कुवेतको तेलखानीमा इरानको आक्रमण

दैनिक झन्डै ७३‍० हजार ब्यारेल तेल प्रशोधन गर्ने सो प्लान्टका केही युनिट आक्रमणपछि बन्द भएको कुवेत पेट्रोलियम कम्पनीले जनाएको छ ।

चैत्र ६, २०८२

कान्तिपुर संवाददाता

Iran attacks Kuwait oil fields

काठमाडौँ — इरानले कुवेतको तेलखानीमा लगातार दोस्रो दिन आक्रमण गरेको छ । शुक्रबार बिहान मिनाअल अहमदी तेलखानीमा इरानले ड्रोन आक्रमण गर्दा ठूलो क्षति पुगेको कुवेतका अधिकारीहरुले बताएका छन् । 

उनीहरुले धेरै युनिटहरूमा आगो लागेको बताए । यसअघि बिहीबार पनि यहाँ इरानले ड्रोन आक्रमण गरेको थियो ।

दैनिक झन्डै ७३‍० हजार ब्यारेल तेल प्रशोधन गर्ने सो प्लान्टका केही युनिट आक्रमणपछि बन्द भएको कुवेत पेट्रोलियम कम्पनीले जनाएको छ । घटनामा कुनै मानवीय क्षति भने भएको छैन । 

उता, इजरायलले पनि शुक्रबार तेहरानमा आक्रमण गरेको छ । इजरायलको आक्रमणका कारण इरानी नयाँ वर्ष ( शुक्रबार ) खल्लो भयो । 

इरानले यसअघि बिहीबार पश्चिम एसियाका विभिन्‍न तेल तथा ग्यास खानीमा आक्रमण सुरु गरेको थियो । 

त्यसक्रममा विश्‍वकै ठूलो ग्यास निर्यात केन्द्र कतारको रास लाफान औद्योगिक क्षेत्रमा इरानले मिसाइल प्रहार गेको छ ।  कतार एनर्जीका प्रमुख साद अल–काबीले रास लाफानमा ठूलो क्षति पुगेको बताएका छन् ।

उनले यसको मर्मतका लागि तीनदेखि पाँच वर्ष लाग्‍ने बताए । अहिलेको विनाशले पश्चिम एसिया क्षेत्रलाई १० देखि २० वर्षसम्म पछाडि धकेल्नसक्ने टिप्पणी उनले गरे । 

इरानी विदेशमन्त्री अब्बास अराघचीले पश्चिम एसियाका पूर्वाधारमाथि अहिलेसम्म इरानले आफ्नो क्षमताअनुसार निकै थोरैमात्र प्रहार गरेको दाबी गरे । उनले  इरानी ऊर्जा संरचनामाथि फेरि आक्रमण भए “शून्य संयमता” अपनाउने चेतावनी दिएका छन्। 

यसअघि बुधबार इजरायलले इरानको दक्षिण पार्स ग्यास फिल्डमा आक्रमण गरेको थियो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उक्त आक्रमण इजरायल एक्लैले गरेको दाबी गरे ।

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहमा ऊर्जा पूर्वाधारमाथि थप आक्रमण नगर्ने पनि बताएका छन्। ट्रम्पले दक्षिण पार्समा भएको आक्रमणमा अमेरिका संलग्न नरहेको बताउँदै आएका छन् । 

कान्तिपुर

Link copied successfully