यसअघि बुधबार इरानले कतार, युएई र साउदी अरेबियाका तेल तथा ग्याँस पूर्वाधारमा आक्रमण गरेको थियो ।
काठमाडौँ — अमेरिका–इजरायल र इरानबीचको युद्ध २० औं दिनमा जारी छ । पछिल्लो समय दुबै पक्षले एकअर्काका उर्जा पूर्वाधारमा निशाना बनाइरहेका छन् ।
यसअघि बुधबार इरानले कतार, युएई र साउदी अरेबियाका तेल तथा ग्याँस पूर्वाधारमा आक्रमण गरेको थियो । विश्वकै ठूलो एलएनजी ग्याँस निर्यात क्षेत्र रास लाफनमा इरानले प्रहार गरेका ५ मध्ये एउटा मिसाइलले ठूलो क्षति गराएको छ ।
बाँकी चार मिसाइल भने कतारले प्रतिरोध गरेको थियो । इरान युद्ध सुरु भएदेखि नै यस क्षेत्रमा अस्थायी रुपमा उत्पादन बन्द थियो । तर, अहिलेको क्षतिले उत्पादनमा ठूलो असर गर्ने र विश्वव्यापी रुपमा ग्याँसको भाउ बढाउनसक्ने आशंका गरिएको छ । युएइ र साउदी अरेबियाले इरानबाट आएका मिसाइल प्रतिरोध गरेर खसालिएको दाबी गरेका छन् ।
पश्चिम एसियाका उर्जा पूर्वाधारमा आक्रमण भएको केही घण्टाभित्रै इजरायलले इरानको दक्षिण पार्स ग्याँस फिल्डमा आक्रमण गरेको छ । यो विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्याँसको भण्डार हो ।
पछिल्ला दुई दिनभित्र इजरायलले इरानका तीन शीर्ष अधिकारीसहित धेरै वरिष्ठ नेताहरुको हत्या गरेको छ । जसमा सुरक्षा परिषद्का सचिव अलि लारीजानी, बासिज फोर्सका कमाण्डर घोलामरेजा सुलेमानी र गुप्तचर मन्त्री इस्माइल खातिब समावेश छन् । त्यस्तै,लेवानानमा पनि ठूलो परिमाणमा आक्रमण गरेको छ ।
इरानका सर्वोच्च नेता मोज्ताबा खामेनेइले इजरायलले यसको ठूलो मूल्य चुकाउनुपर्ने चतावनी दिएका छन् ।
यसैबीच कतारले ‘पर्सना नन ग्राटा’ घोषणा गर्दै इरानका कुटनीतिज्ञ र सुरक्षा सम्बन्धी प्रतिनिधिहरूलाई २४ घण्टाभित्र देश छोड्न गरेको छ । त्यसैगरी, साउदी अरेबियाले आफ्ना देशमा थप आक्रमण भए प्रत्याक्रमण गरिने जनाएको छ ।
अन्तर्राष्ट्रिय प्रभाव
यस युद्धले विश्व तेल–ग्यास बजारमा अस्थिरता सिर्जना गरेको छ । इरानले हर्मुजको जलघाँटीमा अवरोध कायम राख्दा विश्व बजारमा इन्धनमो मूल्यवृद्धि र संकट एकसाथ देखिएको छ ।
पश्चिम एशियाली देशबाट विश्वबजारमा पुग्ने ग्याँस तथा तेलका लागि हर्मुज जलघाँटी सबैभन्दा ठूलो रुट हो । यस रुट हुँदै वैश्विक खपतको २० प्रतिशत कच्चा तेल बाहिरिन्छ । तर, अहिले ठूलो संख्यामा विभिन्न देशका ट्याकंर हर्मुज आसपासका क्षेत्रमा रोकिएका छन् ।
विश्वबजारमा मूल्यवृद्धि भएर अन्तर्राष्ट्रिय मापदण्डको कच्चा तेल (ब्रेन्ट क्रुड) १०८ डलर प्रतिब्यारेल पुगेको छ । जबकी, युद्ध सुरु हुनभन्दा अघिल्लो दिन ब्रेन्ट क्रुडको मूल्य ७२ डलर आसपास थियो । ग्याँसको भाउ पनि बढेको छ ।
पश्चिम एसियामा तेलका लागि निर्भर श्रीलंका, बंगलादेश, पाकिस्तानलगायत देशमा इन्धन संकट निम्तिएर विश्वविद्यालय तथा विद्यालय बन्द गरिएको छ, इन्धन खपतका लागि सरकारी छुट्टी बढाइएको छ । भारतमा रुसी तेलका कारण डिजेल तथा पेट्रोलको संकट छैन । तर मूल्य बढेको छ । यहाँ ग्याँसको संकट भने ठूलो छ ।
हर्मुजको जलघाँटीमा अवरोध कायम रहिरहे कच्चा तेलको मूल्य २ सय डलर पार हुनसक्ने विश्लेषकहरुले बताएका छन् । ‘ ब्रेन्ट क्रुड वा वेस्ट टेक्सासको मूल्य तत्कालै २ सय नपुग्ला , तर ओमान र दुबईको बेन्चमार्क क्रुडले अहिल्यै १ सय ५० को थ्रेसहोल्ड पार गरिसकेको छ । २ सय पुग्नेजस्तो देखिदैंछ,’ तेल बजारको विश्लेषण गर्ने संस्था बान्डा इन्साइटकी वन्दना हरिले भने, ‘हर्मुज कहिलेसम्म बन्द हुन्छ भन्ने विषयले यहाँबाट तेलको भाउ कति उकालो लाग्छ भन्ने निर्धारण गर्छ ।’
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मजको जलघाँटी खुलाउनका लागि आफ्नो युद्धजहाज पठाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका थिए ।
तर, कसैले पनि उनलाई साथ दिएनन् । यस युद्धमा साथ नदिएको गुनासो उनले नाटो सदस्य राष्ट्रहरुसँग गरेका छन् ।
इरानले केही देशका जहाजलाई भने हर्मुज हुँदै बाहिर निस्कन दिएको छ । भारत, पाकिस्तान, टर्की र चीनका केही जहाजलाई इरानले यहाँबाट निस्कन दिएको हो । तर, युद्ध जारी रहेकाले अधिकांश तेलका ट्यांकरले हर्मुज आसपासको बन्दरगाहबाट निस्कने जोखिम लिएका छैनन् ।
