अफगानिस्तान–पाकिस्तान युद्ध तेस्रो हप्तामा चलिरहँदा अफगानिस्तानमा १ लाख १५ हजार जना विस्थापित भएको संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोग(यूएनएचसीआर) ले जनाएको छ । त्यस्तै, पाकिस्तानतर्फ ३ हजारभन्दा धेरै सर्वसाधारण विस्थापित भएको जनाएको छ ।
What you should know
काठमाडौँ — निरन्तरको अन्तरिक द्वन्द्व र विदेशी शक्तिहरुको आक्रमणबाट बारम्बार थला परेको अफगानिस्तान फेरी छिमेकी देश पाकिस्तानको निशानामा परेको छ । पाकिस्तानले सोमबार राति मात्रै अफगानिस्तानमा एयर स्ट्राइक (हवाई आक्रमण) गरेको छ । जसबाट ४ सय जना मारिएको र २५० जना घाइते भएको स्थानीय सञ्चार माध्यमलाई उदृत गर्दै सीएनएनले उल्लेख गरेको छ ।
अफगानिस्तानका निम्ती यस्तो आक्रमण नयाँ भने होइन् । विगतमा अफगानिस्तानमा बेलायती साम्राज्य, सोभियत युनियन र अमेरिकाले आक्रमण गरेका थिए । तर, कसैले पनि लक्ष्य हासिल गर्न वा काबुललाई पूर्णतः कब्जा गर्न सकेनन् । पाकिस्तानले अफगानिस्तानमा खुला युद्ध घोषणा गर्दै यहाँबाट आफ्नो भूमीमा आतंकवादी गतिविधि सञ्चालन गर्ने जिहादी समुह, विशेषगरी तेहरिक ई तालिवान पाकिस्तान ( टीटीपी) का सैन्य शिविरहरू ध्वस्त गरिने जनाएको छ ।
अफगानिस्तान–पाकिस्तान युद्ध तेस्रो हप्तामा चलिरहँदा अफगानिस्तानमा १ लाख १५ हजार जना बिस्थापित भएको संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोग ( यूएनएचसीआर) ले जनाएको छ । त्यस्तै, पाकिस्तानतर्फ ३ हजारभन्दा धेरै सर्वसाधारण बिस्थापित भएको जनाएको छ ।
मृतक तथा घाइते सैनिकको विवरणलाई लिएर दुबै पक्षका दाबी फरक–फरक छन् । जसको स्वतन्त्र पुष्टि हुन सकेको छैन । पाकिस्तानले आफ्ना १२ सैनिक मारिएको र २७ जना घाइते भएको पुष्टि गरेको छ । अफगानिस्तानले पाकिस्तानका ३ सय २७ सैनिक मारिएको र ३ सय ५० जनाभन्दा धेरै घाइते भएको दाबी गरेको छ । त्यस्तै, अफगानिस्तानले आफ्ना २८ सैनिक मारिएको र ४२ जना घाइते रहेको बताएको छ । पाकिस्तानले ६ सय ८४ जनाभन्दा धेरै तालिवानी लडाकु मारिएको र ९ सय १२ भन्दा धेरै घाइते भएको दाबी गरेको छ ।
अफगानिस्तान–पाकिस्तानबीचको द्वन्द्वको इतिहास सीमा विवादसँग जोडिएको छ । अफगानिस्तानले पछिल्लोपटक जिहादी सशस्त्र समुहमाथि लगानी गरेर आफ्नो देशमा अस्थिरता फैलाएको पाकिस्तानको आरोप छ । तर, यस आरोपलाई अफगानिस्तानले अस्विकार गर्दै आएको छ ।
जर्बजस्ती पाकिस्तानले युद्ध थोपरेको अफगानिस्तानमा सरकार चलाइरहेको इस्लामिक समुह तालिवानको दाबी छ । यस युद्धलाई उसले ‘मानवताविरुद्धको अपराध’ भनेको छ । पाकिस्तानले सर्वसाधारणको आवास तथा अस्पतालमा आक्रमण गरेको आरोप अफगानिस्तानले लगाएको छ । त्यस्तै विदेशी आक्रमणबाट बच्नका लागि प्रत्याक्रमण गर्नु आफ्नो अधिकार रहेको दाबी गरेको छ ।
पाकिस्तान निर्माण हुनअघि नै सीमा विवादको बिऊ रोपिएको थियो । दोस्रो एंग्लो –अफगान युद्ध हारेपछि अफगानिस्तानले ब्रिटिस भारतसँग संरक्षक राज्य बस्नेगरी १८७९ मा गान्धामक सन्धी गर्यो । यस सन्धीअनुसार केही वर्ष अफगानिस्तान बेलायतको संरक्षित राज्यका रुपमा रह्यो ।
१८९३ मा दुरन्द लाइनले ब्रिटिस भारत र अफगानिस्तानबीचको सीमाना तय गरिदियो । अफगानिस्तानको सुरक्षा र विदेश नीतिमा बेलायतको ठूलो नियन्त्रण थियो । तर, १९१९ मा तेस्रो एंग्लो–अफगान युद्ध जितेर अफगानिस्तालने बेलायती प्रभावबाट आफुलाई मुक्त गर्यो । त्यसपछि आफ्नो सार्वभौमसत्तामा अंकुश लगाउनेगरी उपनिवेशकालमा भएका सन्धी–सम्झौताबारे समिक्षा गर्न थाल्यो । बेलायतको तजबिजमा कोरिएको दुरन्द लाइनबारे अफगानिस्तानका नीति–निर्माताले प्रश्न उठाए ।
