ट्रम्पलाई राष्ट्रपतिबाट हटाउन अमेरिकी सांसद्हरुको माग

पछिल्लो ४८ घण्टाभित्रमै उनका सबै अभिव्यक्तीहरुले सीमा नाघेका छन्,’ कंग्रेसवुमन यास्मिन अन्सारीले सामाजिक सञ्जाल एक्समा लेखिन् ।

चैत्र २४, २०८२

कान्तिपुर संवाददाता

US lawmakers demand Trump's removal from office

काठमाडौँ — अमेरिकी सांसद्हरुले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका सदस्यहरुलाई संविधानको २५ औं संशोधन लागु गरेर पदबाट ट्रम्पलाई हटाउन माग गरेका छन् । यस संशोधनमा राष्ट्रपतिले सेवा गर्न नसके सत्ता हस्तान्तरण गर्न मिल्ने व्यवस्था छ । 

अमेरिकी संसद्को तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ) का सदस्य (कंग्रेसम्यान-वुमन) र माथिल्लो सदन सिनेटका सदस्यहरुले यस्तो माग गरेका हुन् । कंग्रेसवुमन यास्मिन अन्सारीले ट्रम्पविरुद्ध यो कानुन आकर्षित हुनुपर्ने बताइन् ।

‘ट्रम्पले अवैध, विध्वंशकारी युद्ध चलाइरहेका छन् । ठूलो परिमाणमा युद्ध अपराध गर्ने धम्की दिइरहेका छन् । इरानमा सार्वजनिक पूर्वाधारलाई निशाना लगाइरहेका छन् । पछिल्लो ४८ घण्टाभित्रमै उनका सबै अभिव्यक्तीहरुले सीमा नाघेका छन्,’ अन्सारीले सामाजिक सञ्जाल एक्समा लेखिन् । 

यसअघि मिन्नेसोताकी कंग्रेसवुमन इल्हान ओमरले पनि ट्रम्पलाई हटाउनुपर्ने बताएकी थिइन् । ‘यो ठिक छैन । २५ औं संशोधन लागु गर्ने, महाभीयोग लगाउने, हटाउने गर्नुपर्छ । यस्तो मुर्ख व्यक्ति राष्ट्रपतिबाट हट्नुपर्छ,’ ट्रम्पले इरानका सार्वजनिक पूर्वाधारमा क्षति पु¥याउने धम्की दिएको विरोधमा उनले लेखिन् । 

यसअघि नयु मेक्सिकोकी कंग्रेसवुमन मेलानी स्ट्यान्सवरीले पनि ट्रम्पलाई हटाउनुपर्ने माग गरेकी थिइ्न । 

डेमोक्रेटिक सिनेटर क्रिस मर्फीले पनि ट्रम्पलाई हटाउनुपर्ने माग गरेका छन् । ‘यदी म ट्रम्पको क्याविनेटमा हुन्थें भने कानुनविद्हरुलाई २५ औं संशाधेन लागु गर्न माग गर्दथें । यो निकै ठूलो मुर्खता भयो । उनले हजारौं मान्छे मारिसके । हजारौंलाई मार्न गइरहेका छन् ।’

कनेक्टिकटका सिनेटर क्रिस मर्फीले ट्रम्पको योजनाबद्ध कार्यहरूलाई “स्पष्ट युद्ध अपराध“ को रूपमा वर्णन गरे । राष्ट्रपतिलाई यस्ता अमानवीय काममा लगाम लगाउन उनले रिपब्लिकन नेताहरूलाई आग्रह गरे । ‘रिपब्लिकन नेताहरूले उनलाई रोक्न आवश्यक छ । पुल र ऊर्जा केन्द्र उडाएर र निर्दोष इरानीहरूलाई मारेर जलघाँटी फेरि खुल्ने छैन । यो पनि स्पष्ट युद्ध अपराध हो,’ उनले भने ।

म्यासाचुसेट्सका सिनेटर एडवर्ड मार्कीले भने, ‘युद्ध अपराधको धम्की दिने ट्वीटले हर्मुजको जलघाँटी खोल्न सक्दैन ।’ उनले इरानसँग वार्ता गरेर युद्ध अन्त्य र महागी नियन्त्रण गर्न आग्रह गरे ।

मिशिगनकी सिनेटर  एलिसा स्लटकिनले भनिन्, ‘इरानमा अन्धाधुन्ध नागरिकहरूलाई मार्नु र पुल र ऊर्जा केन्द्रजस्ता नागरिक पूर्वाधारहरू नष्ट गर्नु गैरजिम्मेवारपूर्ण र गलत दुवै हो । विशेष गरी, जब राष्ट्रपतिले यो युद्ध इरानी जनतालाई सहयोग गर्नका लागि हो भनेका थिए ।’ ट्रम्प कार्यकालमा विदेशमा रहेका अमेरिकीहरु असुरक्षित भइरहेको उनले बताइन् ।

हवाईका सिनेटर ब्रायन स्काट्जले मानिसहरूलाई ट्रम्पको योजनाको विरोध गर्न आग्रह गरे । ‘नागरिक पूर्वाधारमा बम विस्फोट गर्नु युद्ध अपराध हो, र यसको विरुद्धमा बोल्ने समय अहिले नै हो,’ उनले सामाजिक सञ्जालमा लेखे ।

कान्तिपुर

Link copied successfully