इरानद्वारा युद्धविराम प्रस्ताव अस्विकार

इजिप्ट, पाकिस्तान र टर्कीका मध्यस्थकर्ताहरूले दुवै देशलाई ४५ दिने युद्धविराम प्रस्तावको मस्यौदा पठाएका थिए ।

चैत्र २३, २०८२

कान्तिपुर संवाददाता

Iran rejects ceasefire proposal

काठमाडौँ — इरानले ४५ दिने युद्धविरामको प्रस्ताव अस्विकार गरेको छ ।  यसअघि  इजिप्ट, पाकिस्तान र टर्कीका मध्यस्थकर्ताहरूले दुवै देशलाई ४५ दिने युद्धविराम प्रस्तावको मस्यौदा पठाएका थिए ।

उक्त प्रस्तावमा हर्मुजको जलघाँटी खोल्ने र ४५ दिन अस्थायी युद्धविराम गर्ने उल्लेख थियो । युद्धविरामले शत्रुहरूलाई द्वन्द्वको तयारी गर्न सघाउने इरानले बताएको छ । अमेरिकाले पनि यस प्रस्तावमा स्विकृति नदिएको ह्वाइटहाउसका एक अधिकारीले सीएनएनसँग बताएका छन् । 

'हामी त्यस्तो युद्ध अन्त्यको माग गर्दैछौं । यसले यसलाई फर्कनबाट रोक्छ,' इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईलाई उद्रृत गर्दै इरानको सरकारी समाचार एजेन्सी आईआरएनएले लेखेको छ । मध्यपूर्वका दुई अधिकारीहरूले एपी समाचार एजेन्सीलाई बताएअनुसार इरानी विदेशमन्त्री अब्बास अराग्ची र अमेरिकी मध्यपूर्व दूत स्टिव विटकफमार्फत यो प्रस्ताव पठाइएको थियो । 

यद्यपि, दुवै पक्षबीचको अविश्वास र कडा अडानका कारण सहमतिको बाटो अनिश्चित देखिएको छ । केही समयअघि इरानले आर्थिक क्षतिपूर्ति र पुनः आक्रमण नगर्ने ग्यारेन्टी सुनिश्चित भएपछि मात्रै युद्ध रोक्न सकिने बताएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार ४८ घण्टाभित्र हर्मुज जलघाँटी पुनः नखोले ऊर्जा केन्द्र र पुलमा आक्रमण गरिने चेतावनी दिएका छन् । 

उनले मंगलबार राति ८ बजे (नेपाली समय बुधबार ५ः४५) बजेभित्र हर्मुजको जलघाँटी खोल्न इरानलाई सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत चेतावनी दिएका हुन् । यसलाई पनि इरानले अस्विकार गरेको छ । 

आइतबारदेखि सोमबारसम्म इरानका विभिन्न सहरमा भएका आक्रमणमा २५ जनाभन्दा बढीको मृत्यु भएको छ ।

तेहरान नजिकैको एस्लामसार क्षेत्रमा भएको हवाई आक्रमणमा मात्र कम्तीमा १५ जनाको ज्यान गएको अधिकारीहरूले जनाएका छन् ।

तेहरानस्थित सरिफ युनिभर्सिटी अफ टेक्नोलोजीमा समेत आक्रमण भएको बताइएको छ, जसका कारण विश्वविद्यालयका अनलाइन सेवाहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् र विद्यार्थीहरू क्याम्पस छोड्न बाध्य भएका छन् ।

आइतबार राति तेहरानको बहरेस्तान काउन्टीस्थित आवासीय इलाकामा आक्रमण हुँदा १० वर्षमुनीका चार बालिका र दुई बालकको मृत्यु भएको स्थानीय अधिकारीलाई उद्रृत गर्दै इरानको सरकारी फार्स न्युज एजेन्सीले जनाएको छ । 

इरानी अर्धसैनिक रिभोलुसनरी गार्डका गुप्तचर प्रमुख मेजर जनरल माजिद खादेमी आक्रमणमा मारिएको इरानी सरकारी मिडियाले पुष्टि गरेको छ ।

इजरायलले पनि उक्त कारबाहीको पुष्टि गर्दै गार्डको शीर्ष नेतृत्वलाई क्रमशः निशाना बनाइएको जनाएको छ ।

यसअघि पनि गार्डका अन्य वरिष्ठ अधिकारीहरू मारिएका थिए । इजरायलले इरानका स्टिल र पेट्रोकेमिकल उद्योगमा समेत गम्भीर क्षति पुर्‍याएको दाबी गरेको छ ।

युद्ध क्षेत्र विस्तार हुँदै खाडी मुलुकसम्म पुगेको छ । संयुक्त अरब इमिरेट्सको फुजैराहमा इरानी ड्रोन आक्रमणले दूरसञ्चार भवनमा क्षति पुर्‍याएको छ ।

