु योर्करसँग भनेका छन्, ‘उनी आफ्नै मान्यतामा अति जड छन् । यदी तपाई धरातलमा हुनुहुन्छ भने आफ्ना विश्वासमा अडिग रहदाँ फरक पर्दैन । तर, उनी वास्तविक दुनियाँमा छैनन् ।’

अल्टम्यानमाथि उनकै बहिनीले यौन दुर्व्यवहार मुद्दा चलाएका बेला द न्यु योर्करले यस्तो रिपोर्ट बाहिर ल्याएको हो । 

एन्नी अल्टम्यानले सन् १९९७ र २००६ मा यौन दुर्व्यवहार गरेको आरोपमा साम अल्टम्यानविरूद्ध मुद्दा दायर गरेकी छिन् । उनले विगतको दुर्व्यवहारको घाउ अझै महसुस हुने बताएकी छिन् । 

जनवरी २०२५ मा क्यार्लिफोनियाको सान फ्रान्सिस्कोस्थित काउन्टी अदालतमा दर्ता गरिएको यो आरोपलाई मार्च २०२५ मा म्याद गुज्रिएको भन्दै खारेज गरिएको थियो । १ अप्रिलमा संशोधन गरेर बाल दुर्व्यवहार सम्बन्धी कासूरअन्तर्गत अघि बढाइएको छ । 

सामले यो आरोप अस्विकार गरेका छन् । उनकी आमा र दुई भाईले पनि जनवरी २०२५ मा विज्ञप्ति जारी गर्दै एन्‍नी मानसिक समस्‍याबाट ग्रस्त रहेको र उनका सबै दाबी झुठो रहेको बताएका थिए । यस विषयमा अनुसन्धान जारी छ । 

उनले उल्टै एन्नीविरुद्ध मानहानीको आरोप लगाएका छन् ।

फोब्र्स म्यागेजिनले सार्वजनिक गरेको सुचीअनुसार विश्वका धनाढ्यहरुको सुचीमा अल्टम्यान १२ सय ५१ नम्बरमा छन् । उनीको कुल सम्पत्ति ३ अर्ब ३० करोड डलर रहेको फोब्र्सले अनुमान गरेको छ ।

विश्वकै सबैभन्दा धनी व्यक्ति एलोन मस्क सन् २०२४ देखि नै अल्टम्यान र उनको कम्पनी ओपन एआईसँग कानुनी लडाँइमा छन् । क्यालिफोर्नियाको अकल्यान्डस्थित संघीय अदालतले २७ अप्रिलमा मस्कको मुद्दाको पेशी तोकेको छ । 

सन् २०१५ मा मस्क र अल्टम्यान दुबैले मिलेर ओपन एआई स्थापना गरेका थिए । स्थापनाकालमा दुबैजना सह–अध्यक्ष थिए । यो कम्पनी त्यसबेला नाफारहित ढंगले सञ्चालन गर्न लक्ष्य राखिएको थियो । मस्कका अनुसार अनुसन्धान, सुरक्षा र मानवीय सेवाका लागि यस कम्पनीलाई चलाउने लक्ष्य थियो । 

कम्पनीमा सुरुवातमा मस्कले ३ करोड ८० लाख डलर लगानी गरेका थिए । कृतिम बौद्धिकता (एआई) निर्माणका लागि खर्बौ डलर लगानी आवश्यक पर्ने भएपछि सन् २०१७ मा अल्टम्यान र मस्कबीच विवाद सुरु भयो । 

अनि, २०१८ मा बाहिरिए । लगत्तै, अल्टम्यानले यस कम्पनीलाई नाफामुलक रुपमा अघि बढाए । २०१९ मा माइक्रोसफ्टले यस कम्पनीमा १ अर्ब डलर र २०२१ मा २ अर्ब डलर लगानी गर्‍यो । ३० नोभेम्बर २०२२ मा जेनेरेटिभ एआई च्याटजीपिटी लन्च भएको केही दिनमै यो कम्पनीले विश्वव्यापी चर्चा बटुल्यो । 

कम्पनीलाई थप शशक्त बनाउनका लागि २३ जनवरी २०२३ मा माइक्रोसफ्टले थप १० अर्ब डलर लगानी गर्‍यो । मस्कले त्यसबेलै यस लगानीको विरोध गरेका थिए । 

१ मार्च २०२३ मा मस्कले कम्पनीविरुद्ध पहिलोपटक मुद्दा हाले । अकल्यान्डस्थित संघीय अदालतमा यो मुद्दा दायर गरिएको थियो । अल्टम्यानले कम्पनीलाई अवैध रुपमा नाफामुलक बनाउन खोजेको आरोप मस्कको थियो । तर, उनले ११ जुन २०२४ मा मुद्दा फिर्ता लिए । उनले त्यसबेलै नयाँ प्रमाणहरुसहित पुनः मुद्दा दायर गर्ने बताएका थिए । 

