फिलिपिन्समा राष्ट्रिय ऊर्जा संकटकाल घोषणा

फिलिपिन्समा ९८ प्रतिशत इन्धन खाडी क्षेत्रबाट आउने गर्छ ।

चैत्र ११, २०८२

कान्तिपुर संवाददाता

Philippines declares national energy emergency

काठमाडौँ — फिलिपिन्समा राष्ट्रिय ऊर्जा संकटकाल घोषणा भएको छ । अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण ऊर्जा संकटकाल घोषणा गर्ने फिलिपिन्स पहिलो देश हो । 

राष्ट्रपति फर्डिनान्ड मार्केस जुनियरले संकटकाल घोषणा गरेका हुन् । युद्धले हर्मुजको जलघाँटीमा अवरोध देखिँदा विश्व बजारमा इन्धन अभाव तथा मूल्यवृद्धि निम्तिएको छ । पश्चिम एसियाबाट ग्यास तथा कच्चा तेल किन्ने गरेका एसियाली देशहरु विशेष मर्कामा छन् । 

फिलिपिन्समा ९८ प्रतिशत इन्धन खाडी क्षेत्रबाट आउने गर्छ ।२८ फेब्रुअरीमा युद्ध सुरु भएयता निम्तिएको अभावपछि अहिले यहाँ डिजेल र पेट्रोलको भाऊ दोब्बरभन्दा बढी पुगिसकेको छ । जसकारण दैनिक जनजीवनमा ठूलो समस्या देखिएको छ ।

गाडी भाडा बढ्दा उपभोक्ता र इन्धनको चर्को मूल्य बुझाउनुपर्दा यातायत व्यवसायी दुबै चिन्तित छन् । राजधानी मनिलासहित विभिन्न क्षेत्रमा गाडीहरुको संख्या कम हुँदा ठूलो संख्यामा यातायत मजदूर बेरोजगार भएका छन् । इन्धनको मूल्यवृद्धिले खाद्यान्नको मूल्य बढाएको छ ।

अर्कोतर्फ, कृषि उत्पादनका लागि आवश्यक रासायनिक मलको अभाव र मूल्यवृद्धिले  किसान चिन्तित छन् । फिलिपिन्समा यातायत मजदूर, यात्रु र उपभोक्ता समुहहरुले बिहीबारदेखि संयुक्त आन्दोलन गर्ने घोषणा गरेका थिए । 

आन्दोलन सुरु हुनअघि नै मार्कोस सरकारले संकटकाल घोषणा गरेको हो । ऊर्जा स्थिरता सुनिश्चित गर्न र आफ्नो अर्थतन्त्रलाई जोगाउन सरकारले संकटकाल घोषणा गर्नुपरेको राष्ट्रपति मार्कोसले बताएका छन् ।

‘राष्ट्रिय संकटको घोषणाले सरकारलाई विद्यमान कानुनमार्फत संयोजित कार्य गर्न सहयोग गर्नेछ । वैश्विक ऊर्जा आपुर्ति र घरेलु अर्थतन्त्रमा देखिएको अवरोधले सिर्जना गरेका चुनौतीसँग लड्नका लागि यो जरुरी छ,’राष्ट्रपति मार्कोसले भने ।

उनले खाद्यान्न, इन्धन, औषधि तथा कृषि उत्पादनजस्ता आधारभूत आवश्यकताको सहज आपुर्ति मिलाउनका लागि विशेष कमिटी गठन गरिएको बताए । 

एक वर्षसम्म लागु हुने संकटकालले सरकारी अधिकारीहरुलाई आवश्यक स्रोत सहज रुपमा परिचालन गर्न, इन्धनको रकम पूर्व भुक्तानी गर्न, वितरण गर्न र समुदायमा राहत पुर्‍याउन सहज बनाउने विश्वास सरकारको छ । 

यसअघि मंगलबार ऊर्जा मनत्री सारोन गारिनले देशसँग ४५ दिनका लागि आवश्यक तेल भण्डारण रहेको बताएकी थिइन् ।

गारिनले आफ्नो भण्डारण बढाउनका लागि सरकारले दक्षिणपूर्वी एशिया वा बाहिरका देशबाट १० लाख ब्यारेल तेल किन्ने प्रक्रिया अघि बढाइरहेको बताएका थिए ।

त्यसैगरी, २५ दिनमा लागि पुग्ने एलपीजी (खाना पकाउने ग्यास) भण्डारण रहेको उनले बताएकी थिइन् । फिलिपिन्समा एलपीजी ग्यासको मुल्यवृद्धिले पनि उपभोक्ता मारमा छन् । 

त्यसैगरी, एलएनजी ग्यासँको अभावका कारण यहाँ झन्डै ६० प्रतिशत विद्युत उत्पादनका लागि कोइलाकै भर पर्नुपर्ने अवस्था निम्तिएको पनि उनले बताइन् ।  

कान्तिपुर

Link copied successfully