ट्रम्पको धम्कीपछि कच्चा तेलको मूल्य फेरि बढ्यो

विश्वव्यापी बेन्चमार्क ब्रेन्ट क्रुड १.४% ले बढेर ११०.६० डलर प्रतिब्यारेल पुगेको छ

चैत्र २३, २०८२

कान्तिपुर संवाददाता

Crude oil prices rise again after Trump's threat

काठमाडौँ — राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सार्वजनिक पूर्वाधारमा आक्रमण गर्ने धम्की दिएसँगै कच्चा तेलको मुल्य बढेको छ । यसअघि उनले अमेरिकी समयअनुसार मंगलबार राति ८ बजे (नेपाली समय बुधबार ५ः४५) बजेभित्र हर्मुजको जलघाँटी खोल्न इरानलाई चेतावनी दिएका थिए । 

जलघाँटी नखोलिए इरानका ऊर्जा केन्द्र र पुलहरुमा आक्रमण गर्ने चेतावनी उनले दिएका थिए । यस चेतावनीसँगै तेलको भाऊ फेरि बढेको छ ।

विश्वव्यापी बेन्चमार्क ब्रेन्ट क्रुड १.४% ले बढेर ११०.६० डलर प्रतिब्यारेल पुगेको छ । ‘मंगलबार इरानमा ऊर्जा केन्द्र आक्रमण दिवस र पुल दिवस हुनेछ, सबै एकै ठाउँमा हुनेछन् । यस्तो केही हुनेछैन !!! ...स्ट्रेट खोल, नत्र पागल हरामीहरू, नत्र तिमी नर्कमा बाँच्नेछौ – हे र!” पूर्वी समयअनुसार आइतबार बिहान ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ अपशब्दसहित लेखे । 

त्यसको केही घण्टापछि, उनले आइतबार दिउँसो सामाजिक सञ्जालमा ‘मंगलबार, पूर्वी समय अनुसार ८ः०० बजे ’ लेख्दै नयाँ समयसीमा तोके ।अमेरिकामा विपक्षी डेमोक्रेट्रिक पार्टीका सांसद्हरुले पुल र ऊर्जा केन्द्रमाथिको आक्रमण ‘युद्ध अपराध’ भएकाले यस्ता धम्की बन्द गर्न ट्रम्पलाई चेतावनी दिएका छन् । 

इरानले युद्धको पूर्ण क्षतिपुर्ति नपाएसम्म हर्मुजको जलघाँटी फेरि नखुल्ने प्रतिक्रिया इरानी अधिकारीहरुले दिएका छन् । त्यस्तै, अब हर्मुज युद्धअघिको अवस्थामा फर्कन नसक्ने दाबी पनि गरेका छन् । 

ट्रम्पले इरानलाई हर्मुज खोल्न धम्की दिएको यो पहिलोपटक भने होइन । यसअघि पनि उनले पटक–पटक धम्की दिदैं र समयसीमा बढाउँदै लगेका छन् । 

कान्तिपुर

Link copied successfully