लेबनानको सरकारले युद्धमा औपचारिक रुपमा कसैको पक्षधरता लिएको छैन ।
काठमाडौँ — लेबनानमा इजरायलको आक्रमणले अहिलेसम्म एक हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । जसमा १ सय १८ जनाभन्दा धेरै बालबालिका रहेको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
१० लाखभन्दा धेरै मानिस हिजबुल्लाह–इजरायल युद्धले बिस्थापित भइसकेका छन् । इन्टरनेशनल रेस्क्यु कमिटी (आईआरसी) का अनुसार बिस्थापित हुनेमध्ये ३ लाखजना बालबालिका छन् ।
गर्भवति महिला र बालबालिकाले पोषणयुक्त खाद्यान्नको अभाव भोगिरहेको पनि आईआरसीले जनाएको छ । सयौं विद्यालय तथा सार्वजनिक भवन आपतकालीन आश्रयस्थलमा परिणत भएका छन् । मानिसहरु कार र सडकमै सुतिरहेका छन् ।
हर्मुजको जलघाँटी तथा पश्चिम एसियामा हवाई सेवामा देखिएको अवरोधले विभिन्न देशमा राहत सामाग्री पुर्याउन पनि अफ्टेरो भइरहेको आइआरसीले जनाएको छ । ‘उदाहरणका लागि सुडानमा लैजान खोजिएको १३ लाख डलर बराबरको आधारभूत औषधि दुबईमै अलपत्र परेको छ,’ आइआरसीको विज्ञप्तिमा उल्लेख छ ।
आइआरसीले लेबनानमा घुम्ती स्वास्थ्य सेवा, औषधी वितरण, ब्ल्यांकेट, आधारभूत तथा पोषणयुक्त खाद्यान्न सामाग्री, शैक्षिक सामाग्री तथा बिस्थापित परिवारलाई मनोवैज्ञानिक परामर्श दिने काम गर्दै आएको छ ।
सिरिया तथा प्यालेस्टाइनको द्वन्द्वले बिस्थापित भएर लेबनानमा आइपुगेका शरणार्थी परिवारको अवस्था थप नाजुक रहेको आइआरसीले जनाएको छ । लेबनानमै कार्यरत अर्को सामाजिक संस्था एक्सन फर हंगरले बिस्थापित परिवारले खानेपानीको संकट व्यहारिरहेको जनाएको छ ।
लेबनानको सरकारले युद्धमा औपचारिक रुपमा कसैको पक्षधरता लिएको छैन । लेबनानका प्रधानमन्त्री नवाफ सलेमले यो द्वन्द्व लेबनानको राष्ट्रिय हितविपरीत रहेको बताएका छन् । ‘यो हामीले रोजेको द्वन्द्व होइन । हामी मुछिएका हौं । यसले विदेशीका एजेन्डालाई सघाउँछ, हाम्रो हित गर्दैन,’ सलेमले अल अरेबियासँगको अन्तर्वार्तामा भनेका छन् । उनले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) को इशारामा हिजबुल्लाहले काम गरिरहेको बताएका छन् ।
लेबनानको सरकारले यसै महिना आइआरजीसीका सबै गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । त्यस्तै, हिजबुल्लाहलाई आफ्ना सबै हतियार राज्यलाई उपलब्ध गराउन निर्देशन दिएको थियो । तर, यसका बाबजुद हिजबुल्लाहले सरकारीको निर्णय टेरेको छैन । संवादमार्फत द्वन्द्वको समाधान खोज्न लेबनानले गर्दै आएको आग्रहलाई पनि कसैले सुनेको छैन ।
२८ फेब्रुअरीमा इरानमाथि आक्रमण भएलगत्तै हिजबुल्लाहले अमेरिका–इजरायलको कडा निन्दा गरेको थियो । २ मार्चमा हिजबुल्लाहले अमेरिका–इजरायलको आक्रमणमा मारिएका इरानका सर्वोच्च नेता आयतुल्लाह खोमेनेइको मृत्युको बदला लिने घोषणा गर्यो, अनि इजरायलमा मिसाइल प्रहार गर्यो । जवाफमा, इजरायलले लगातार लेबनानमा आक्रमण गरिरहेको छ ।
दक्षिणका बेरुत र बेका उपत्यकामा युद्धको प्रत्यक्ष असर देखिएको छ । गृहयुद्धले पहिल्यै गरिबीमा धकेलेको लेबनानमा आर्थिक संकट थप बढेको छ ।
