युद्धले निम्त्यायो पश्चिम एसियामा विकराल वातावरणीय संकट 

हर्मुजको अवरोधले ग्यास र कच्चा तेलको अभाव भएसँगै एशियाली देशहरुले उद्योगधन्दा सञ्चालन गर्न कोइलाको प्रयोग बढाएका छन् ।

चैत्र १९, २०८२

अन्वेषण अधिकारी

War caused a severe environmental crisis in West Asia

काठमाडौँ — अहिले पश्चिम एसियामा हरेक भूभाग असुरक्षित छन् । बम बिस्फोटले आकाश, धर्ती र समुद्र प्रभावित छ ।

अमेरिकी सेनाको केन्द्रीय कमाण्ड सेन्टकमले बुधबार दिएको पछिल्लो जानकारीअनुसार युद्ध सुरु भएपछि इरानमा १२ हजार ३ सयभन्दा धेरैपटक आक्रमण भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगमी दुईदेखि तीन साता अझै कडा आक्रमण गरिने बताएका छन् । युद्ध सुरु भएको पहिलो २४ घण्टाभित्रै अमेरिकाले इरानमा झन्डै एक हजारपटक आक्रमण गरेको थियो । 

इरानको तेहरान शहरमा मात्रै पहिलो महिना ३६ सयभन्दा धेरैपटक बम खसालिएको छ । इरानले इजरायलसहित पश्चिम एसियाका देशमा दैनिकजसो मिसाइल तथा ड्रोन प्रहार गरिरहेको छ । अर्कोतर्फ, हुथी विद्रोहीले यमनबाट इजरायलमा बम आक्रमण थालेको छ ।

इजरायलले इरानमा मात्रै आक्रमण गरेको छैन, आफ्नो छिमेकमा रहेको लेबनानमा हेजबुल्लाहमाथि पनि निशाना साँधिरहेको छ ।

इजरायलमाथि इरान र हेजबुल्लाह दुबैले मिसाइल,ड्रोन तथा रकेट प्रहार गरिरहेका छन् । युद्धमा कुनै संलग्नता नरहेका साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डन, ओमानलगायत देशहरु पनि इरानको प्रत्याक्रमणको सिकार बनेका छन् । 

इस्फान, फोर्डो र नान्ताज शहरमा रहेका इरानका मुख्य आणविक केन्द्रहरु अमेरिका-इजरायलको निशानामा छन् । इजरायलको आणविक अनुसन्धान केन्द्र डिमोनालाई ताकेर इरानले पटक–पटक मिसाइल प्रहार गरिरहेको छ । 

कुवेत, साउदी अरेबिया, कतारलगायत देशका ग्यास तथा तेलखानी निशानामा छन् । 

अमेरिकाले इरानी जलसेनालाई लक्षित गरेर समुद्रमा ठूलो संख्यामा बम खसालेको छ । ४३ वटा इरानी डुंगा यहाँ क्षतिग्रस्त भएर डुबेका छन् । अर्कोतर्फ, इरानले हर्मुजमा पानीमुनी बम बिछ्याएको आरोप पनि अमेरिकाले लगाइरहेको छ ।

युद्धकै दौरान श्रीलंकाको बन्दरगाहमा तेलको ट्यांकर बोकेको एक इरानी जहाजले  शरण लिएको थियो । आक्रमणले क्षतिग्रस्त भएर उक्त जहाजबाट तेल चुहिरहेको थियो । 

त्यस्तै, अबुदाबी, दुबई जेबेल अली र मानामाजस्ता तटीय शहरमा इरानले निशाना लगाइरहेको छ ।आकाशबाट जमिन तथा समुद्रमा खसेका हरेक बमले ठूलो संख्यामा कार्बन उत्सर्जन गर्छन् र वातावरणमा प्रदूषण फैलाउँछन् । 

तेल प्रशोधन केन्द्र,आणविक पूर्वाधार र जलक्षेत्रमा भएको यो कठोर आक्रमण–प्रत्याक्रमणले पश्चिम एसियामा दिर्घकालसम्म स्वास्थ्य तथा वातावरणीय समस्या निम्त्याउने विज्ञहरुले बताएका छन् ।

