'म कहिल्यै नाटोबाट प्रभावित भइनँ । मलाई सधैं थाहा थियो कि तिनीहरू कागजी बाघ हुन्, र पुटिनलाई पनि त्यो राम्रोसँग थाहा छ ।'
काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटो गठबन्धनबाट अमेरिका बाहिरिने संकेत गरेका छन् । बेलायती पत्रिका टेलिग्राफले ट्रम्पलाई इरान युद्धपछि नाटोमा अमेरिकाको सदस्यतालाई लिएर पुनर्विचार गर्नुहुन्छ ? भनेर सोधेको थियो ।
जवाफमा ट्रम्पले भने,‘ योे पुनर्विचारभन्दा परको अवस्था हो । म कहिल्यै नाटोबाट प्रभावित भइनँ । मलाई सधैं थाहा थियो कि तिनीहरू कागजी बाघ हुन्, र पुटिनलाई पनि त्यो राम्रोसँग थाहा छ ।
हर्मुजको जलघाँटी जलडमरू पुनः खोल्न सहयोगी राष्ट्रहरूले युद्धपोत पठाउनुपर्ने ट्रम्पको मागलाई अस्विकार गरेका थिए । त्यसपछि ह्वाइट हाउसले अब युरोपलाई भरपर्दो रक्षा साझेदारको रूपमा नलिने संकेत गरेको छ ।
इरानले युद्ध सुरु भएदेखि हर्मुज जलघाँटीमा अवरोध गर्दै आएको छ । विश्वको झन्डै २० प्रतिशत तेल बाहिरिने जलघाँटी बन्द हुँदा तेल र ग्यासको विश्वव्यापी अभाव बढेको छ ।
अमेरिकाले युक्रेन युद्धमा युरोपलाई सघाएपछि अमेरिकालाई अफ्टेरो पर्दा युरोपेली साझेदारहरुले सहयोग नगरेको उनले बताए । ‘हामी त्यहाँ समस्या पर्दा सधैं थियो । युक्रेन हाम्रो समस्या थिएन । परीक्षा थियो र हामी युरोपका लागि गयौं । हामी सधैं उनीहरुका लागि थियौं । हाम्रा लागि उनीहरु आएनन् ,’ ट्रम्पले भने ।
ट्रम्पले बेलायती प्रधानमन्त्री केयर स्ट्रामरले पनि आफुलाई सहयोग नगरेको गुनासो गरे । बेलायतका सैन्य अखडाहरुलाई इरानविरुद्धको युद्धमा प्रयोग गर्ने ट्रम्पको आग्रहलाई स्ट्रामरले अस्विकार गरेका थिए । यद्यपी, पश्चिम एशियाका बेलायती सैन्य पूर्वाधारमा इरानले प्रत्याक्रमण गर्दा रक्षात्मक प्रयोजनका लागि बेलायती सेना उत्रिएको थियो ।
ट्रम्पले बेलायतका युद्धपोत काम नलाग्ने भइसकेको बताए । ‘तिमीहरुसँग जलसेना पनि छैन । तिमीहरु धेरै पुरानो भयौं र काम नलाग्ने युद्ध विमानमात्रै छन् ।’
ट्रम्पको पछिल्लो अन्तर्वार्ताबारे टिप्पणी गर्दै स्ट्रामरले नाटो विश्वकै सबैभन्दा प्रभावकारी सैन्य गठबन्धन रहेको बताएका छन् । तर, बेलायतले आफ्नो हित हेर्ने र इरानविरुद्धको युद्धमा सहभागि नहुने उनले बताए ।
यसअघि ट्रम्पले मंगलबार सामाजिक सञ्जाल ट्रुथमा लेखेका थिए, 'बेलायतजस्ता देशले हर्मुजको घाँटीमा गएर तेल ल्याउने हिम्मत राख्नुपर्छ । तिमीहरुले आफ्ना लागि कसरी लड्ने भनेर सिक्न सुरु गर्नुपर्छ । तिमीहरुलाई सहयोग गर्नका लागि अमेरिका हुनेछैन ।'
