इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न युद्ध आवश्यक रहेको ट्रम्पले दोहोर्याए
काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी २–३ हप्ता अमेरिकाले इरानलाई अत्यन्तै कडा प्रहार गर्ने दाबी गरेका छन् ।
त्यसक्रममा इरानका ऊर्जा केन्द्र पनि आक्रमणमा पर्नसक्ने उनले बताए । बुधबार बिहान राष्ट्रका नाममा गरिएको सम्बोधनमा उनले यस्तो बताएका हुन् ।
‘हाम्रा उद्देश्यहरू पूर्ण रूपमा प्राप्त नभएसम्म हामी आक्रमण जारी राख्नेछौं । तर यो धेरै लामो जानेछैन । किनकी अमेरिकाले सबै लक्ष्यहरु चाडैं नै हासिल गर्नेवाला छ,’ ट्रम्पले भने ।
‘हामी आगामी दुई देखि तीन हप्तामा उनीहरूलाई अत्यन्तै कडा प्रहार गर्नेछौं। हामी उनीहरूलाई ढुङ्गे युगमा फिर्ता लैजानेछौं जहाँ उनीहरू छन्,’ उनले थपे ।
उनले इरानमा परिवर्तन कहिल्यै अमेरिकाको लक्ष्य नरहेको बताए । ‘तर उनीहरुको मुख्य नेताको मृत्युले त्यहाँ शासन परिवर्तन भइसकेको छ,’ ट्रम्पले भने ।
उनले अमेरिकाको लागि राम्रो र सुरक्षित भविष्य सुरक्षित गर्ने प्रयासको रूपमा युद्धलाई चित्रण गरेका छन्।
‘यो तपाईंका छोराछोरी र नातिनातिनाको भविष्यमा साँचो लगानी हो,’ ट्रम्पले भने, ‘सारा संसार हेरिरहेको छ, र तिनीहरूले यस्तो शक्ति र प्रतिभा छोड्न सक्दैनन्। तिनीहरूले के देखिरहेका छन् भनेर विश्वास गर्न सक्दैनन् ।’
उनले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न युद्ध आवश्यक रहेको दोहोर्याए । अमेरिकाले एकतर्फी रूपमा युद्ध सुरु गरे पनि हर्मुजको जलघाँटी खोल्नका लागि अन्य देशहरुले पनि प्रयास गर्नुपर्ने उनले बताए ।
‘हिम्मत बढाउनुहोस्,’ उनले पश्चिम एशियाबाट तेल आयात गर्ने देशहरूलाई भने, ‘जलघाँटीमा जानुस् र तेल लिएर आउनुस् ।'
