लेबनानमा हिजबुल्लाह कमान्डर मारिएको इजरायलको दाबी

युद्ध सुरू भएयता इजरायलमा इरानद्वारा ४ सयभन्दा धेरै ब्यालेस्टिक मिसाइल प्रहार

चैत्र ८, २०८२

कान्तिपुर संवाददाता

Israel claims Hezbollah commander killed in Lebanon

काठमाडौँ — इजरायलले हिजबुल्लाहको रदवान फोर्सका कमाण्डर अबु खालिल बार्जीसहित तीन वरिष्ठ नेता मारिएको जनाएको छ । लेबनानको मज्दाल सेलेम क्षेत्रमा गरिएको आक्रमणका दौरान उनीहरु मारिएको इजरायली सेनाले जनाएको हो । 

 इजरायलको आक्रमणबाट अहिलेसम्म एक हजारभन्दा धेरै मानिस मारिएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसमा एक सयभन्दा धेरै बालबालिका पनि परेको मन्त्रालयले जनाएको छ ।  अमेरिका–इजरायल र इरानबीचको युद्धमा हिजबुल्लाहले इरानलाई सहयोग गर्दै आएको छ । त्यस्तै, इजरायलले हिजबुल्लाहका आधार क्षेत्रहरूमा लगातार आक्रमण गर्दै आइरहेको छ । 

युद्ध सुरु भएयता इरानले इजरायलमा ४ सयभन्दा धेरै ब्यालेस्टिक मिसाइल प्रहार गरेको र यसमध्ये ९२ प्रतिशतलाई प्रतिरोध गरिएको इजरायली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल नादाभ शोशानीले बताए । ‘हाम्रो अवरोध दर करिब ९२ प्रतिशत सफल रहेको छ । यो उच्च सफलता हो,’ उनले भने ।

शनिबार दक्षिण इजरायलका अरद र डिमोना शहरमा इरानले मिसाइल आक्रमण गरेको थियो । यी शहर इजरालयको आणविक केन्द्रनजिकै छन् । 

इरानी मिसाइलका कारण यहाँ झन्डै २ सयजना घाइते भएको बेलायती सञ्चारमाध्यम गार्डियनमा प्रकाशित समाचारमा उल्लेख छ ।

यहाँ प्रहार गरिएका प्रोजेक्टाइल्सहरुलाई रोक्न इजरायली प्रतिरक्षा प्रणाली असफल भएको थियो ।इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले अरदका मेयरसँग कुराकानी गर्दै यसलाई ‘निकै कठिन साँझ’ भनेका छन्।

'हाम्रो भविष्यका लागि चलिरहेको यस अभियानमा आजको रात निकै कठिन छ,' उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'मैले मेरो कार्यालयका महानिर्देशकलाई सबै सरकारी मन्त्रालयसँग समन्वय गरेर आवश्यक सबै सहायता उपलब्ध गराउन निर्देशन दिएको छु।'

नेतन्याहूले इजरायलले सबै मोर्चामा आफ्ना दुश्मनविरुद्ध लडाइँ जारी राख्ने पनि बताएका छन्।

कान्तिपुर

Link copied successfully