आक्रमणको विरोधमा इरानले हर्मुजको जलघाँटीबाट तेलका ट्यांकरलाई बाहिरिनबाट रोक लगाएको छ ।
काठमाडौँ — इजरायलले लेबनानमा भयानक आक्रमण गरेको छ । बुधबार उसले राजधानी बेरुतसहितका इलाकामा आक्रमण गर्दा कम्तिमा २ सय ५४ जना मारिएको अलजजिराले जनाएको छ ।
त्यस्तै, ११ सयभन्दा धेरै घाइते छन् । मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ । इरानको इस्लामिक रिभोलुशनरी गार्डस् कोप्र्सले यस आक्रमणको निन्दा गर्दै इजरायलले पछुताउनुपर्ने चेतावनी दिएको छ ।
यस आक्रमणको विरोधमा इरानले हर्मुजको जलघाँटीबाट तेलका ट्यांकरलाई बाहिरिनबाट रोक लगाएको छ । अर्धसरकारी फार्स न्युज एजेन्सीले हर्मुजको घाँटी बन्द गरिएको निर्णय सार्वजनिक गरेको हो ।
यसअघि बुधबार बिहान हर्मुज जलघाँटी खोल्न र १४ दिन युद्धविराम गर्न इरान तयार भएको थियो । सहमतिअनसार बुधबार दुईवटा तेलका ट्यांकरले रिभोलुशनरी गार्डस्सँग अनुमति लिएर जलघाँटी पार गरेको फार्स न्युजले जनाएको छ ।
रिभोलुशनरी गार्डस्ले तत्कालका लागि युद्धविराम गरेपनि आफ्ना सिपाहीको औंलामा ट्रिगर रहेको प्रतिक्रिया दिएको छ । इरान र अमेरिका दुबैले यस युद्धविरामलाई जीतका रुपमा लिएका थिए ।
यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानकोे विषय युद्धविराममा समावेश नरहेको दाबी गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको दाबीलाई समर्थन गर्दै लेबनानमा हिजबुल्लाहसँग युद्धविराम नभएको बताएका छन् । उनले पब्लिक ब्रोडकास्टिंग सर्भिस ‐पीबीएस) सँगको कुराकानीमा यस्तो प्रतिक्रिया दिएका हुन् ।
बुधबार बिहान पाकिस्तानी प्रधानमन्त्री शहवाज सरिफले इरानसहित पश्चिम एशियाका सबै क्षेत्रमा युद्धविराम हुने बताएका थिए । इजरायलले आक्रमण सुरु गरेपछि फेरि पश्चिम एशियामा युद्ध भड्किने जोखिम देखिएको छ ।
