कतारका तेल पूर्वाधारमा आक्रमण नगर्न इरानलाई ट्रम्पको चेतावनी

बुधबार ब्रेन्ट क्रुडको मूल्य ८ प्रतिशतसम्म बढेर प्रति ब्यारेल १११.९० डलरसम्म पुगेको थियो ।

चैत्र ५, २०८२

कान्तिपुर संवाददाता

Trump warns Iran not to attack Qatar's oil infrastructure

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारका उर्जा पूर्वाधारमाथि आक्रमण नगर्न इरानलाई चेतावनी दिएका छन् । उनले कतारका पूर्वाधारमा आक्रमण भए इरानका कुनै पनि उर्जा पूर्वाधार बाँकी नरहने चेतावनी दिए । 

यसअघि बुधबार इरानको मिसाइल आक्रमण्बाट कतारको रास लाफन औद्योगिक क्षेत्रमा ठूलो क्षति पुगेको थियो । रास लाफन क्षेत्र एलएनजी ग्यासँको संसारकै ठूलो निर्यात क्षेत्र हो । इरान युद्ध सुरु भएदेखि नै यहाँ अस्थायी रुपमा उत्पादन बन्द गरिएको थियो । 

इरानले प्रहार गरेका पाँचमध्ये चारवटा मिसाइल प्रतिरोध  गरिएपनि एउटा मिसाइल औद्योगिक क्षेत्रमा लागेको थियो । 

बुधबार साउदी र युएइका उर्जा पूर्वाधारमा पनि इरानले आक्रमण गरेको थियो । बिहीबार बिहान रास लाफानमाथि भएको अर्को आक्रमणले आगलागी गरायो, जसलाई नियन्त्रणमा लिन प्रयत्न भइरहेको कतारी अधिकारीहरूले बताएका छन् । 

यसअघि इजरायलले इरानको विशाल साउथ पार्स ग्यास फिल्डमाथि आक्रमण गरेको थियो । जसले कच्चा तेल र प्राकृतिक ग्यासको मूल्य उकालो बढाएको छ । 

बुधबार ब्रेन्ट क्रुडको मूल्य (कच्चा तेल) ८ प्रतिशतसम्म बढेर प्रति ब्यारेल १११.९० डलरसम्म पुगेको थियो ।

अमेरिका–इजरायल इरान युद्ध २० औं दिनमा चलिरहदाँ मध्यपूर्वमा त्यसको असर विश्वव्यापी देखिएको छ ।

सुरुवाती दिनमा दुबै पक्षले एकअर्काका सैन्य ठेगानामा आक्रमण गरेका थिए । तर पछिल्ला दिनहरुमा उर्जा पूर्वाधार निशानामा छन् । 

मध्यपूर्व द्वन्द्वले विश्वव्यापी रुपमा इन्धनको भाउ बढेको छ । एसियाली बजारमा इन्धन अभाव देखिएको छ ।

इरानले हर्मुजको जलघाँटीमा अवरोध गर्दा वैश्विक खपतको झन्डै २० प्रतिशत तेल बाहिरिन पाएको छैन । हर्मुज आसपासका बन्दरगाहमा ठूलो संख्यामा विभिन्न देशका तेलका ट्यांकर अलपत्र छन् । 

कान्तिपुर

Link copied successfully