युद्ध सुरु भएयता बेलायतस्थित द्वन्द्व तथा वातावरण पर्यवेक्षण संस्था (सीईओबीएस) ले ४ सयवटा त्यस्ता घटनाहरु रेकर्ड गरेको छ, जहाँ संभावित रुपमा वातावरणमा ठूलो क्षति पुगेको छ ।

मिसाइल राखिएका आधार इलाकामा आक्रमणदेखि पर्सियन खाडीमा ट्यांकरमा भएका आक्रमणसम्म यसमा समावेश छन् । तर संख्या बृहत्तर क्षतिको सानो झल्कोमात्रै दिने अनुसन्धानकर्ताहरुले बताएका छन् ।

'यो एउटा सानो अध्ययन हो,' सीईओबीएसका निर्देशक डर वैरले जर्मन सञ्चारमाध्यम डिडब्ल्यु डटकमसँग भनेका छन्, 'अमेरिकाले ५ हजारभन्दा धेरै केन्द्रमा आक्रमण गरिसकेको छ । त्यसैले यो जोखिम निकै ठूलो छ ।' युद्ध जारी रहेकाले अहिले क्षतिको अनुमान गर्न सकिने अवस्था नरहेको उनले बताए । 

हर्मुज जलघाँटी आसपास एक महिनाभन्दा लामो समयदेखि तेलका ट्यांकर अलपत्र छन् । ग्रिनपिस इन्टरनेशनलका अनुसार कम्तिमा २१ अर्ब लिटर तेल त्यहाँ फसेको छ ।

तेल तथा ग्यास चुहिएको खण्डमा यहाँका जल वनस्पति तथा समुद्री जीवलाई ठूलो समस्या हुन्छ । हिन्द महासागर दुर्लभ हम्पब्याक डल्फिनजस्ता असंख्य जीवहरुको घर हो । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलघाँटी खोल्नका लागि सहयोग गर्न युरोपेली देशहरुलाई आग्रह गरेका थिए । तर, युरोपेली देशहरु जान मानेनन् ।

उनीहरु त्यहाँ जाँदा इरानले सम्भावित प्रत्याक्रमण गर्नसक्थ्यों । युद्धले थप विकराल अवस्था ल्याउनसक्थ्यों । इरानमाथि यहाँ हुँदै अघि बढ्ने जहाजमा आक्रमण गरेको, बम बिछ्याएको लगायत आरोप लागेको छ । यी सबै गतिविधिले समुद्री जीवनलाई संकटमा धकेल्छ ।

सेना परिचालन गरेर खार्ग टापु कब्जा लिने योजनालाई अमेरिकी प्रशासनले अझै अस्विकार गरिसकेको छैन । इरानले प्रत्याक्रमणका लागि आफु तयार रहेको बताएको छ । त्यहीकारण सम्भावित ठूलो टकरावको त्रास अझै पूर्ण रूपमा हटेको छैन ।

संयुक्त राष्ट्रसंघले तेल पूर्वाधारमा भएको क्षतिले पश्चिम एसियाभर गम्भीर क्षति पुर्याउने बताएको छ । पिउने पानी, हावा र खाद्यान्नमा तत्कालीन असर देखिनसक्ने राष्ट्रसंघको चेतावनी छ । दुई साताअघि इरानमा वायु प्रदूषणका कारण कालो वर्षा भएको थियो ।

विज्ञहरुका अनुसार इरानमा इन्धन तेलमा रहेका हाइड्रोकार्बन  पूर्ण रुपमा नजल्दा आँखाले नदेखिने धुलोहरु वायुमण्डलमा पुगे । धुलो, धुवाँ तथा विषाक्त केमिकलहरु वायुमण्डलबाट कालो वर्षा बनेर धर्तीमा झरे ।

