राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धको बारेमा राष्ट्रलाई सम्बोधन गरेको भोलिपल्टै हेग्सेथको दबाबमा तीन जनरलले राजीनामा दिएका हुन् ।
काठमाडौँ — इरान युद्ध जारी रहँदा अमेरिकामा स्थल सेनाका प्रमुख जनरल जर्ज र्यान्डीले राजीनामा दिएका छन् । तर, यो राजीनामा स्वेच्छाले नभएर ट्रम्प प्रशासनले सिर्जना गरेको दबाबपछि आएको अमेरिकी सैन्य अधिकारीहरूले सीएनएनसँग बताएका छन् ।
सीएनएनलाई एक सुरक्षा अधिकारीले बताएअनुसार जनरल जर्जसँगै अन्य दुई वरिष्ठ सैनिक अधिकारीले पनि बिहीबारै राजीनामा गरेका छन् । ‘बिहीबार हेग्सेथले अन्य दुई सेना प्रमुखहरूलाई पनि बर्खास्त गरे,’ ती अधिकारीले भनेका छन्, ‘चिफ अफ च्याम्पलियन्स मेजर जनरल विलियम ग्रिन जुनियर र आर्मी ट्रान्सफर्मेशन एन्ड ट्रेनिङ कमाण्का प्रमुख डेभिड होड्ने बर्खास्तीमा परेका हुन् ।’
राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धको बारेमा राष्ट्रलाई सम्बोधन गरेको भोलिपल्टै हेग्सेथको दबाबमा तीन जनरलले राजीनामा दिएका हुन् ।
ट्रम्पले अमेरिकाले इरानमाथि आक्रमण तीव्र पार्ने संकेत थिए । उनले दुईदेखि तीन साताभित्र इरान युद्ध सकिने पनि बताएका छन् ।
पेन्टागनका प्रमुख प्रवक्ता शन पार्नेलले बिहीबार जर्जको अवकाशको पुष्टि गर्दै सामाजिक सञ्जालमा लेखेका छन् , ‘जनरल र्यान्डी ए. जर्जले तुरुन्तै लागू हुने गरी सेनाको ४१ औं प्रमुखको रूपमा आफ्नो पदबाट अवकाश लिँदैछन । युद्ध विभाग जनरल जर्जको हाम्रो राष्ट्रप्रति दशकौंको सेवाको लागि कृतज्ञ छ ।’
बिहीबारको आकस्मिक घोषणाले वरिष्ठ सेना नेतृत्व अचम्ममा परेको अर्का एक अमेरिकी अधिकारीले सीएनएनलाई बताए ।
‘जर्जले बिहीबार बैठकमा छँदा हेग्सेथको फोन कलबाट आफुलाई हटाउन लागिएको थाहा पाए । त्यसपछि उनले आफ्ना कर्मचारीसँग घोषणाको बारेमा व्यक्तिगत रूपमा कुरा गरे । उनीअन्तर्गतका कर्मचारीहरू धेरै उदास थिए,’ ती अधिकारीले भने ।
सेना प्रमुखका रुपमा सैन्य सचिव डान ड्रिस्कोलसँग जर्जको निकै राम्रो सम्बन्ध थियो । युद्ध मामिला मन्त्री हेग्सेथले ड्रिस्कोललाई चुनौतीका रुपमा हेर्दै आएका थिए ।
अर्कोतर्फ बाइडेन प्रशासनमा रक्षामन्त्री रहेका लोएड अस्टिनसँग पनि जर्जको राम्रो सम्बन्ध थियो ।अस्टिन मन्त्री छँदा उनले वरिष्ठ सैन्य सहयोगीका रूपमा पनि काम गरेका थिए ।
इरान युद्धको समय जर्जको अवकाशलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सेना प्रमुखका रुपमा जर्जले वायु सेनासँग समन्वय गरिरहेका थिए । त्यस्तै, उनले जोयन्ट चिफ अफ स्टाफ जनरल डान केनी र हेग्सेथलाई पनि सल्लाह दिदैं आएका थिए ।
जर्जले १९८८ मा वेस्ट प्वाइन्टस्थित अमेरिकी सैन्य एकेडेमीबाट करियर सुरु गरेका थिए । उनले बाइडेन प्रशासनमा रक्षा मन्त्री रहेका लोयड अस्टिनको वरिष्ठ सैन्य सहायकका रुपमा पनि काम गरेका थिए ।
उनले सेप्टेम्बर २०२३ देखि स्थल सेना प्रमुखका रुपमा काम गरिरहेका थिए ।
जर्जको अवकाशपछिसहायक जनरल क्रिस लानेभ नयाँ कार्यकारी सेना प्रमुख बन्ने भएका छन् । युद्ध मामिलामन्त्री हेग्सेथसँग उनको निकै राम्रो सम्बन्ध छ । उनले सेनाको उपप्रमुखको जिम्मेवारी सम्हाल्दा नै भविष्यमा जर्जको ठाउँ लिने अनुमान गरिएको पेन्टागनका अधिकारीहरुले बताएका छन् ।
लानेभले १९९० देखि सैनिक सेवा गर्दै आएका छन् । उनले उत्तरी क्यारोलिनाको फोर्ट ब्रागमा ८२ औं एयरबोर्न डिभिजनको कमाण्डरको रूपमा छोटो कार्यकाल बिताए । त्यसपछि दक्षिण कोरियामा सेनाको कमान्डिङ जनरल थिए ।
