वार्ता भएपनि-नभएपनि इरान युद्धबाट २–३ हप्तामा फर्कन्छौं : ट्रम्प 

हामीले उनीहरूलाई १५–२० वर्ष पछाडि धकेल्यौं । उनीहरूसँग अब न जलसेना छ, न सेना छ, न वायुसेना छ : ट्रम्प

चैत्र १८, २०८२

कान्तिपुर संवाददाता

We will be back from Iran war in 2-3 weeks, regardless of talks: Trump

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सेनाको आक्रमण दुईदेखि तीन साताभित्र समाप्त हुनसक्ने बताएका छन् । उनले वार्ता हुनु र नहुनुको कुनै अर्थ नरहेको बताए । 

‘वाशिंगटन र तेहरानबीच सम्झौता हुन सक्छ, ट्रम्पले भने,‘ तर उनीहरु वार्तामा आउनु र नआउनुले कुनै फरक पार्दैन । अमेरिकाले आफ्नो लक्ष्य हासिल गरेको छ । इरानको आणविक हतियार प्राप्त गर्ने क्षमतालाई घटाइएको छ । अब  आफ्नो काम समाप्त गर्दैछ ।’

उनले थपे,‘हामीले उनीहरूलाई १५–२० वर्ष पछाडि धकेल्यौं । उनीहरूसँग अब न जलसेना छ, न सेना छ, न वायुसेना छ ।’

इरानका राष्ट्रपति मसूद पेजेश्कियानले केही सर्तहरू पूरा भएमा इरानले वार्ता गर्ने बताए । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि ट्रम्पले पटक–पटक युद्धको समयसीमा तोक्दै आएका छन् । यसअघि उनले चार साताभित्र युद्ध सकिने दाबी गरेका थिए । तर ३३ औं दिनमा पनि युद्ध जारी नै छ । 

राष्ट्रपति ट्रम्पले अमेरिकी समयअनुसार बुधबार राति ९ः०० बजे (नेपाली समयअनुसार बिहीबार बिहान ६ः४५) मा राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम छ । 

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि युद्ध अन्त्यतर्फ पुगेको बताए । उनले इरानसँग वार्ता हुने संभावना कायम रहेको बताए ।

‘कुनै पनि समयमा प्रत्यक्ष भेटघाट हुनसक्छ । हामी त्यसको लागि सधैं खुला रहनेछौं,’ फक्स न्युजसँग उनले भने,‘तर समय टार्ने रणनीतिका रुपमा नक्कली वार्ताहरु प्रयोग गर्ने अनुमति राष्ट्रपति ट्रम्पले दिने छैनन् ।’

इरानी राष्ट्रपति पेजेश्कियानले आफ्नो देशलाई द्वन्द्व अन्त्य गर्न भविष्यमा आक्रमण नहुने ग्यारेन्टी चाहिएको बताए । युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टासँगको कुराकानीमा उनले यस्तो धारणा राखेको इरानका सरकारी सञ्चारमाध्यमले जनाएका छन् । 

कोस्टाले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,‘मैले इरानलाई पश्चिम एशियाका  देशहरूमाथि अस्वीकार्य आक्रमणहरू रोक्न र कूटनीतिक मार्गमा सकारात्मक रूपमा संलग्न हुन आग्रह गरें । विशेष गरी हर्मुज जलघाँटीमा आवागमनको स्वतन्त्रता सुनिश्चित गर्न  आग्रह गरेँ ।

कान्तिपुर

Link copied successfully