बेलायतका स्वास्थ्य मन्त्री वेस स्ट्रिटिङले सामाजिक सञ्जाल एक्समार्फत् घटनालाई घृणित आक्रमणको संज्ञा दिएका छन् ।
काठमाडौँ — लन्डनको गोल्डर्स ग्रीनस्थित यहूदी स्वयंसेवक संस्था हात्जोलाका चारवटा एम्बुलेन्समा मध्यराति आगजनी भएको छ ।
यस आगजनीलाई ‘यहूदीविरोधी घृणाजन्य अपराध’ का रूपमा छानबिन गरिने बेलायती प्रहरीले जनाएको छ । घटनामा कोही घाइते छैनन् ।
गोल्डर्स ग्रीनको हाईफिल्ड रोडमा पार्क गरिएका चार एम्बुलेन्समा सोमबार बिहान करिब १:४० बजे आगजनी भएको थियो । लन्डन फायर ब्रिगेडले एम्बुलेन्समा लागेको आगो निभाउने क्रममा भित्र यसभित्रका ग्यास सिलिन्डर पड्किएर सीसा फुटेको जनाएको छ ।
आगो नियन्त्रणका लागि ६ वटा दमकल र झण्डै ४० जना अग्निनियन्त्रक खटाइएको थियो । यस घटनापछि महानरीय प्रहरीले आसपासका घर खाली गराउँदै झन्डै ३० जनालाई सुरक्षित आश्रयस्थलमा सारिएको बताइएको छ ।
प्रहरीले सार्वजनिक गरेको सीसीटीभी फुटेजमा तीन जना शंकास्पद व्यक्ति एम्बुलेन्सतर्फ हिँड्दै गएको र त्यसपछि आगो लगाएको देखिन्छ । तर अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् ।
बेलायतका स्वास्थ्य मन्त्री वेस स्ट्रिटिङले सामाजिक सञ्जाल एक्समार्फत् घटनालाई घृणित आक्रमणको संज्ञा दिएका छन् ।
'सौभाग्यवश कसैलाई चोट नलागेको देखिन्छ, हामी सबैले मिलेर यहूदीविरोधी घृणाविरुद्ध उभिनुपर्छ,' स्ट्रिटिङले भनेका छन् ।
सन् २०२१ को जनगणनाअनुसार बेलायतका इङल्यान्ड र वेल्समा झन्डै ३ लाख यहूदी बस्छन् ।
गत वर्ष अक्टुबरमा म्यानचेस्टरमा दुई जना यहूदी धर्मालम्बीमाथि कारमा छुरा प्रहार भएको थियो ।
घटनापछि प्रधानमन्त्री केर स्टार्मरले यहूदीमाथिको घृणा फेरि एकपटक बढ्न थालेको भन्दै बेलायती समाज यसविरुद्ध उभिनुपर्ने बताएका थिए ।
