पश्चिम एसियाबाट किन फर्कियो जेराल्ड फोर्ड ?

७५ विमान र ४५ सय सैनिक अट्ने अमेरिकी युद्धपोत आगलागीले क्षतिग्रस्त ।

चैत्र ४, २०८२

कान्तिपुर संवाददाता

Why did Gerald Ford return from West Asia?

काठमाडौँ — विश्वको सबैभन्दा ठूलो आर्माडा (विमानवाहक युद्धपोत युएसएस जेराल्ड आर फोर्ड) पश्चिम एसियाबाट ग्रिसको क्रेटे टापुस्थित सोडा बन्दरगाहतर्फ हिंडेको छ ।

इरान-अमेरिका युद्ध जारी रहँदा यो युद्धपोत रेड सीबाट बाहिरिएको हो । मर्मतका लागि जहाजलाई अस्थायी रूपमा युद्ध क्षेत्रबाट फर्काइएको अमेरिकी सैनिक स्रोतलाई उद्रृत गर्दै  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

अमेरिकी सेनाले अस्थायी रूपमा यो युद्धपोत बाहिरिएको र पुन: फर्कने जनाएको छ । ट्रम्पले इरानमाथि दबाब सिर्जना गर्नका लागि यस जहाजलाई क्यारेबियन क्षेत्रबाट रेड सी जान आदेश दिएका थिए ।

गत बिहीबार जहाजमा आगलागी भएपछि यसलाई फर्काउने निर्णय गरिएको हो । यस जहाजमा लागेको आगो झन्डै ३० घण्टापछि नियन्त्रणमा आएको थियो । 

जहाजमा कार्यरत २ सैनिक आगलागीपछि घाइते भएका छन् । झन्डै २ सय सैनिकहरूमा धुवाँले सामान्य स्वास्थ्य समस्या देखिएको थियो । उनीहरुको उपचार भइसकेको छ । 

आगलागी हुनअघिसम्म यसमा झन्डै ४५ सय सैनिक सवार थिए । झन्डै ६ सय सैनिकहरुको बेडमा आगो फैलिएको थियो ।

न्युयोर्क टाइम्सले यस घटनाबारे सबैभन्दा पहिले रिपोर्टिङ गरेको थियो । तर पेन्टागनका अधिकारीहरुले सुरुमा यसलाई ढाकछेप गर्न खोजेका थिए ।  अमेरिकी सेनाले जहाजमा खासै क्षति नपुगेको र हवाई स्पेस पूर्णत: सञ्चालन योग्य रहेको दाबी गरेको थियो । 

अन्तत: प्राविधिक गडबडीले यस जहाजमा आगो लागेको र यस विषयमा अनुसन्धान भइरहेको अमेरिकी सेनाले जनाएको छ । सेनाका अनुसार लन्ड्री स्पेसबाट सुरू भएको आगो अन्यत्र फैलिएको सेनाले जनाएको छ ।

१ लाख टन वजन र ११ सय फिट लामो युएसएस जेराल्ड युद्धपोत विश्वकै सबैभन्दा ठूलो समुद्री युद्धपोत हो ।  यसको निर्माण प्रक्रिया ११ अगस्ट २००५ मा सुरु भएको थियो । ३१ मेइ २०१७ मा अमेरिकी जलसेनालाई औपचारिक रुपमा हस्तान्तरण गरिएको थियो ।

यो विश्वकै महँगो जहाज पनि हो । यसको निर्माणमा १३ दशमलव ३ बिलियन अमेरिकी डलर खर्च भएको थियो । 

यसमा ७५ वटा अत्याधुनिक युद्ध विमान अटाउँछन् । गत अक्टुबरको अन्त्यमा यसलाई पूर्वी भूमध्यसागरबाट क्यारेबियन सागरमा पठाइएको थियो ।

मध्य-नोभेम्बरमा क्यारेबिन सागरमा यो जहाजलाई तैनाथ गरेर भेनेजुएलाका तत्कालीन राष्ट्रपति निकोलास मदुरोलाई ट्रम्पले दबाबमा राखेका थिए ।

३ जनवरीमा भेनेजुएलामा आक्रमण गर्दा यस जहाजबाट ठूलो संख्यामा विमानहरू काराकासको आकाशमा उडाइएको थियो ।  मदूरोलाई अपहरण गर्न गएका स्थल सैनिकको सुरक्षा र भेनेजुएलाको वायु सेनालाई दबाबमा राख्‍ने काम ती विमानले गरेका थिए । एकैपटक आकाशबाट चेतावनी र जमिनबाट आक्रमण हुँदा भेनेजुएलाको सेनाले राष्ट्रपतिलाई सुरक्षा दिन सकेन । 

भेनेजुएलामा अपरेशन सफल भएको केही समयपछि ट्रम्पले यस जहाजलाई पश्चिम एसिया जान निर्देशन दिएका थिए । अमेरिकाले पश्चिम एसियामै अर्को युद्धपोत 'अब्राहम लिंक' तैनाथ गरेको छ ।ःयी दुबै युद्धपोतलाई ठूलो संख्यामा युद्ध जहाज र  विध्व‌ंशकले साथ दिइरहेका छन् । 

तर अत्यधिक दबाब र निरन्तरको आक्रमणका बाबजुद इरानलाई झुकाउन सकेका छैन । इरानले हर्मुजको जलघाँटीमा अवरोध सिर्जना गर्दा विश्व बजारमा इन्धन अभाव भएको छ । विश्वको कुल इन्धनको झन्डै २० प्रतिशत हिस्सा हर्मुजको जलघाँटी हुँदै पश्चिम एसियाबाट निस्कन्छ । एसियाली देशहरू यहाँबाट निस्कने तेल तथा ग्यासँको सबैभन्दा ठूलो खपतकर्ता हुन् । 

इन्धन अभावले एसियाका धेरै देश समस्यामा छन् । पाकिस्तान, बंगलादेश, श्रीलंकालगायत देशमा इन्धन खपत कम गर्नका लागि सार्वजनिक बिदा बढाउने, अनलाइनमार्फत अध्ययन गराउने, सरकारी कर्मचारीलाई घरबाटै काम गर्न प्रोत्साहन गर्नेलगायत निर्णय गरिएको छ । 

अभाव र संकटसँगै विश्वबजारमा कच्चा तेलको मुल्य बढेको छ । बुधबार अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुड १०४.४४ डलरमा कारोबार भएको छ । 

कान्तिपुर

Link copied successfully