इरानसँग फलदायी वार्ता भएको ट्रम्पको घोषणापछि कच्चा तेलको भाउ घट्यो

इरानको अर्ध सरकारी मेहर न्युज एजेन्सीले विदेश मन्त्रालयका अधिकारीहरुलाई उद्रृत गर्दै अमेरिकासँग कुनै प्रत्यक्ष वा अप्रत्यक्ष संवाद नभएको जनाएको छ ।

चैत्र ९, २०८२

कान्तिपुर संवाददाता

Crude oil prices fall after Trump announces fruitful talks with Iran

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पश्चिम एसियामा जारी द्वन्द्वको पूर्ण समाधान निकाल्नेगरी इरानसँग निकै राम्रो वार्ता भएको दाबी गरेसँगै कच्चा तेलको भाउ घटेको छ । 

यसअघि आइतबार बढेर उच्चतम १ सय ११ डलर प्रतिब्यारेलसम्म पुगेको ब्रेन्ट क्रुडको मुल्य सोमबार ट्रम्पको घोषणापछि घटेर न्युनतम बिन्दूमा ९५ डलर प्रतिब्यारेलमा कारोबार भयो ।अमेरिका र युरोपमा शेयरको भाउ बढेको छ ।

‘मध्यपूर्वमा जारी द्वन्द्वबारे पूर्ण समाधान निकाल्नेगरी अमेरिका र इरानबीच पछिल्ला दुई दिनमा निकै राम्रो र फलदायी संवाद भएको खबर गर्न पाउँदा मलाई निकै खुसी लागेको छ,’ ट्रम्पले सोमबार सामाजिक सञ्जाल ट्रुथमा लेखेका छन् ।  उनले आगामी ५ दिनसम्म इरानका ऊर्जा पूर्वाधारमा कुनै आक्रमण नगर्न अमेरिकी सेनालाई निर्देशन दिएका छन् ।

इरानको अर्ध सरकारी मेहर न्युज एजेन्सीले विदेश मन्त्रालयका अधिकारीहरुलाई उद्रृत गर्दै अमेरिकासँग कुनै प्रत्यक्ष वा अप्रत्यक्ष संवाद नभएको जनाएको छ ।

शनिबार डोनाल्ड ट्रम्पले हर्मुजको जलघाँटी ४८ घण्टाभित्र खोल्नका लागि इरानलाई चेतावनी दिएका थिए । हर्मुजमा अवरोध जारी रहे इरानका ऊर्जा पूर्वाधारमा आक्रमण गरिने उनको चेतावनी थियो । उक्त समयसीमा सकिएपछि ट्रम्प सामाजिक सञ्जाल ट्रुथमार्फत इरानसँग फलदायी वार्ता भएको दाबी गरेका हुन् । 

युरोपेली युनियनकी विदेश मामिला प्रमुख काजा काल्लासले इरानका ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने ट्रम्पको घोषणाको स्वागत गरेकी छिन् ।

यसअघि बेलायतका प्रधानमन्त्री केर स्टार्मरले बेलायतका लागि इरान खतरा नरहेको बताएका थिए । उनले युद्धको अन्त्य गर्न र हर्मुजको जलघाँटी खुलाउन आव्हान गरेका थिए । 

यसअघि सोमबार इरानमा ठूलो आक्रमण गरिएको दाबी इजरायलले गरेको छ । तेहरानको मध्य, दक्षिणी र पूर्वी भागमा शक्तिशाली बिस्फोट सुनिएको छ ।

तेहरानबाट पश्चिमतर्फ रहेको काराज शहरमा हवाई आक्रमणपछि धुवाँको मुस्लो देखिएको छ । इरानको एक रेडियो स्टेशनमा अमेरिका–इजरायलले आक्रमण गर्दा एकजनाको मृत्यु भएको मेहर न्युज एजेन्सीले जनाएको छ । 

उत्तरपश्चिम इरानस्थित उर्मिया शहरमा हवाई आक्रमणले आवासिय भवन भत्किएको छ । उद्धारकर्ताहरुले भग्नावशेषमा पुरिएका मानिसहरुलाई खोजिरहेका छन् ।

इरानको कोम प्रान्तस्थित शहरमा टर्बाइन इन्धन उत्पादन केन्द्रमा आक्रमण गरिएको अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले जनाएको छ ।  

इरानले साउदी अरेबियाको राजधानी रियादलाई लक्षित गरेर दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको साउदीको रक्षा मन्त्रालयले जनाएको छ ।

युएइको अल सावामेख क्षेत्रमा हवाई प्रतिरक्षा प्रणालीले प्रतिरोध गरेको क्षेप्यास्त्र क्षतिग्रस्त रुपमा खस्दा एकजना भारतीय नागरिक सामान्य घाइते भएका छन् ।

कतारको जलक्षेत्रमा आइतबार हेलिकोप्टर दुर्घटना हुँदा ७ जना मारिएका थिए । यो हेलिकप्टर प्राविधिक गडबढीले दुर्घटनामा परेको रक्षा मन्त्रालयले जनाएको छ ।

मृतकमध्ये चारजना कतारी सेनाका जवान हुन् । त्यस्तै, तीनजना टर्कीका नागरिक हुन् । 

मध्य इजरायल र जेरुसलेममा पनि इरानले प्रत्याक्रमण गरेको छ । यसअघि शनिबार अरद र डिमोना शहरमा भएको आक्रमणमा घाइते हुनेको संख्या १ सय ८० पुगेको छ । 

लेबनानमा इजरायलले २ मार्चयता गरेको आक्रमणमा १ सय २९ जना घाइते भएको लेबनानी स्वास्थ मन्त्रालयले जनाएको छ । इराकमा अहिलेसम्म कम्तिमा ६० जनाले ज्यान गुमाइसकेका छन् ।

कान्तिपुर

Link copied successfully