इन्धन अभावले चरम संकट भोगिरहेको क्युवामा रुसी तेलको ट्यांकर आइपुगेको छ ।
काठमाडौँ — इन्धन अभावले चरम संकट भोगिरहेको क्युवामा रुसी तेलको ट्यांकर आइपुगेको छ । मंगलबार बिहान ७ लाख ३० हजार ब्यारेल कच्चा तेल बोकेको अनातोली कोलोडकिन जहाज हभानाको पूर्वमा रहेको माटान्जास बन्दरगाहमा रोकिएको हो ।
अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई अपहरण गरेसँगै त्यहाँबाट क्युवामा कच्चा तेल आउन छाडेको छ । अमेरिकाको दबाबमा भेनेजुएलाको अन्तरिम सरकारले तेल पठाउन सकेको छैन ।
त्यस्तै, मेक्सिकोले पनि अमेरिकाको दबाबमा तेल पठाउन सकेको छैन । क्युवामा तेल पठाउने देशमाथि भन्सार शुल्क बढाउने चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका छन् ।
झन्डै १ करोड १० लाख जनसंख्या रहेको क्युवामा यस कच्चा तेलले नौ देखि १० दिनसम्म दैनिक माग धान्नसक्ने विज्ञहरुले बताएका छन् ।
युक्रेनमाथिको आक्रमणलाई लिएर अमेरिका, युरोपेली युनियन र बेलायतले लामो समयदेखि रुसमाथि प्रतिबन्ध लगाइरहेका छन् । रुसले पठाएको तेलको ट्यांकरलाई भने अमेरिकाले रोकेन ।
ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिट्टले मानवीय आधारमा रुसी जहाज क्युवा आउन दिइएको बताइन् । 'रुसमाथिको हाम्रो प्रतिबन्ध नीतिमा कुनै ठोस परिवर्तन भएको छैन,' उनले भनिन् ।
यसअघि इन्धन अभावले क्युवाका धेरैजसो स्थानमा विद्युत कटौती भएको थियो । 'हामीले प्राप्त गरिरहेको सबै सहयोगको लागि रूस सरकार र जनताप्रति हाम्रो आभार छ । यो हामीले सामना गरिरहेको जटिल ऊर्जा अवस्थाको बीचमा आइपुगेको बहुमूल्य ढुवानी हो,' क्युबाका ऊर्जा तथा खानी मन्त्री भिसेन्टे दि लेभीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
क्युवाको कम्युनिष्ट सरकारलाई दबाब दिने लक्ष्यले ट्रम्प प्रशासनले नाकाबन्दी कडा पारेको हो । ट्रम्पले क्युवाको सरकार चाडैं ढल्ने दाबी गरेका थिए ।
