संसारको २० प्रतिशत ग्यास निर्यात केन्द्रमा आक्रमण, के होला असर ?

इरान युद्ध सुरु भएदेखि नै यस क्षेत्रमा अस्थायी रुपमा उत्पादन बन्द थियो ।

चैत्र ५, २०८२

कान्तिपुर संवाददाता

An attack on 20 percent of the world's gas export hub, what will be the impact?

काठमाडौँ — कतारको रास लाफानमा इरानले आक्रमण गरेपछि उर्जा संकट थप बढ्नसक्ने जोखिम देखिएको छ । यहाँ बुधबार इरानले प्रहार गरेका ५ मध्ये एउटा मिसाइलले ठूलो क्षति गराएको छ । बाँकी चार मिसाइल भने कतारले प्रतिरोध गरेको थियो ।

इरान युद्ध सुरु भएदेखि नै यस क्षेत्रमा अस्थायी रुपमा उत्पादन बन्द थियो । तर, अहिलेको क्षतिले उत्पादनमा ठूलो असर गर्ने र विश्वव्यापी रुपमा इन्धनको भाउ बढाउनसक्ने विश्लेषकहरुले बताएका छन् । यहाँ आक्रमण भएलगत्तै इन्धन बजार अस्थिर बनेको छ । 

बुधबार अन्तर्राष्ट्रिय मापदण्डको कच्चा तेल ब्रेन्ट क्रुडको भाउ बढेर उच्चबिन्दूमा  १ सय ११ अमेरिकी डलर प्रति ब्यारेलसम्म पुगेको थियो । 

'भारतले आफ्नो आवश्यकताको ५० प्रतिशत ग्यास अन्तर्राष्ट्रिय बजारबाट आयात गर्छ । यसमध्ये झन्डै ४० प्रतिशत एलएनजी कतारबाट आउँछ,’ उर्जा अर्थशास्त्री किरिट पारिखले एनडिटिभीसँग भने,‘भारतले आफ्नो ग्यास खपत घटाउनुपर्छ । विशेषगरी औद्योगिक क्षेत्र र त्यसमा पनि उर्जा क्षेत्रको उत्पादन क्षमता घट्नेछ ।'

रास लाफान पर्सियन खाडीको किनारमा रहेको औद्योगिक शहर हो ।राजधानी दोहाबाट झन्डै ८० किलोमिटर पर रास लाफान औद्योगिक केन्द्र छ । यहाँबाट निस्किएका जहाजहरु हर्मुजको जलघाँटी हुँदै विश्वबजारमा पुग्छन् । 

यस औद्योगिक क्षेत्रलाई  सरकारी स्वामित्वको कतार इनर्जीले सञ्चालन गर्छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराका अनुसार यो विश्वकै सबैभन्दा महत्वपूर्ण लिक्विफाइड प्राकृतिक ग्याँस (एलएनजी) केन्द्र हो ।

यहाँ प्रशोधन, ढुवानी र भण्डारका लागि पूर्वाधार बनाइएका छन् । अमेरिकापछि कतार एलएनजी ग्याँसको दोस्रो ठूलो निर्यातकर्ता हो ।

विश्वको कुल खपतको झन्डै २० प्रतिशत एलएनजी ग्याँस कतारमा उत्पादन हुन्छ । औद्योगिक उपभोग, बिजुली, घरेलु ग्याँस र ट्रक–जहाजजस्ता सवारी साधनमा एलएनजी प्रयोग हुने गर्छ । 

कतारमा लगभग सबै एलएनजी ग्यास पहिले रास लाफानमा ल्याएर प्रशोधन गरिन्छ । त्यसपछि जहाजमार्फत विश्व बजारमा वितरण हुन्छ । 

युद्ध सुरु भएयता मार्चको सुरुवातदेखि नै यहाँ एलएनजी र अन्य उत्पादन अस्थायी रुपमा रोकिएको थियो । हर्मुजको जलघाँटीमा इरानले अवरोध गरेकाले कतारबाट तेल तथा ग्यास बाहिरिन समस्या छ । त्यहीकारण, यहाँ उत्पादन कटौती गर्नुपरेको थियो ।

जापान, दक्षिण कोरिया, पाकिस्तान, बंगलादेश, भारतलगायत देशमा यहाँबाट एलएनजी ग्यास जाने गरेको छ । यसबाहेक युरोप तथा अफ्रिकासम्म पनि यहाँबाट ग्यास पुग्छ । 

हर्मुजमा अवरोध भएदेखि नै पाकिस्तान, बंगलादेश, भारत, श्रीलंकालगायत देशमा एलएनजी ग्यासको अभाव चरम छ । यस आक्रमणले इन्धन संकट तथा मूल्यवृद्धिको जोखिम बढाएको छ । 

रास लाफान औद्योगिक क्षेत्रमा युरिया तथा एमोनिया रसायनिक मल पनि उत्पादन हुन्छ । माइक्रोचिप्स बनाउनका लागि आवश्यक पर्ने सल्फर र हिलियमजस्ता ग्यास पनि यहाँ उत्पादन हुन्छ ।

यहाँबाट विश्वको हिलियम उत्पादनको २५ प्रतिशत आपुर्ति हुने गरेको कतार इनर्जीले जनाएको छ । 

कान्तिपुर

Link copied successfully