इरान आक्रमणमा प्रयोग भएका विमानलाई स्पेनको उडान क्षेत्रमा रोक

इरानमा अमेरिका–इजरायलले आक्रमण गरेदेखि नै स्पेन युद्धको विपक्षमा खडा छ ।

चैत्र १६, २०८२

कान्तिपुर संवाददाता

Planes used in Iran attacks banned from Spanish airspace

काठमाडौँ — स्पेनले इरान आक्रमणमा प्रयोग हुने अमेरिकी सैन्य विमानलाई आफ्नो उडान क्षेत्रमा आउन नदिने निर्णय गरेको छ । एल पाइस पत्रिकाले ब्रेक गरेको यस समाचारलाई सोमबार स्पेनको रक्षा मन्त्रालयले पुष्टि गरेको छ । 

इरानमा अमेरिका–इजरायलले आक्रमण गरेदेखि नै स्पेन युद्धको विपक्षमा खडा छ । यसअघि म्याड्रिडले अमेरिकालाई संयुक्त सैन्य अखडाहरु इरान युद्धमा प्रयोग गर्न नदिने निर्णय गरेको थियो ।

‘हामी इरानमा युद्ध गर्नका लागि न आफ्नो उडान क्षेत्र प्रयोग गर्न दिन्छौं । न त सैन्य अखडा नै,’ स्पेनकी रक्षामन्त्री मार्गारिता रोबल्सले भनिन्, ‘मलाई लाग्छ स्पेनको अडान सबैलाई थाहा छ । यो स्पष्टै छ । यो युद्ध अवैध र अन्यायपूर्ण छ ।’

यस निर्णयपछि बेलायत र युरोपमा अन्य क्षेत्रमा रहेका अमेरिकी सैन्य विमानहरुले पश्चिम एशियामा आक्रमण गर्नका लागि स्पेनको रुट प्रयोग गर्न पाउने छैनन् । 

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले यसअघि नै अमेरिका–इजरायल र इरानलाई युद्ध अन्त्य गर्न माग गरिसकेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनले युद्धमा पर्याप्त सहयोग नगरेको भन्दै आलोचना गरेका थिए । ‘एउटा अवैध कामको प्रतिक्रिया अर्को वैध कामले दिन मिल्दैन । किनकी, मानवताको ठूलो विध्वंश त्यहीबाट सुरु हुन्छ,’ पेड्रोले भनेका छन् ।

यसअघि स्पेनले अमेरिका–स्पेनका संयुक्त सैन्य अखडा प्रयोग गर्न नदिने निर्णय गरेसँगै ट्रम्पले सबै व्यापार सम्बन्ध कटौती गर्ने चेतावनी दिएका थिए । 

कान्तिपुर

Link copied successfully