इरानको तेल लिन चाहन्छौं : ट्रम्प

‘सायद हामी खार्ग टापु लिन्छौं, सायद लिँदैनौं । हामीसँग धेरै विकल्पहरू छन्,’ ट्रम्पले फाइनान्सियल टाइम्सलाई भने ।

चैत्र १६, २०८२

कान्तिपुर संवाददाता

We want to buy Iranian oil: Trump

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको तेल लिने इच्छा प्रकट गरेका छन् । त्यस्तै,  खार्ग टापुको निर्यात केन्द्र कब्जा गर्न सक्ने चेतावनी दिएका छन् । 

आइतबार फाइनान्सियल टाइम्सलाई दिएको अन्तर्वार्तामा उनले भेनेजुएला जसरी नै इरानको तेलमा अनिश्चितकालका लागि अमेरिकाले नियन्त्रण जमाउनसक्ने बताए । 

यसअघि जनवरीमा भेनेजुएलाका नेता निकोलास मदूरोलाई अपहरण गरेपछि ट्रम्पले भेनेजुएलामा रहेका तेल खानीहरु अमेरिकाले सञ्चालन गर्ने घोषणा गरेका थिए । उनले तेल व्यापारबाट आएको रकम अमेरिका र भेनेजुएलाले मिलेर उपयोग गर्ने पनि बताएका थिए । 

२८ फेब्रुअरीमा अमेरिका–इजरायलले इरानमा आक्रमण गरेका थिए । जसकारण पछिल्लो एक महिना कच्चा तेलको मुल्य निकै बढेको छ । सोमबार बिहान एसियामा ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल ११६ डलरभन्दा माथि पुगेको छ । 

ट्रम्पले भने, ‘इमानदारीपूर्वक भन्नुपर्दा, मेरो मनपर्ने काम इरानबाट तेल लिनु हो । तर अमेरिकामा रहेका केही मूर्ख मानिसहरू भन्छन्, ‘तपाईं किन त्यसो गर्दै हुनुहुन्छ?’ तर तिनीहरू मूर्ख  हुन् ।’ 

ट्रम्पले पश्चिम एशियामा अमेरिकी सेनालाई बलियो बनाउँदै लगेका छन् । खार्ग टापुमा आक्रमण गर्ने लक्ष्यसहित पेन्टागनले तालिम प्राप्त १०,००० सेनालाई पश्चिम एशियामा तैनाथ गर्ने विषयमा ह्वाइट हाउससँग छलफल गरिरहेको छ । शुक्रबार लगभग ३,५०० सय जल सेना  पश्चिम एशिया पुगेका छन्, जसमा झन्डै २२ सय जलसेना छन् । 

खार्ग टापु इरानको मुख्य तेल निर्यात केन्द्र हो । इरानका तेलखानीबाट यहाँ पाइपलाइनमार्फत तेल ल्याइन्छ र प्रशोधन गरेर विश्वबजारमा पठाइन्छ । इरानले निर्यात गर्ने तेलमध्ये ९० देखि ९५ प्रतिशत तेल यही टापुबाट विश्वबजारमा जान्छ । 

‘सायद हामी खार्ग टापु लिन्छौं, सायद लिँदैनौं । हामीसँग धेरै विकल्पहरू छन्,’ ट्रम्पले फाइनान्सियल टाइम्सलाई भने, ‘हामी केही समयको लागि खार्ग टापुमै बस्नु पर्ने पनि हुनसक्छ ।’

खार्ग टापुलाई अमेरिकाले सहजै कब्जामा लिनसक्ने दाबी पनि उनले गरे । ‘मलाई इरानसँग कुनै सुरक्षा भएजस्तो लाग्दैन । हामी यसलाई धेरै सजिलै लिन सक्छौं,’ उनले भने । 

अमेरिकी आक्रमणमा इरानका तत्कालीन सर्वोच्च नेता आयतुल्लाह अली खोमेनेइ र अन्य धेरै वरिष्ठ अधिकारीहरू मारिएको प्रसङ्ग निकाल्दै उनले इरानमा ‘शासन परिवर्तन’ भइसकेको दाबी गरे । उनले वर्तमान सत्ताका मानिसहरू धेरै व्यवसाहिक रहेको र उनीहरूसँग अमेरिकाले संवाद पनि गरेको दाबी गरे ।

यसअघि पनि ट्रम्पले इरानसँगको वार्ता अन्तिम चरणमा पुगेको दाबी गरेका थिए । जसलाई इरानले खण्डन गरेको थियो । 

ट्रम्पले खोमेनेइका छोरा तथा इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खोमेनेइ मृतक वा गम्भीर घाइते भएको दाबी पनि दोहोर्या‍ए । इरानले यस दाबी खण्डन गर्दै सर्वोच्च नेता सकुशल रहेको जनाएको छ । 

कान्तिपुर

Link copied successfully