देशको झन्डै ८० प्रतिशत जनसंख्या गरिबीमा छ । स्वास्थ्य, विद्युत र शिक्षामा सर्वसाधारणको पहुँच घटिरहेको छ । इजरायलले एकपछि अर्को आक्रमण गरेर पूर्वाधारहरु ध्वस्त गरिरहेको छ । स्वास्थ्य तथा शैक्षिक केन्द्र क्षतिग्रस्त छन् । हिजबुल्लाहले पनि इजरायलमा दर्जनौं मिसाइल दागेको छ । दुबै पक्षले तत्कालै युद्ध अन्त्य गर्ने कुनै इच्छा देखाएका छैनन् ।
इजरायलले यस युद्धमा हिजबुल्लाहलाई तहस–नहस पारेर आफ्नो उत्तरी सीमा क्षेत्रमा सुरक्षा चुनौती समाप्त गर्ने लक्ष्य राखेको छ । हिजबुल्लाहले यो संकटलाई आफ्नो अस्तित्वको संघर्षका रुपमा हेरेको छ । जेसुकै नतिजा आएपनि यहाँ जनधनको ठूलो भइसकेको छ ।
अक्टुबर २०२४ मा इजरायल र लेबनानबीच भएको युद्धविराम सम्झौतामा हिजबुल्लाहलाई क्रमशः निसस्त्र गर्दै लैजाने उल्लेख थियो । लेबनानका प्रधानमन्त्री सलेमले उक्त सम्झौतामा अहिले पनि सरकार अडिग रहेको बताए । अमेरिकाको मध्यस्थतामा भएको उक्त सम्झौताले हिजबुल्लाह–इजरायलबीचको १५ महिना युद्धलाई पनि रोकेको थियो ।
युद्धविरामपछि लामो समय हिजबुल्लाह चुपचाप नै रह्यो । जुन २०२५ मा इजरायल र इरानबीच १२ दिन युद्ध चल्दा पनि हिजबुल्लाहले कसैको पक्षधरता लिएको थिएन । जसकारण, धेरैले इजरायलसँगको १५ दिने युद्धले यो संगठन निकै कमजोर भएको अनुमान गरे । तर २ मार्चमा फेरि इरानलाई साथ दिने हिजबुल्लाहको निर्णयले लेबनानमा अर्को संकट निम्तिएको छ । यसले लेबनानका जनता पनि आक्रोशित छन् ।
बेरुतस्थित म्याक्लोम एच केर कार्निजी मिडिल इस्ट सेन्टरका अध्येता मोहनाद हेग अली हिजबुल्लाहको दृष्टीकोणबाट हेर्दा यो युद्ध जरुरी रहेको बताउँछन् ।
‘इरानले अस्तित्वको संकट व्यहोरिरहेको थियो र हिजबुल्लालाई इरानी सत्ताले नै लगानी तथा प्रशिक्षण गर्दै आएको छ । इरान ध्वस्त हुनुको अर्थ परियोजनाका रुपमा हिजबुल्लाह बन्द हुनु हो,’ अलीले भने, ‘अर्कोतर्फ हिजबुल्लाह लडाइँमा प्रवेश नगरेको भएपनि इजरायलले ढिलो वा चाडों आक्रमण गर्ने नै थियो । त्यहीकारण हिजबुल्लाहको दृष्टीकोणबाट हेर्दा इजरायलले आफ्नो प्रमुख दातामाथि नै आक्रमण गर्दा सहेर बस्ने कुरै थिएन । उसको दृष्टीकोणबाट पहिले दातालाई सहयोग गर्ने र प्याकेजमै युद्धविराम सम्झौता गर्ने निर्णय बढी प्रभावकारी हो ।’
लेबनानमा तैनाथ संयुक्त राष्ट्रसंघका शान्ति सैनिकले इजरायली सेनाहरु छिरिरहेको प्रत्यक्ष देखेका छन् ।
लेबनानस्थित शान्ति सेनाकी प्रवक्ता क्यान्डिस आर्डियलले भनिन्, ‘शान्ति सैनिकहरूले सीमा क्षेत्रनजिकै लेबनानी भूभागमा कम्तीमा आधा दर्जन स्थानमा इजरायली सैनिक देखेका छन् । ओदाइसेह र खियाम गाउँ वरपर झडप सुनेका छौं । केही स्थानमा सीमाक्षेत्रबाट लेबनानको भूमीमा ५ किलोमिटर भित्रसम्म इजरायली सैनिक छिरेका छन् । तर स्थायी रुपमा भने बसेका छैनन् ।’
