हालसम्म युद्धमा १२ सय लेबनानीले ज्यान गुमाएका छन् भने इजरायलले दक्षिण लेबनानमा निरन्तर आक्रमण गरेपछि भोकमरी र खानेपानीको समस्या बढ्दै छ ।
काठमाडौँ — अमेरिका–इजरायल र इरानबीचको युद्धमा कसैको पक्षधरता नलिए पनि लेबनानमा युद्धको ठूलो असर देखिएको छ । लेबनानको लडाकू समूह हेजबुल्लाहले २ मार्चमा इरानलाई समर्थन गरेको घोषणासहित इजरायलतर्फ मिसाइल, आर्टिलरी तथा बम आक्रमण गरेको थियो । जवाफमा इजरायलले लेबनानमा हवाई तथा स्थल आक्रमणलाई निरन्तरता दिइरहेको छ ।
युद्धले लेबनानका सर्वसाधारण नराम्ररी प्रभावित भएका छन् । राष्ट्रसंघीय शरणार्थी नियोग (यूएनएचसीआर) की लेबनान प्रतिनिधि कारोलिना लिन्डहोल्म बिलिङले युद्धको असर लामो समयसम्म पर्ने बताइन् । ‘मानिसहरू लगातार त्रासमा बाँचिरहेका छन् । यस युद्धको मानसिक असर ठूलो देखिनेवाला छ । विशेषगरी बालबालिका लामो समय प्रभावित हुन सक्छन्,’ उनले भनिन् ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लेबनानको दक्षिणी भूभागमा आफ्नो उपस्थिति बढाउन आइतबार सेनालाई निर्देशन दिएका छन् । ‘मैले भर्खरै सुरक्षा बफर क्षेत्रलाई थप बढाउन निर्देशन दिएको छु । इजरायलको उत्तरी क्षेत्रमा अवस्था परिवर्तन गर्न हामी प्रतिबद्ध छौं,’ आइतबार भिडियो सन्देश जारी गर्दै नेतान्याहुले भने ।
दक्षिण लेबनानमा इजरायली सेना सीमा क्षेत्रबाट ८–१० किलोमिटरभित्र छिरिसकेको छ । सीमा क्षेत्रबाट झन्डै ३० किलोमिटर पर रहेको लिटानी नदीसम्मको भूभाग कब्जामा लिने योजना बनाइएको इजरायली रक्षामन्त्री इजरायल काट्जले बताएका छन् । यी सबै भूभाग हेजबुल्लाहको प्रभाव क्षेत्र हुन् ।
यसअघि बिहीबार विज्ञप्ति जारी गर्दै ह्युमन राइट्स वाचले दक्षिण लेबनानका भूभागबाट स्थानीयलाई खेद्ने इजरायलको रणनीति युद्ध अपराध रहेको जनाएको थियो । इजरायली सेनाले सर्वसाधारणका घर र धेरै पुल ध्वस्त बनाइरहेको यूएनएचसीआरकी प्रतिनिधि लिन्डहोल्म बिलिङले बताइन् । ‘उत्तरी लेबनानसँग जोड्ने पुलहरू इजरायलले लगातार भत्काउँदै छ । यसले धेरै इलाकालाई बाँकी देशबाट एक्ल्याएको छ । मानवीय राहतका सामग्री पुर्र्याउन अवरोध सिर्जना भएको छ,’ उनले भनिन् ।
यसक्रममा इजरायलले अस्पताल, शिक्षण संस्थालगायत सरकारी सम्पत्ति र निजी आवासीय घरहरूलाई पनि निसानामा पारेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कम्तीमा १२ सय जनाले युद्धमा ज्यान गुमाइसकेका छन् । कुल ५८ लाख जनसंख्या रहेको लेबनानमा झन्डै १२ लाख जनसंख्या शरणार्थी बनिसकेको छ । यसमध्ये ३ लाख बालबालिका रहेको सामाजिक संस्था इन्टरनेसनल रेस्क्यु कमिटीले जनाएको छ ।
सामाजिक कार्यकर्ता, उद्धारकर्ता, स्वास्थ्यकर्मी, पत्रकारलगायत आपत्कालीन पेसामा संलग्नहरू पनि इजरायलको निसानामा परेका छन् । इजरायलले प्यालेस्टिनी शरणार्थी बसेका शिविरलाई पनि निसाना बनाइरहेको छ । लेबनानमा झन्डै ५ लाख मानिस भोकमरीको चपेटामा रहेको सामाजिक संस्था एक्सन अगेन्स्ट हंगरले जनाएको छ । यहाँ खानेपानीको चरम समस्या देखिएको उक्त संस्थाले जनाएको छ ।
लेबनानमा गृहयुद्ध चलेको मौकाको फाइदा उठाउँदै इजरायलले दक्षिणतर्फका भूभाग कब्जा गरेपछि त्यसको प्रतिरोधमा १९८२ मा हेजबुल्लाह जन्मिएको थियो । दक्षिण लेबनानबाट इजरायललाई हटाउन हेजबुल्लाहले लामो समय प्रतिरोधको लडाइँ लड्यो । मे २००० मा हेजबुल्लाहकै दबाबका कारण इजरायलले दक्षिण लेबनानका कब्जा गरेका भूभागबाट सैनिक हटायो ।
यस घटनाले हेजबुल्लाहलाई राष्ट्रवादी शक्तिका रूपमा स्थापित गर्यो । तर, हतियार त्याग्न भएका विभिन्न प्रयासमा हेजबुल्लाह सहमत नहुँदा लेबनानका जनताले पटक–पटक संकट व्यहोर्नुपर्यो । पछिल्लो पटक २६ नोभेम्बर २०२४ मा लेबनान सरकार र इजरायलबीच अमेरिकाको मध्यस्थतामा युद्धविराम सम्झौता भएको थियो । सम्झौतामा हेजबुल्लाहसहितका सशस्त्र संगठनहरूले हतियार त्याग्ने र इजरायलले लेबनानका क्षेत्रहरूबाट आफ्नो सेना फर्काउने सहमति बनेको थियो ।
सरकारको यस निर्णयमा हेजबुल्लाह सहमत थियो । तर, सम्झौतालाई इजरायल र हेजबुल्लाह दुवैले पालना गरेनन् । लेबनानका प्रधानमन्त्री नवाज सलेमले उक्त सम्झौता कार्यान्वयनका पक्षमा आफ्नो राष्ट्र अहिले पनि अडिग रहेको बताएका छन् । उनले पश्चिम एसियामा जारी युद्धमा हेजबुल्लाहले इरानप्रति देखाएको समर्थनमा आपत्ति जनाएका छन् । आफ्नो देश पक्ष–विपक्ष नभएर संवादको पक्षमा रहेको उनले बताएका छन् ।
त्यस्तै, प्रधानमन्त्री सलेमले इरानी कूटनीतिज्ञहरूलाई देश छाड्न निर्देशन पनि दिएका छन् । ‘यो हाम्रो युद्ध होइन, हामीलाई जबर्जस्ती यसमा मुछिएको छ । यसले विदेशीको स्वार्थ रक्षा गर्छ, हाम्रो हित गर्दैन,’ सलेमले केही समयअघि भनेका थिए । (एजेन्सीको सहयोगमा)
