रिपोर्टर फतिमा र भिडियो पत्रकार मोहम्मद दिदीभाई हुन् । शनिबार दिउँसो उनीहरुको कारमा आक्रमण भएको थियो ।
What you should know
काठमाडौँ — दक्षिण लेबनानमा इजरायलकाे लगातारको आक्रमणका क्रममा मानवीय संकट निम्तिएको छ । यस देशको ५८ लाख जनसंख्यामध्ये झन्डै १२ लाख जनसंख्या बिस्थापित भएको छ ।
२ मार्चयता कम्तिमा १२ सयले ज्यान गुमाइसकेका छन् । स्कुल, सडक पुलजस्ता सार्वजनिक पूर्वाधार र निजी घरहरु निशानामा छन् ।
भूमध्यसागरको तटमा पर्ने लेबनानमा युद्धका कारण मानवीय राहतका सामाग्री पुर्याउन पनि कठिन भइरहेको छ । यहाँ उद्धारमा खटिने स्वास्थ्यकर्मीदेखि सुचना संकलन गर्ने पत्रकारसम्म इजरायलको निशानामा छन् ।
प्रभावित क्षेत्रका मानिसहरुले विद्यालय तथा सार्वजनिक भवनमा आश्रय लिइरहेका छन् । तर यी भवन पनि सुरक्षित छैनन् । गर्भवति महिला र बालबालिकाले पोषणयुक्त खाद्यान्न अभाव भोगिरहेको इन्टरनेशनल रेस्क्यु कमिटीले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अदानोम गेहब्रेयससले स्वास्थ पूर्वाधारमा भइरहेको आक्रमण तत्कालै रोक्नका लागि आइतबार इजरायलसँग आग्रह गरे । शनिबार इजरायलको आक्रमण परेर ९ जना उद्धारकर्ताले लेबनानमा ज्यान गुमाएका थिए ।
त्यस्तै, आइतबार हिजबुल्लाहको एक एम्बुलेन्समा इजरायलले आक्रमण गर्दा थप दुई उद्धारकर्ताको मृत्यु भयो । लेबनानको स्वास्थय मन्त्रालयका अनुसार युद्ध सुरु भएयता यहाँ कम्तिमा ५२ जना स्वास्थ्यकर्मीले ज्यान गुमाइसकेका छन् ।
यहाँ संयुक्त राष्ट्रसंघको शान्ति सेनाका ब्यारेक समेत सुरक्षित छैनन् । आइतबार दक्षिण लेबनानमा इजरायलले प्रहार गरेको प्रोजेक्टाइल लागेर एक इन्डोनेशियाली शान्ति सैनिकको मृत्यु भएको छ । त्यस्तै, तीनजना घाइते भएका छन् । ७ मार्चमा इजरायलको आक्रमणबाट यहाँ घानाका तीन शान्ति सैनिक घाइते भएका थिए ।
इजरायली आक्रमणमा शनिबार तीनजना लेबनानी पत्रकारको मृत्यु भएको थियो । अल मानार टिभीमा कार्यरत अली सोयब तथा अल मायादिन च्यानलमा कार्यरत फतिमा फतोनी र मोहम्मद फतोनीको आक्रमणमा निधन भएको हो ।
आइतबार उनीहरूको अन्त्येस्टीमा ठूलो संख्यामा मानिसहरू भेला भएका छन् । अन्त्येस्टीमा सरिक भएका सर्वसाधारणले लेबनानमा इजरायलले गर्दै आएका मानवताविरोधी हर्कत तत्काल रोक्न माग गरे ।
रिपोर्टर फतिमा र भिडियो पत्रकार मोहम्मद दिदीभाई हुन् । शनिबार दिउँसो उनीहरुको कारमा आक्रमण भएको थियो ।
इजरायली डिफेन्स फोर्स (आइडिएफ) ले अली सोयम र मोहम्मद फतोनी हिजबुल्लाहको सैन्य शाखामा आबद्ध रहेको आरोप लगाएको छ ।
आइडिएफले उनीहरुले पत्रकारको भेषमा काम गरिरहेको आरोप लगाएको छ । तर यस दाबी पुष्टि गर्ने कुनै पनि प्रमाण देखाउन सकेको छैन । त्यस्तै, फतिमाको मृत्युबारे पनि जानकार रहेको बताएको छ ।
संयुक्त राष्ट्रसंघका सहायक प्रवक्ता फर्हान हाकले घटनाको निन्दा गर्दै पत्रकारहरुमाथि निशाना साँध्नु मानिसका आधरभूत अधिकारमाथि निशाना साँध्नु बराबर रहेको बताए ।
‘जब अन्तर्राष्ट्रिय मानवीय कानुनअन्तर्गत सुरक्षित पत्रकार निशानामा पर्छन् । हाम्रो स्वतन्त्रता र सुचना र अभिव्यक्ती अधिकार पनि निशानामा पर्छ,’ उनले भने ।
हिजबुल्लाहले पत्रकारलाई निशाना बनाउने कार्य आपराधिक सोचबाट प्रेरित भएको जनाएको छ । लेबनानका राष्ट्रपति जोसेफ औनले पत्रकारलाई निशाना बनाएर इजरायली फौजले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गेको बताएका छन् । प्रधानमन्त्री नवाज सलेमले पनि घटनाको निन्दा गरेका छन् ।
जारी युद्धका दौरान इजरायलले पत्रकारलाई निशाना बनाएको यो दोस्रोपल्ट हो । यसअघि १८ मार्चमा अल मानार टिभीका प्रस्तोता माहेम्मद सेरी र उनकी पत्नी पनि बेरुतस्थित घरमा सुतिरहेकै अवस्थामा इजरायली आक्रमणबाट मारिएका थिए ।
इजरायलले युद्धका दौरान शरणार्थी शिविरमा पनि आक्रमण गरेको छ । दक्षिण लेबनानको सिडोन शहरस्थित प्यालेस्टिनी शरणार्थी बसेको ऐन अल हिन्वे शिविरमा ८ मार्चमा इजरायलले दुईपटक हवाई आक्रमण गरेको थियो । घटनामा १ शरणार्थी मारिएको र १० जना घाइते भएको लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले जनाएको थियो । घाइते भएकामध्ये तीनजना लेबनानी नागरिक थिए ।