इजरायली सेनाका एक अधिकारीले एशोसियन प्रेस (एपी) सँग आफ्ना सैनिक लेबनानको सीमावर्ती क्षेत्रमा केन्द्रीत रहेको स्विकारेका छन् । ‘ सीमानजिकका इजरायली समुदायलाई सुरक्षा दिनका लागि यस्तो रक्षात्मक काम गरिएको हो,’ नाम नछाप्ने शर्तमा उनले भने, ‘भविष्यमा ठूलो आक्रमण र बिस्तार पनि हुनसक्छ ।’
लेबनानी सेना लडाइँमा संलग्न छैन, तर गत मंगलबार इजरायलको हवाई आक्रमणमा तीनजना लेबनानी सैनिक मारिएका छन् । यस विषय अनुसन्धान भइरहेको इजरायली सेनाले जनाएको छ ।
लेबनान र सिरियाको सीमा क्षेत्रमा पनि तनाव देखिएको छ । यसअघि हिजबुल्लाहले आफ्नो देशमा ताकेर आर्टिलरी प्रहार गरेको आरोप सिरियाले लगाएको थियो । तर हिजबुल्लाहले यसलाई अस्विकार गरेको छ ।
इजरायलको प्रतिरोधमा जन्मिएको थियो हिजबुल्लाह
प्यालेस्टाइनको स्वतन्त्रताको लडाइँमा १९६० को दशकको अन्त्यतिर सशस्त्र समुहहरुले लेबनानलाई आफ्नो आधार इलाका बनाउन थाले । उनीहरुले यहाँबाट इजरायलमा आक्रमण गर्थें । सशस्त्र समूहहरु नियन्त्रणमा लिनका लागि लेबनान सरकारले आवश्यक कदम चाल्न नसकेको आरोप इजरायलले लगायो ।
१९७५ मा गृहयुद्ध सुरु भएपछि लेबनानमा अराजकता थप बढ्यो । मार्च १९७८ मा गृहयुद्ध चलिरहेकै समय इजरायलले दक्षिण लेबनानका केही क्षेत्र कब्जामा लियो । त्यहाँ प्यालेस्टिनी सशस्त्र समुहहरुलाई अघि बढ्न नदिने नीति इजरायलको थियो । तर, सशस्त्र समुहलाई रोक्न इजरायल सफल भएन । १९८२ मा थप कडा रुपमा प्रस्तुत भएर उसले बेरुतसम्मकै भूभाग कब्जा गर्यो । यही वर्ष इजरायलको बिस्तारवादी नीतिको प्रतिरोध गर्न हिजबुल्लाह स्थापना भयो ।
१८ वर्षसम्म दक्षिण लेबनान इजरायलको कब्जामा छँदा हिजबुल्लाहले निरन्तर प्रतिरोध गरिरह्यो । यस संगठनलाई इरानले सहयोग गरिरहेको थियो । अन्ततः मेइ २००० मा इजरायलले दक्षिण लेबनानबाट सैनिक हटायो ।
जुलाई २००६ मा हिजबुल्लाहले इजरायलभित्रै छिरेर ८ जना इजरायली सैनिक मार्यो । थप दुई जनालाई अपहरण गरेर लेबनानमा लगियो । यसपछि इजरायलले निकै ठूलो आक्रमण गर्यो ।
तर ३४ दिनसम्म चलेको यो युद्धमा पनि हिजबुल्लाह हारेन । इजरायलविरुद्धको प्रतिरोध सामथ्र्यले उल्टै उसको लोकप्रियता बढाइदियो । संयुक्त राष्ट्रसंघको मध्यस्थतामा इजरायलसँगको युद्ध अन्त्य भयो । तर हिजबुल्लाहलाई निशस्त्र गर्ने सहमति बनेपनि कार्यान्वयन हुन सकेन ।
हिजबुल्लाहको राजनीतिक शक्ति बिस्तारै बढ्दै थियो । डिसेम्बर २००६ मा बेरुतमा हिजबुल्लाह समर्थित विशाल र्याली आयोजना भयो । जसमा ८ लाखभन्दा धेरै मासिन सहभागी थिए । यसले र्यालीले लेबनानलाई विदेशीको हस्तक्षेपबाट मुक्त गर्नका लागि राष्ट्रिय सहमतिको सरकार बनाउन माग गर्यो । विपक्षीका ठूलो दबाबपछि सन् २००८ मा प्रधानमन्त्री फौवाद सिनिओराले मन्त्रीमण्डल बिस्तार गरेर ३० मध्ये ११ मन्त्रालय विपक्षीलाई दिए । हिजबुल्लाहको भागमा दुई मन्त्रालय पर्यो ।
सन् २०१० मा बसर अल असदको सरकारविरुद्ध सिरियामा प्रदर्शन सुरु भएपछि हिजबुल्लाहले असदको सत्तालाई सघायो । यसक्रममा ईस्लामिक स्टेटविरुद्ध पनि हिजबुल्लाहका लडाकुहरुले लडेका थिए ।
