अमेरिकालाई इरानी सेनाका प्रवक्ताको जवाफ, ‘तिम्रो हारलाई सम्झौता नभन’

‘हाम्रो अडान पहिलो दिनदेखि नै स्पष्ट छ । हामीजस्ता कसैले तिमीजस्तासँग मेलमिलाप गर्नेछैनौं, न अहिले , न कहिल्यै,’ जोल्फागारीले भने ।

चैत्र ११, २०८२

कान्तिपुर संवाददाता

Iranian military spokesman's response to America: 'Don't call your defeat a compromise'

काठमाडौँ — इरानी  सेना (खातम अल अन्विया) को मुख्यालयका प्रवक्ता ब्रिगेडियर जनरल इब्राहिम जोल्फागारीले युद्धमा अमेरिका रणनीतिक रूपमा पराजित भएको बताएका छन् । 

‘तिमीले प्रवद्र्धन गरेको रणनीतिक शक्ति रणनीतिक हारमा बदलिएको छ,’ जोल्फागारीले भने,‘यदी स्वघोषित विश्व महाशक्तिले आफ्नो कठिनाईबाट भाग्नसक्छ भने त्यो अहिलेसम्म भइसकेको छ । तिम्रो हारलाई सम्झौता नभन । तिम्रो रित्तो प्रतिवद्धताको युग समाप्त भइसकेको छ ।’

उनले अहिलेको विश्वमा सही र गलतगरी दुईवटा पक्ष अस्तित्वमा रहेको दाबी गरे । ‘के तिम्रो आन्तरिक द्वन्द्व अब  आफैंसँग सम्झौता गर्नुपर्ने अवस्थामा आइपुगेको छ ?’ उनले प्रश्न गरे । 

पश्चिम एसियामा  विगतमा अमेरिकाले अघि सारेका लगानी योजना, पहिलेको ऊर्जा र तेलको मुल्य संरचना अब पुरानै अवस्थामा नफर्कने दाबी उनले गरे । ‘इरानको सैन्य सामथ्र्यले मात्रै क्षेत्रीय स्थिरता ल्याउनसक्छ भनेर विदेशी शक्तिहरुले स्विकार नगरेसम्म यस्तो अवस्था आउँदैन । स्थिरता शक्तिमार्फत आउँछ,’ उनले भने । 

उनले थपे, ‘हामीले अनुमति नदिएसम्म कुनै पनि परिस्थिति पहिलेको अवस्थामा फर्कदैंन । इरानी जनताविरुद्ध कुनै कदम चाल्ने विषय पूर्णत: तिम्रो दिमागबाट हटेपछि मात्रै यस्तो अवस्था बन्छ ।’

उनले इरान आफ्नो योजनामा स्पष्ट रहेको बताए । ‘हाम्रो अडान पहिलो दिनदेखि नै स्पष्ट छ । हामीजस्ता कसैले तिमीजस्तासँग मेलमिलाप गर्नेछैनौं, न अहिले , न कहिल्यै,’ उनले भने । 

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग फलदायी संवाद भइरहेको बताएका थिए । उनले युद्ध अन्त्यनजिक पुगिसकेको दाबी गरेका थिए । युद्ध अन्त्यका लागि अमेरिकाले पाकिस्तानमार्फत इरानलाई १५ बुँदे प्रस्ताव पनि पठाइसकेको छ ।

कान्तिपुर

Link copied successfully