अमेरिका-इरान युद्धको २३औं दिन, के-के भयो ?

आगामी ४८ घण्टाभित्र इरानले हर्मुजको जलघाँटी खुला नगरे उसका विभिन्‍न ऊर्जा पूर्वाधार ध्वस्त गर्नेछौं : ट्रम्प

चैत्र ८, २०८२

कान्तिपुर संवाददाता

What happened on the 23rd day of the US-Iran war?

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा पूर्वाधार ध्वस्त गरिदिने चेतावनी दिएका छन् । युद्ध सुरु भएको २३ औं दिनमा उनले भने,‘ आगामी ४८ घण्टाभित्र इरानले हर्मुजको जलघाँटी खुला नगरे उसका विभिन्‍न ऊर्जा पूर्वाधार ध्वस्त गर्नेछौं,’ उनले सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेखे ।

आइतबार इजरायलले तेहरानमा भीषण आक्रमण गरेको छ । शहरको पूर्वी क्षेत्रमा बिस्फोटका आवाज सुनिएका छन् । 

इरानको सेनाले आफ्ना ऊर्जा केन्द्रमाथि आक्रमण भएमा पश्चिम एशियामा रहेका अमेरिका र इजरायलसँग सम्बन्धित सबै ऊर्जा पूर्वाधार ध्वस्त गरिने चेतावनी दिएको छ ।

इरानको आणविक ऊर्जा संगठनले शनिबार राति अमेरिका र इजरायलले नातान्जस्थित आणविक केन्द्रमा गरेको आक्रमणले ठूलो क्षति नपुगेको जनाएको छ ।  आक्रमणबाट कुनै रेडियशन लिक नभएको ऊर्जा संगठनले जनाएको छ । 

यसअघि इरानले शनिबार राति इजरायलका अरद र डिमोना शहरमा भीषण आक्रमण गरेको थियो । 

यी शहर इजरालयको आणविक केन्द्रनजिकै छन् । सैनिक अखडालाई लक्षित गरेर मिसाइल प्रहार गर्दा यहाँ झन्डै २ सयजना घाइते भएको इरानले दाबी गरेको छ । इजरायलले १ सयजना घाइते भएको र कसैको मृत्यु नभएको जनाएको छ ।

यहाँ प्रहार गरिएका प्रोजेक्टाइल्सहरुलाई रोक्न इजरायली प्रतिरक्षा प्रणाली असफल भएको थियो । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले शनिबार रातलाई आफ्नो देशको ‘निकै कठिन साँझ’ भने ।

'हाम्रो भविष्यका लागि चलिरहेको यस अभियानमा आजको रात निकै कठिन छ,' उनले शनिबार सामाजिक सञ्जालमा लेखेका थिए, 'मैले मेरो कार्यालयका महानिर्देशकलाई सबै सरकारी मन्त्रालयसँग समन्वय गरेर आवश्यक सबै सहायता उपलब्ध गराउन निर्देशन दिएको छु।'

२८ फेब्रुअरीमा युद्ध सुरु भएयता इरानले इजरायलमा ४ सयभन्दा धेरै ब्यालेस्टिक मिसाइल प्रहार गरेको र यसमध्ये ९२ प्रतिशतलाई प्रतिरोध गरिएको इजरायली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल नादाभ शोशानीले बताए । ‘हाम्रो अवरोध दर करिब ९२ प्रतिशत सफल रहेको छ । यो उच्च सफलता हो,’ उनले भने ।

इरानका राष्ट्रपति मसुद पेजेश्कियनले इरानमाथिको आक्रमण रोक्नका लागि स्वतन्त्र भूमिका खेल्न ब्रिक्स गठबन्धनलाई आग्रह गरेका छन् । अहिले भारतले ब्रिक्सको अध्यक्षता गरिरहेको छ । उनले पश्चिम एसियाली देशहरुबीच क्षेत्रीय सुरक्षा आधारणा तयार गर्न पनि प्रस्ताव गरेका छन् ।

इरानको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म इजरायल–अमेरिकाको आक्रमणमा १५ सयभन्दा धेरै इरानी मारिएको जनाएको छ । त्यस्तै २० हजारभन्दा धेरै घाइते भएको, ७ वटा अस्पताल तथा ३६ वटा एम्बुलेन्स क्षतिग्रत भएको जानकारी दिएको छ । 

साउदी अरेबियाले आफ्नो देशमा इरानले लगातार ड्रोन आक्रमण गरिरहेको जनाएको छ । शनिबार राति झन्डै ६० वटा ड्रोन इरानबाट प्रहार भएको साउदीले जनाएको छ ।

त्यस्तै रियाद प्रान्ततर्फ तीनवटा ब्यालेस्टिक मिसाइल प्रहार भएको साउदीका अधिकारीहरुले बताएका छन् । त्यसमध्ये एउटा मिसाइल प्रतिरोध गरिएको र बाँकी दुई मानिस नबस्ने ठाउँमा खसेको साउदीले जनाएको छ । 

साउदीले २४ घण्टाभित्र सबै इरानी कूटनीतिक कर्मचारी, सैन्य कर्मचारीलगायतलाई देश छाड्न निर्देशन दिएको छ । यसअघि गत बुधबार कतारले यस्तै घोषणा गरेको थियो । बहराइनमा अमेरिकी सैन्य अखडामा इरानले मिसाइल प्रहार गरेको छ । 

युएइ, बहराइन, बेलायत, फ्रान्स र जर्मनीले संयुक्त विज्ञप्ति निकाल्दै हर्मुजको जलघाँटीमा इरानले व्यवसाहिक जहाज र सार्वजनिक पूर्वाधारमा गरेको आक्रमणको निन्दा गरेका छन् ।

विज्ञप्तिमा इरानले यस जलघाँटीमा धम्की, बम बिछ्याउने कार्य र ड्रोन तथा मिसाइल आक्रमण तत्कालै बन्द गर्नुपर्ने उल्लेख छ । बेलायतले हिन्द महासागरस्थित डिएगो गार्सिया टापुमा रहेको अमेरिका–बेलायत संयुक्त सैन्य अखडामा इरानले ब्यालेस्टिक मिसाइल प्रहार गरेको आरोप लगाएको छ ।

यो क्षेत्र इरानबाट झन्डै ४ हजार किलोमिटर पर छ । बेलायतले इरानविरुद्धको लडाइँमा यस सैन्य अखडालाई रक्षात्मक प्रयोजनका लागि अमेरिकालाई प्रयोग गर्न दिएको थियो ।

एक वरिष्ठ इरानी अधिकारीले डिएगो गार्सियामा भएको आक्रमणमा इरानको संलग्नता नरहेको दाबी गरेका छन् । 

कान्तिपुर

Link copied successfully