इरानका ऊर्जा केन्द्रमाथिको आक्रमण थप १० दिन रोक्ने ट्रम्पको घोषणा

यसअघि सोमबार उनले यस विषयमा पाँच दिनको समय दिएका थिए, जुन आज शुक्रबार सकिँदै छ।

चैत्र १३, २०८२

कान्तिपुर संवाददाता

Trump announces 10-day pause on attacks on Iran's energy facilities

काठमाडौँ — अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले इरानका ऊर्जा केन्द्रहरूमा थप १० दिनसम्म कुनै आक्रमण नहुने बताएका छन्।

यसअघि सोमबार उनले यस विषयमा पाँच दिनको समय दिएका थिए, जुन आज शुक्रबार सकिँदै छ।

आफैंले दिएको समयसीमा सकिनुअघि नै उनले सामाजिक सञ्जाल ट्रुथमा इरानको अनुरोधमा उक्त समयसीमा लम्ब्याएको उल्लेख गरेका छन्।

‘इरान सरकारको अनुरोधमा हामीले त्यहाँका ऊर्जा प्लान्टहरूमा केही दिनका लागि आक्रमण स्थगित गरेका छौं,’ ट्रम्पले लेखेका छन्, ‘यो सुविधा अप्रिल ११ तारिख राति १० बजेसम्म लागू रहनेछ।’

उनले इरानसँग वार्ता जारी रहेको दाबी पनि गरेका छन्। ट्रम्पले लेखेका छन्, ‘फेक न्युज मिडियाका दाबीविपरीत हाम्रो वार्ता निकै राम्रो भइरहेको छ।’

यद्यपि इरानले भने यस कुराको खण्डन गर्दै वार्ता आफ्नै सर्तमा हुने दाबी गरेको छ।

यसअघि बिहीबार राति ह्वाइट हाउसमा मन्त्रिपरिषद् बैठकका क्रममा ट्रम्पले इरानबाट प्राप्त एक ‘उपहार’को उल्लेख गरेका थिए।

‘इरानमा सही व्यक्तिहरूसँग हाम्रो राम्रो संवाद भइरहेको छ,’ उनले भनेका थिए, ‘उनीहरूले हामीलाई एउटा उपहार दिएका छन्।’

कान्तिपुर

Link copied successfully