‘जलेको इन्धनबाट पनि पोलिसाइक्लिक अरोमेटिक हाइड्रोकार्बन्स (पिएचएस) नामक कम्पाउन्ड तथा सल्फर डाइअक्साइड र निट्रोजन अक्साइडजस्ता विषाक्त ग्यासहरु बन्छन् । यसले एसिड वर्षा गराउँछ,’ अमेरिकाको कार्नीजी मेलोन विश्वविद्यालयका सिभिल तथा वातावरणीय इन्जिनियरिङका प्रोफेसर पिटर एडम्सले भनेका थिए ।

यस्तो पानीमा भिज्‍नेहरूमा श्वासप्रश्वास तथा मुटुको समस्या सिर्जना गर्छ । उमेर नपुग्दै मृत्यु हुनसक्छ । पिएएचले क्यान्सरको जोखिम पनि बढाउँछ । वनस्पति तथा अन्य जीवहरूलाई पनि ठूलो असर गर्छ ।

प्रदूषित वर्षाले खानेपानीका ट्यांकीमा पनि संक्रमण निम्त्याउनसक्ने चिन्ता विज्ञहरूले व्यक्त गरेका थिए ।

विषाक्त केमिकल, कडा धातु र अन्य प्रदूषणहरुले माटो, पानी, मानिस र जीव जन्तुको स्वास्थ्यमा पुर्‍याउने असर दशकौंसम्म रहनसक्ने संयुक्त राष्ट्रसंघमा कार्यरत इरानी वैज्ञानिक काभेह मदानीले बताए । ‘तटीय क्षेत्रमा जलेका तेल तथा ग्यासका खानी, त्यहाँ रहेका जहाजबाट चुएिको तेल र डुबेका जहाज सबै प्रदूषण हुन्,’ उनले भने,‘यो अवस्थाले यस क्षेत्रको वातावरणलाई वर्षौं पछि धकेल्नेछ ।’

पर्सियन खाडी क्षेत्र विश्वमा पानीको संकट हुने क्षेत्रमध्ये एक हो । यहाँ सयौंको संख्यामा पिउने पानी प्रशोधन केन्द्र छन् । ती केन्द्रमा आक्रमण भएकाले भविष्यमा पिउनेपानीको हाहाकार हुनसक्छ । 

कोइलाको प्रयोग बढ्दै 

हर्मुजको अवरोधले ग्यास र कच्चा तेलको अभाव भएसँगै एसियाली देशहरुले उद्योगधन्दा सञ्चालन गर्न कोइलाको प्रयोग बढाएका छन् । 

एलएनजी प्राकृतिक ग्यास हो, जसलाई चिसो बनाएर तरल बनाइन्छ र सहज रुपमा भण्डार तथा आपुर्ति गर्न सकिन्छ । कोइलाबाट नवीकरणीय ऊर्जातर्फ अघि बढिरहेको विश्वका लागि एलएनजी ग्यासले साँघुको काम गरिरहेको  छ ।

यो पनि जिवाश्म इन्धन नै हो र यसको प्रयोगले मिथेन ग्यास उत्सर्जन हुन्छ । तर, कार्बन उत्सर्जन गर्ने कोइलाको दाँजोमा यसले वायुमण्डलमा निकै कम प्रदूषण फैलाउँछ । 

त्यहीकारण नवीकरणीय ऊर्जा र हरित अर्थतन्त्रलाई विकास गर्न खोजेका देशहरुले यसको प्रयोगलाई बढावा दिने र भविष्यमा नवीकरणीय ऊर्जातर्फ लम्कने योजना बनाएका थिए । तर अहिले उनीहरू नै कोइलामा निर्भर हुन बाध्‍य छन् । 

संकट आउनुअघि दक्षिण कोरियामा कोइला प्रशोधन गृहले ८० प्रतिशतभन्दा कम क्षमतामा मात्रै काम सञ्चालन गर्न पाउँथे । यसको प्रतिशतलाई कम गरेर २०४० सम्म शुन्यमा झार्ने सरकारको लक्ष्य थियो ।

तर, अहिले एलएनजी ग्यासको संकट देखिएसँगै दक्षिण कोरियाले यो  सीमा हटाएर पूर्ण सामथ्र्यमा काम गर्न कोइलाखानीहरुलाई निर्देशन दिएको छ । जापानमा ५० प्रतिशतभन्दा धेरै क्षमतामा प्रशोधन गृह सञ्‍चालन गर्न नपाइने नियम थियो । अहिले यो सीमा हटाइएको छ ।

