अमेरिकामा इरान युद्ध र मुल्यवृद्धिको विरोधमा हजारौं जनता सडकमा 

प्रदर्शनमा सहभागीहरूले ‘कुनै राजा छैन, कुनै युद्ध छैन !’ जस्ता नाराहरू घन्काएका थिए

चैत्र १५, २०८२

कान्तिपुर संवाददाता

Thousands of people take to the streets in the US to protest against the Iran war and price increases

काठमाडौँ — अमेरिकामा इरान युद्ध र मुल्यवृद्धिको विरोधमा आयोजना गरिएको प्रदर्शनमा हजारौं जनता सहभागी भएका छन् । सामाजिक अभियान 'नो किङ्ग्स' ले आयोजना गरेको यस विरोध र्‍यालीलाई साथ दिदैं ३ हजार स्थानमा प्रदर्शन भयो । 

सहभागीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन विरोधी नीतिको कडा विरोध गरेका थिए । लस एन्जलस, न्युयोर्क, वासिङटन डिसीलगायत ठूला शहरसँगै साना गाउँहरूमा पनि मानिसले विरोध प्रदर्शन गरे । 

मिनियापोलिसमा दशौं हजार सडकमा 

मिन्नेसोटाको मिनियापोलिस शहरमा भएको र्‍यालीमा सहभागी दशौँ हजार प्रदर्शनकारीहरूले ट्रम्पको कडा आप्रवासन नीतिको विरोध गरे । केही महिनाअघि यहाँ संघीय इग्रिमेशन एजेन्टहरुको विरोधमा प्रदर्शन भएको थियो ।

जनवरीमा एजेन्टहरुले विवादास्पद छापा मार्ने क्रममा गोली चलाउँदा दुई अमेरिकी नागरिक रेनी गुड र एलेक्स प्रिटीको मृत्यु भएको थियो ।  उक्त घटनाले ट्रम्पको आप्रवासन नीति विरुद्ध व्यापक आक्रोश जन्माएको थियो ।

गत वर्षदेखि आम नागरिकको पहलमा सुरु भएको ‘नो किङ्ग्स’ आन्दोलन अन्तर्गत यो तेस्रो ठूलो प्रदर्शन हो, जसले ट्रम्पको नेतृत्व शैली र दक्षिणपन्थी एजेन्डाप्रति असहमति जनाउँदै आएको छ ।

प्रदर्शनमा सहभागीहरूले ‘कुनै राजा छैन, कुनै आइस छैन, कुनै युद्ध छैन !’ जस्ता नाराहरू घन्काएका थिए, जसले आप्रवासन कार्यान्वयन निकाय ‘आइस’ (आइसिई) विरुद्धको असन्तोषलाई समेत प्रस्ट पारेको थियो ।

कार्यक्रमको सांस्कृतिक पक्ष पनि प्रभावशाली देखिएको थियो । चर्चित सङ्गीतकार ब्रुस स्प्रिङ्गस्टीनले छिमेकी सेन्ट पल सहरमा आयोजित कार्यक्रममा प्रस्तुति दिँदै ‘स्ट्रिट्स अफ मिनियापोलिस’ गीतमार्फत मृतक गुड र प्रिटीप्रति श्रद्धाञ्जली व्यक्त गरे । 

र्‍यालीमा सहभागी ७३ वर्षीया पामेला सिन्नेसले आफू सबै मानिसहरूको समान अधिकारको पक्षमा उभिन आएको बताइन् ।

राजनीतिक नेतृत्वले पनि विरोधमा स्वर मिलाएको देखिएको छ । मिनेसोटाका गभर्नर टिम वाल्जले प्रदर्शनकारीहरूलाई धन्यवाद दिँदै ट्रम्पको आलोचना गरेका छन् ।

त्यस्तै, वामपन्थी नेता बर्नी स्यान्डर्सले प्रदर्शनकारीलाई सम्बोधन गर्दै ट्रम्पमाथि संविधान र कानूनी शासनको अवमूल्यन गरेको आरोप  लगाएका छन् । 

कान्तिपुर

Link copied successfully