'सेप्टेम्बर २०२५ मा सुरु भएको राष्ट्रव्यापी प्रदर्शन बन्द भएको छ । सुरक्षा अवस्था स्थिर छ ।'
काठमाडौँ — अमेरिकाले नेपाललाई भ्रमण सूचीमा लेभल २ मा सुधार गरेको छ । जसको अर्थ 'भ्रमणका दौरान आन्दोलन हुनसक्ने भएकाले सतर्कता अपनाउनु' भन्ने हुन्छ ।
यसअघि जेन-जी आन्दोलनलगत्तै ११ सेप्टेम्बरमा नेपाललाई लेभल ३ मा राखेको थियो । जसको अर्थ 'भ्रमण गर्नुअघि पुनर्विचार गर्नुस्' भन्ने हुन्थ्यो । लेभल चारमा भ्रमण नगर्न सिफारिस गरिएको हुन्छ । लेभल एकको अर्थ सामान्य अवस्था हो । जहाँ सतर्कता अपनाए पुग्छ ।
‘सेप्टेम्बर २०२५ मा सुरु भएको राष्ट्रव्यापी प्रदर्शन बन्द भएको छ । सुरक्षा अवस्था स्थिर छ । यद्यपि, प्रदर्शन र विशेषगरी सहरहरुमा स्थानीय स्तरमा अस्थिरता हुन सक्छ,’ अमेरिकी विदेश विभागले जारी गरेको भ्रमण निर्देशिकामा उल्लेख छ, ‘थोरै चेतावनीसहित प्रदर्शन सुरु हुन सक्छन् र चाँडै गम्भीर हुन सक्छ । ठूला भीडबाट जोगिनुस् र स्थानीय अधिकारीका निर्देशन पालना गर्नुस् ।’
अन्य स्थानको दाँजोमा काठमाडौंका अस्पताल धेरै उत्कृष्ट रहेको निर्देशिकतामा उल्लेख छ । तर, विदेशीको उपचार खर्च नेपाल सरकारले नव्यहोर्ने भएकाले भ्रमण स्वास्थ्य बिमा गर्न र अत्यावश्यक औषधि बोकेर ल्याउन अनुरोध गरिएको छ ।
कुनै गम्भीर अवस्था निम्तिएमा अर्को देशमा उपचार गर्न जानुपर्ने विषयलाई पनि मध्यनजर गर्न निर्देशिकामा उल्लेख छ ।
नेपालमा प्राकृतिक विपद् र त्यसमा पनि जुनदेखि सेप्टेम्बरसम्म बाढी–पहिरो आउने जोखिम भएकाले मौसमसम्बन्धी जानकारी लिएर मात्रै भ्रमण योजना बनाउन पनि आग्रह गरिएको छ ।