 इन्डोनेसियाले आफ्नो घरेलु कोइलाको अधिकतम प्रयोग गरिरहेको छ । फिलिपिन्स, थाइल्यान्ड, भियतनामलगायत देशमा पनि यसको प्रयोग बढ्दो छ । भारतमा यसअघि नै औद्योगिक गतिविधिमा कोइलाको अत्याधिक प्रयोग हुने गरेको छ । 

धेरै कोइला जलाउँदा मुख्य शहरहरु प्रदूषित हुनेछन् । नवीकरणीय ऊर्जातर्फको रुपान्तरण ढिलो हुनेछ र विश्वव्यापी तापक्रम वृद्धिलाई यसले बढाउनेछ । 

‘कोइला तत्कालीन र नवीकरणीय ऊर्जा दिर्घकालीन समाधान हुन् । कोइलामा अत्याधिक निर्भर हुनाले एसियाली देशहरुलाई भविष्यमा घाटा हुनेछ,’ ग्लोबल कोलिशन पावरिङ पास्ट कोल एलाइन्सकी जुलिया स्कोरुप्स्काले भनिन्, ‘यस्तो संकट एउटा चेतावनी हो ।’

एसियामा आपतकालीन ऊर्जा योजनामा कोइला सधैं महत्वपूर्ण रहदैं आएको छ । ‘एसियामा यसको प्रचुर उपलब्धताका कारण ग्यासको अभाव वा नवीकरणीय ऊर्जा नहुँदा यसले ब्याकअपको काम गर्ने गरेको छ,’ डुक विश्वविद्यालयमा ऊर्जा विज्ञ रहेका सन्दीप पाईले भने ।  

विश्वमा चीन कोइलाको प्रमुख उत्पादनकर्ता र खपतकर्ता हो । आफ्नो ऊर्जा सुरक्षामा सुधार गर्न सन् २०२१ यता उसले कोइला उत्पादनको सामथ्र्यलाई निकै बढाएको छ । यससँगै उसले ठूलो रुपमा नवीकरणीय ऊर्जा पनि लगानी गरिरहेको छ । भारत दोस्रो ठूलो कोइला उत्पादक तथा खपतकर्ता हो । यस झण्डै तीन महिनाका लागि कोइला भण्डारण छ । 

कोइलाको प्रयोगले वातावरण तथा जनस्वास्थ्यमा चुनौती निम्त्याउने गरेको छ । जलेको कोइलाबाट निस्कने कणहरु फोक्सो र रक्तनलीमा गहिरोसँग छिर्ने र यसले हृदयघात, स्ट्रोक, फोक्सो क्यान्सर, श्वासप्रश्वासजस्ता समस्या निम्त्याउने विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) ले जनाएको छ ।

इनर्जी पोलिसी इन्स्टिच्युट अफ सिकागोको एक प्रतिवेदनअनुसार भारतमा सिंगो जनसंख्या यस्तो विषाक्त हावामा सास फेर्न बाध्य छ । भारतले केही समयअघि प्रदूषण नियन्त्रणका लागि वायु–गुणस्तर नियमहरु लगाएको थियो । तर, अहिले रेस्टुरेन्टहरुलाई ग्यासको विकल्पमा कोइला प्रयोग गर्न अनुमति दिएको छ । भियतनाममा पनि गम्भीर वायु प्रदूषण छ ।

यहाँ वायु प्रदूषण डब्ल्युएचओको सीमा पीएम २.५ भन्दा निकै माथि छ । हानोइस्थित पसले लान  नेविनले विद्युतका लागि कोइला महत्वपूर्ण रहेको बताइन् । ‘तर मेरा छोरालाई दमको समस्या छ । म उसको फोक्सोलाई लिएर हरेक दिन चिन्तित छु,’ अन्तर्राष्ट्रिय न्युज एजेन्सी एपीसँग उनले भनिन् । (एजेन्सीको सहयोगमा)

अन्वेषण

Link copied successfully