चार बेपत्ता भएको अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताए ।
काठमाडौँ — अफगानिस्तानमा वर्षाका भएका विभिन्न घटनामा कम्तीमा ६१ जनाको मृत्यु भएको छ । त्यस्तै १ सय १६ जना घाइते भएका छन् ।
वर्षाजन्य घटनाका कारण चार बेपत्ता भएको अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले शनिबार घोषणा गरेका छन् ।
घटनामा मृत्यु हुनेमध्ये अधिकांश मानिस अफगानिस्तानको दक्षिणी र पश्चिमी प्रान्तका रहेको प्रवक्ता मुजाहिदले सामाजिक सञ्जाल एक्समार्फत जनाए ।
हालै भारी वर्षापछि आएका प्राकृतिक प्रकोपले २ हजार ४४८ घरहरू पूर्ण र आंशिक रूपमा क्षति गरेको उनले बताए । अफगानिस्तानका विभिन्न प्रान्तमा कृषिवाली लगायत खेतीयोग्य जग्गा बगाएको उनले पुष्टि गरेका छन् ।
अफगानिस्तानको मौसम विभागले आगामी दिनमा थप वर्षाको पूर्वानुमान गरेको छ । कतिपय क्षेत्रमा बाढीको उच्च जोखिम रहेको चेतावनी पनि दिइएको छ ।