५ अगस्ट २०२४ मा उनले माइक्रोसफ्ट र ओपन एआईविरुद्ध नयाँ मुद्दा दायर गरे । अकल्यान्डमै दायर गरिएको यस मुद्दामा नाफारहित ढंगले मानवीय सेवा पुर्‍याउने लक्ष्यसहित स्थापना भएको ओपन एआईलाई अल्टम्यानले दूरुपयोग गर्दै नाफामुलक कम्पनीमा रुपान्तरण गर्न खोज्नु गैरकानुनी रहेको उल्लेख छ ।

मुनाफाको लोभमा माइक्रोसफ्टलाई शेयर दिइएको र उक्त प्रक्रिया कम्पनी स्थापना हुँदाको मर्मविपरीत रहेको मस्कको दाबी छ । उनले यस कम्पनीलाई सुरुमा मानवीय सेवाका लागि उपयोग गर्ने मर्मअनुसार स्थापना गरिएको दाबी गरेका छन्  । अल्टम्यानले कम्पनीको बोर्ड र कर्मचारीहरुमा मनलाग्दी फेरबदल गरेको पनि उनको आरोप छ । 

उनले ओपन एआई र माइक्रोसफ्टसँग ७९ देखि १३४ बिलियनसम्म क्षतिपुर्ति माग गरेका थिए । पछिल्लोपटक गत मंगलबार मुद्दा संशोधन गरे क्षतिपुर्ति रकम बढाउँदै १ सय ५० बिलियन माग गरेका छन् । आफ्नो लगानी, छवि र मेहिनत जोडिएकाले क्षतिपुर्ति धेरै पाउनुपर्ने उनको माग छ । उनले अल्टम्यान र अध्यक्ष ग्रेग ब्रेगम्यानको पनि राजीनामा मागेका छन्  । 

तर, मस्कले क्षतिपुर्तिस्वरुप प्राप्त रकम आफ्नो निजी खाता नभएर ओपन एआईकै नाफारहित शाखाको खातामा जम्मा गरिदिन माग गरेका छन् । सन् २०१९ यता अल्टम्यानले ओपन एआईलाई नाफामुलक र नाफारहित दुबै गरेर हाइब्रिड मोडलमा अघि बढाइरहेका छन् । 

अल्टम्यानको नेतृत्वमा रहेको ओपन एआईले आफ्नो कम्पनीको काममा अवरोधमा सिर्जना गर्नका लागि मस्कले नियतवस्ः मुद्दा हालेको आरोप लगाएको छ ।

 ‘नाफारहित ओपन एआई फाउन्डेशनविरुद्ध विगतमा गरेका आक्रमणकारी प्रचारवाजीको भाषाशैली फेरेर आज अन्तिम समयमा एलोनले मुद्दा संशोधन गरे,’ कम्पनीले लेखेको छ, ‘एलोनले धेरै शक्ति र धेरै पैसाका आर्जनका लागि यो मुद्दा हालेको जगजाहेर छ । उनी आधारहिन मुद्दा हालेर नाफारहित ओपन एआई फाउन्डेशनको गतिविधि र विकासलाई ढिलो बनाउन चाहन्छन् । पेशी नजिकिदैं जाँदा फेरि एकपटक आफ्नो भाषा परिवर्तन गरेर आफ्नो लाज ढाक्ने कोसिस गरेका छन् । उनको मुद्दा एउटा दुव्यवर्हार अभियानबाहेक केही होइन । घमण्ड, ईश्र्या र प्रतिस्पर्धीलाई सुस्त बनाउने चाहनाले यो प्रेरित छ,’ ओपन एआईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

मस्क र अल्टम्यानबीच यसक्रममा सामाजिक सञ्जालमै आरोप प्रत्यारोप चल्ने गरेको छ । 

फेब्रुअरी २०२५ मा मस्कका वकिल मार्क रोबेरोफले क्यालिफोर्निया संघीय अदालतमा ओपन एआईको नाफारहित कम्पनी किन्ने प्रस्तावसहिको पत्र पठाएका थिए । उनले झन्डै ९७ अर्ब ४० करोडमा यो कम्पनी किनने इच्छा व्यक्त गरेका थिए । 

जवाफमा अल्टम्यानले १० फेब्रुअरीमा मस्ककै स्वामित्वमा रहेको सामाजिक सञ्जाल एक्समा लेखे, ‘धन्यवाद् । तर हामीलाई चाहिदैंन । बरु, तिमी बेच्न चाहन्छौं भने ९ दशमलव ७४ अर्ब डलरमा हामी ट्वीटर (एक्स) किन्छौं ।’

जवाफमा मस्कले लेखेका थिए : ‘ठग’  ।

विश्वचर्चित कम्पनी टेस्ला र स्पेस एक्सका संस्थापक मस्कले ओपन एआईबाट बाहिरिएपछि २८ अक्टुबर २०२२ मा ट्वीटरको स्वामित्व किनेका थिए । जुलाई २०२३ मा यसलाई एक्स नामाकरण गरे । १२ जुलाई २०२३ मा एक्स एआई लन्च गरे । त्यसपछि ४ नोभेम्बर २०२३ मा ग्रोक एआई सञ्चालनमा ल्याए । च्याटजीपिटीका प्रतिस्पर्धीहरुमध्ये ग्रोक एक हो । 

(एजेन्सीको सहयाेगमा )

अन्वेषण

Link copied successfully