२४ घण्टाभित्र झन्डै १ हजार रुसी ड्रोनले गरे युक्रेनमा आक्रमण

आक्रमणले मृत्यु र घाइते हुनेको संख्या बिस्तृतमा सार्वजनिक भइसकेको छैन ।

चैत्र ११, २०८२

कान्तिपुर संवाददाता

Nearly 1,000 Russian drones attacked Ukraine in 24 hours

काठमाडौँ — रुसले युक्रेनमाथि विगत २४ घण्टाभित्र झन्डै एक हजार ड्रोन प्रहार गरेको छ । रुस–युक्रेन युद्ध सुरु भएयताका चार वर्षमा भएका सबैभन्दा भीषण आक्रमणमध्ये यो एक हो । 

युक्रेनी सेनाका अनुसार यसमध्ये झन्डै ५ सय ५० ड्रोन दिउँसोकै समय प्रहार गरिएको थियो । युद्धमा दिनदहाडै यस्तो आक्रमण विरलै हुने गर्छ । 

आक्रमणले मृत्यु र घाइते हुनेको संख्या बिस्तृतमा सार्वजनिक भइसकेको छैन । कम्तिमा देशमा ५ बालबालिकासहित ४० जना घाइते भएको युक्रेनका राष्ट्रपति भोलोदमेर जेलेन्स्कीले बताएका छन् ।

पश्चिम युक्रेनको इभानो फ्रान्किभ्स्कमा कम्तिमा दुई जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । एकजना नेशनल गार्ड सैनिक र उनकी १५ वर्षीय छोरीको निधन भएको इभानो फ्रान्किभ्स्कका मेयर रुस्लान मार्टसिन्किभले बताए ।

६ वर्षका एक बालकसहित ४ अन्य घाइते भएका छन् । भिन्नेत्स्यिामा ५९ वर्ष पुरुष मारिएका छन् भने ११ जना अन्य घाइते भएका छन् ।

‘युक्रेनमा दिनको समय भएका ठूला आक्रमणमध्ये यो एक हो,’ युक्रेनी वायु सेनाका प्रवक्ता युरीइग्नातले भने । लभिभमा कम्तिमा २२ जना घाइते भएका छन् ।  

कान्तिपुर

Link copied successfully