अमेरिकाले पाकिस्तानमार्फत इरानलाई अमेरिकाको १५ बुँदे वार्ता प्रस्ताव पठाएको थियो ।
काठमाडौँ — इरानले अमेरिकाको १५ बुँदे वार्ता प्रस्ताव अस्विकार गरेको छ । अमेरिकाले पाकिस्तानमार्फत वार्ताका लागि प्रस्ताव पठाएको थियो ।
सार्वजनिक भइनसकेको यस प्रस्तावमा इरानले आफ्नो आणविक पूर्वाधार हटाउनुपर्ने र त्यसबापत अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाइने विषय उल्लेख रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले रिपोर्ट गरेका छन् ।
इरानको राष्ट्रिय प्रशारक प्रेस टिभीले एक वरिष्ठ राजनीतिक सुरक्षा अधिकारीलाई उद्रृत गर्दै यो प्रस्ताव अस्विकृत भएको बताएको छ ।
प्रेस टिभीले ती व्यक्तिको पद र नाम भने खुलाएको छैन । तर, ती अधिकारीले भनेका छन्, 'इरानले आफ्ना शर्त पूरा भएपछि युद्ध अन्त्य गर्ने निर्णय गर्छ ।'
प्रेस टिभीका अनुसार ती अधिकारीले युद्ध अन्त्यका ५ वटा शर्त अघि सारेका छन् । जसमा 'शत्रु पक्ष'बाट 'आक्रमण र हत्या' पूर्णत बन्द हुनुपर्ने, इस्लामिक गणतन्त्रमाथि फेरि आक्रमण नहुने सुनिश्चितता प्रदान गर्नका लागि ठोस संयन्त्र स्थापना हुनुपर्ने, युद्धको क्षतिपुर्ति रकम पाउनुपर्ने, सबै मोर्चामा युद्ध अन्त्य हुनुपर्ने र हर्मुजको जलघाँटीमा इरानले सार्वभौम अधिकार अभ्यास गर्न पाउनेगरी अन्तर्राष्ट्रिय मान्यता र सुनिश्चितता हुनुपर्ने समावेश छ ।
यसअघि इजरायलका अर्थमन्त्री निर बार्कटले बीबीसीसँग कुराकानी गर्दै अमेरिकाले अघि सारेको योजना कागजमा सुन्दर देखिएपनि इरानले यसमा सहमति जनाउने संभावना कम रहेको बताएका थिए ।
'इरानी सत्ता परिवर्तन हुनेवाला छैन,' उनले भनेका थिए, 'युद्धमा इजरायलको मुख्य लक्ष्य इरानलाई आणविक हतियार, मिसाइल र छद्म समुहरहित बनाउनु हो ।'