अबु धाबीमा मिसाइल अवरोधका क्रममा एक व्यक्ति घाइते भएका छन् । इजरायलतर्फ पनि लगातार क्षेप्यास्त्र प्रहार भइरहेको छ ।

हाइफा र मध्य इजरायलका विभिन्न सहरहरूमा प्रहार हुँदा आवासीय भवनहरूमा क्षति पुगेको छ । यसअघि हाइफामा भएको आक्रमणमा दुई जनाको मृत्यु भइसकेको छ भने दुई जना अझै बेपत्ता छन् ।

फेब्रुअरी २८ मा सुरु भएको यस द्वन्द्वले हजारौँको ज्यान लिइसकेको छ, अन्तर्राष्ट्रिय बजार अस्थिर बनाएको छ र प्रमुख ऊर्जा आपूर्ति मार्गहरू अवरुद्ध पारेको छ ।

विशेषगरी, हर्मुज जलघाँटी बन्द हुँदा विश्वको झन्डै २० प्रतिशत तेल तथा ग्यास आपूर्ति प्रभावित भएको छ ।

ट्रम्पको धम्कीको अमेरिकामा विरोध

अमेरिकामा विपक्षी डेमोक्रेटिक पार्टीका सांसद्हरुले राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिको विरोध गरेका छन् ।

ट्रम्पले हर्मुज जलघाँटी नखोले इरानका ऊर्जा केन्द्र र पुलहरु सबै ध्वस्त गरिदिने चेतावनी सामाजिक सञ्जाल ट्रुथमार्फत दिएका थिए। उनले इरानलाई नर्क बनाइदिने बताएका थिए । यस अभिव्यक्तिको विरोध गर्दै डेमोक्रेटिक पार्टीका तल्लो सदनका सांसद् जिम म्याकगभर्नले अन्तर्राष्ट्रिय कानुनलाई अवमुल्यन गर्न नहुने बताए ।

‘जब अमेरिकाले अन्तर्राष्ट्रिय मानवीय कानूनलाई कमजोर बनाउँछ, हामी अरूलाई पनि त्यसै गर्न उक्साइरहेका हुन्छौं । यसले हामी सबैलाई असुरक्षित बनाउँछ,’ उनले सामाजिक सञ्जालमा लेखे ।

उनले ट्रम्पका धम्कीहरु अविचलित मानसिकताको खतरनाक उपज रहेको बताए । ‘यो मानसिक समस्या हो । राष्ट्रपतिले मद्दत लिनु पर्छ,’ उनले भने । माथिल्लो सदन सिनेटका सदस्यहरुले पनि यसको विरोध गरेका छन् ।

म्यासाचुसेट्सका सिनेटर एडवर्ड मार्कीले भने, ‘युद्ध अपराधको धम्की दिने ट्वीटले हर्मुजको जलघाँटी खोल्न सक्दैन ।’ उनले इरानसँग वार्ता गरेर युद्ध अन्त्य र महागी नियन्त्रण गर्न आग्रह गरे ।

कनेक्टिकटका सिनेटर क्रिस मर्फीले ट्रम्पको योजनाबद्ध कार्यहरूलाई स्पष्ट युद्ध अपराध रहेको बताए । उनले राष्ट्रपतिलाई यस्ता अमानवीय काममा लगाम लगाउन उनले रिपब्लिकन नेताहरूलाई आग्रह गरे ।

‘रिपब्लिकन नेताहरूले उनलाई रोक्न आवश्यक छ । पुल र ऊर्जा केन्द्र उडाएर र निर्दोष इरानीहरूलाई मारेर जलघाँटी फेरि खुल्ने छैन । यो स्पष्ट युद्ध अपराध हो,’ उनले भने ।

मिशिगनकी सिनेटर  एलिसा स्लटकिनले भनिन्, ‘इरानमा अन्धाधुन्ध नागरिकहरूलाई मार्नु र पुल र ऊर्जा केन्द्रजस्ता नागरिक पूर्वाधारहरू नष्ट गर्नु गैरजिम्मेवारपूर्ण र गलत दुवै हो । विशेष गरी, जब राष्ट्रपतिले यो युद्ध इरानी जनतालाई सहयोग गर्नका लागि हो भन्दै थिए ।’

ट्रम्प कार्यकालमा विदेशमा रहेका अमेरिकीहरु असुरक्षित भइरहेको उनले बताइन् ।हवाईका सिनेटर ब्रायन स्काट्जले अमेरिकी जनतालाई ट्रम्पको योजनाको विरोध गर्न आग्रह गरे ।

‘नागरिक पूर्वाधारमा बम विस्फोट गर्नु युद्ध अपराध हो, र यसको विरुद्धमा बोल्ने समय अहिले नै हो,’ उनले सामाजिक सञ्जालमा लेखे ।

कान्तिपुर

Link copied successfully