यस मार्गले विश्वको करिब २० प्रतिशत तेल र ग्यास आपूर्ति धानेको छ, जसले यसको रणनीतिक महत्व झल्काउँछ। यस क्षेत्रको अवरोधले विश्वभर तेल र ग्यासको अभाव बढाएको छ र मूल्य आकासिएको छ।
What you should know
काठमाडौँ — अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेर त्यहाँका सर्वोच्च नेता आयतोल्लाह अलि खामेनेईलगायत उच्च नेतृत्वको हत्या गरेपछि खाडी क्षेत्र युद्धको रणमैदान बन्ने जोखिम बढेको छ।
फेब्रुअरी २८ देखि सुरु भएको आक्रमण र प्रत्याक्रमणको शृंखला बढ्दै गएर विश्वको तेल र ग्यास ढुवानीका लागि अत्यन्त महत्वपूर्ण मार्ग मानिएको ‘स्ट्रेट अफ हर्मुज’सम्म पुगेको छ।
आफूमाथि आक्रमण भएपछि इरानले यो जलमार्ग हुँदै चल्ने पानीजहाजमाथि हमला गर्दा यो मार्ग ठप्पप्रायः बनेको छ। इरानले आफ्ना केही सुभेच्छुक देशका जहाजलाई भने उक्त मार्ग प्रयोग गर्न दिएको छ। यद्यपि, इरानले यस मार्ग हुँदै चल्ने जहाजले आफ्नो अनुमति लिनुपर्ने र अनुमति पाएकाहरूलाई सहज रूपमा चल्न दिने जनाएको छ।
इरानको यस्तो भनाइ भए पनि युद्धको त्रासका कारण यस क्षेत्रमा चल्ने जहाजको संख्या व्यापक रूपमा घटेको छ। बीबीसीका अनुसार, यसअघि दैनिक १३८ जहाज आवतजावत गर्ने गरेकोमा युद्ध सुरु भएयता करिब १०० जहाज मात्र उक्त क्षेत्र पार गरेका छन्।
खाडीको युद्ध पूर्ण रूपमा नरोकिन्जेल यस क्षेत्रको आवागमन सहज नहुने देखिन्छ। इरानका नयाँ सर्वोच्च नेता मोज्ताबा खामेनेईले हर्मुज क्षेत्रको अवरोध कायम राख्ने बताएका छन्। उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ४८ घण्टाभित्र यो मार्ग विनाधम्की खुला नगरे इरानका ऊर्जा केन्द्रहरू पूर्ण रूपमा नष्ट गर्ने चेतावनी दिएका छन्।
यस मार्गले विश्वको करिब २० प्रतिशत तेल र ग्यास आपूर्ति धानेको छ, जसले यसको रणनीतिक महत्व झल्काउँछ। यस क्षेत्रको अवरोधले विश्वभर तेल र ग्यासको अभाव बढाएको छ र मूल्य आकासिएको छ।
खाडी क्षेत्रको युद्ध कहिले रोकिन्छ भन्ने अनिश्चित भएकाले यस मार्गको विकल्प खोज्ने चर्चा भइरहेको छ। तर, अन्य विकल्प प्रयोग गरेर हर्मुज जलमार्ग बन्द हुँदा हुने क्षतिलाई कत्तिको कम गर्न सकिन्छ?
विशेषगरी कुवेत, कतार, बहराइन र इराकको दक्षिणी क्षेत्रको तेल ढुवानीका लागि हर्मुजको विकल्प आवश्यक देखिन्छ।
विकल्प एक : यान्बु पाइपलाइन
यो साउदी अरेबियाको पूर्व–पश्चिम पाइपलाइन हो, जुन रेड सी बन्दरगाहसँग जोडिएको छ। करिब १,२०० किलोमिटर लामो यो पाइपलाइनले दैनिक ७० लाख ब्यारेल तेल बोक्न सक्ने भनिए पनि व्यवहारमा ३०–४० लाख ब्यारेल मात्र ढुवानी गर्न सक्छ। साथै, यो मुख्यतः साउदी अराम्कोले मात्र प्रयोग गर्न सक्छ। पछिल्लो समय हुती समूहको आक्रमणका कारण यो पनि जोखिमपूर्ण मानिएको छ।
विकल्प दुई : फुजैराह पाइपलाइन
यूएईको फुजैराह पाइपलाइन करिब ४०० किलोमिटर लामो छ, जसबाट दैनिक १७ लाख ब्यारेल तेल ढुवानी गर्न सकिन्छ। तर, यसले विश्व बजारको मागको करिब १।७ प्रतिशत मात्र आपूर्ति गर्न सक्छ र यो पनि यूएईकै तेलका लागि सीमित छ।
विकल्प तीन : किरकुक–चेहान पाइपलाइन
यो इराकको उत्तरी क्षेत्रमा रहेको करिब १,६५० किलोमिटर लामो पाइपलाइन हो, जुन टर्कीको बन्दरगाहसँग जोडिएको छ। हाल यो पूर्ण रूपमा सञ्चालनमा छैन, तर सञ्चालनमा आएमा दैनिक १० लाख ब्यारेल तेल ढुवानी गर्न सकिन्छ।
विकल्प पाँच: ग्वादर बन्दरगाह
पाकिस्तानको ग्वादर बन्दरगाहबाट जहाज आवतजावत गर्न सकिए पनि यो खाडीका तेल क्षेत्रसँग पाइपलाइनमार्फत जोडिएको छैन। त्यसैले यसलाई प्रत्यक्ष विकल्प मान्न सकिँदैन।
निष्कर्ष
ठूलो मात्रामा तेल र ग्यास सुरक्षित रूपमा ढुवानी गर्नका लागि पानीजहाज र पाइपलाइन मुख्य विकल्प हुन्।माथि उल्लेखित सबै विकल्प पूर्ण रूपमा प्रयोग गरे पनि दैनिक ६०–८० लाख ब्यारेल मात्र आपूर्ति गर्न सकिन्छ। तर, हर्मुज मार्ग हुँदै दैनिक करिब २ करोड ब्यारेल तेल ढुवानी हुन्छ।
आपूर्तिको परिमाणका आधारमा हेर्दा, सबै विकल्प प्रयोग गर्दा पनि हर्मुजमार्गबाट हुने ढुवानीको आधाभन्दा कम मात्र पूर्ति गर्न सकिन्छ। त्यसैले हालको अवस्थामा स्ट्रेट अफ हर्मुजको कुनै भरपर्दो विकल्प देखिँदैन।