सन् १९४७ मा भारतीय स्वतन्त्रता संग्रामपछि अफगानिस्तानको छिमेकमा नयाँ राष्ट्र पाकिस्तान बन्यो । पाकिस्तानले बाँकी मुस्लिम दुनियाँसँग सम्बन्ध बलियो बनाउने नीति लिएको. थियो । तर, आफ्नै छिमेकीसँगको सम्बन्धमा चिसोपन आयो । पाकिस्तानले संयुक्त राष्ट्रसंघको सदस्यता लिनका लागि गरेको प्रस्तावमा अफगानिस्तान विपक्षमा उभियो । ब्रिटिसकालदेखिको सीमा विवाद नै यसको कारण थियो ।
ब्रिटिस भारतका नर्थ वेस्ट प्रन्टियर्स प्रभिन्स (अहिलको खैबर पख्तङ्वा) तथा बलोचिस्तान प्रान्त पाकिस्तानको भागमा परेका थिए । यी प्रान्तका पठान बाहुल्य क्षेत्र फिर्ता पाउनुपर्ने अफगानिस्तानको प्रस्ताव पाकिस्तानले मानेन । अफगानिस्तानमा जनसंख्याको सबैभन्दा ठूलो हिस्सा (झन्डै ४० देखि ५० प्रतिशत) पस्तुन छन् ।
जसलाई भारत र पाकिस्तानमा पठान भनिन्छ । यही जातीय आधार र ऐतिहासिक पृष्ठभूमीलाई देखाएर अफगानिस्तानले ब्रिटिसकालको सम्झौता खारेज हुनुपर्ने बताएको थियो । तर प्रस्ताव नमानेपछि राष्ट्रसंघमा अफगानिस्तान विपक्षमा खडा भयो ।
यसले दीर्घकालसम्म दुई देशीय सम्बन्धमा दरार ल्यायो । अफगानिस्तानले खैबर पख्तङ्वा तथा बलोचिस्तानका आदिवासी पठानहरुलाईे हतियार उपलब्ध गराएर लड्नका लागि प्रेरित गरिरहेको आरोप पाकिस्तानले लगाउँदै आएको छ ।
अहिले पाकिस्तानले प्रमुख शत्रु मान्ने गरेको अफगान तालिवान कुनै समय उसैले हुर्काएको दस्ता थियो । डिसेम्बर १९७९ मा अफगानिस्तानमा कम्युनिष्ट सरकारको रक्षार्थ सोभियत युनियनले सेना परिचालन गरेसँगै जिहादी संगठन मौलाएका थिए । ती संगठनलाई शरण दिने काम पाकिस्तानले गर्यो ।
यसमध्ये सबैभन्दा बलियो संगठन मुजाहिदिन थियो । शितयुद्धको यस अवधिमा अमेरिका र पाकिस्तानले मिलेर मुजाहिदिन लडाकुहरुलाई हतियार र आर्थिक सहयोग गरेका थिए ।
फेब्रुअरी १९८९ मा सोभियत सेना पराजित भएर अफगानिस्तानबाट हिंड्यो । १९९२ मा काबुलमा मुजाहिदिनले कब्जा जमाए । तर, यतिबेलासम्म यहाँ धेरै जिहादी सशस्त्र समुहहरु जन्मिसकेका थिए । त्यहीकारण सरकारमा मुजाहिदिनले लामो नियन्त्रण कायम राख्न सकेन । सन् १९९४ मा यसैबाट अलग भएको उग्रवादी संगठन तालिवानले काबुल कब्जा गर्यो ।
विश्वका तीन देशले मात्रै यस सरकारलाई मान्यता दिएका थिए । सबैभन्दा पहिले पाकिस्तान र त्यसपछि साउदी र युएईले मान्यता दिए । पाकिस्तानसँग केही वर्ष तालिवानको सम्बन्ध राम्रो थियो । अमेरिकामा भएको सेप्टम्बर ११, २००१ को घटनाले यस सम्बन्धमा दरार ल्याइदियो ।
११ सेप्टेम्बरमा अमेरिकाको वासिङ्टनस्थित रक्षा विभाग (पेन्टागन), राष्ट्रपति कार्यालय (ह्वाइट हाउस), संसद् भवन (क्यापिटोल हिल) न्युर्योकका दुई गगनचुम्बी भवन (वल्र्ड ट्रेड सेन्टर) मा आक्रमण प्रयास भयो । यसमध्ये वल्र्ड ट्रेड सेन्टर पूर्णत ध्वस्त भयो । पेन्टागनमा केही क्षति पुग्यो । संसद् भवन वा ह्वाइट हाउसमध्ये कुनै एकलाई निशाना बनाउने लक्ष्य साथ हिंडेको एक विमान पेन्सिलभेनियामा पुगेर क्षतिग्रस्त भयो ।
ओशामा बिन लादेनले यस आक्रमणको जिम्मेवारी लिएका थिए । लादेनलाई तालिवानले अफगानिस्तानमा राखेको थियो । अमेरिकाले लादेनलाई हस्तान्तरण गर्न पठाएको प्रस्ताव नमानेपछि अक्टुबरमा अमेरिकी गठबन्धनले अफगानिस्तानमा आक्रमण गर्यो ।
‘आतंकवादविरुद्धको युद्ध’ नाम दिइएको यस आक्रमणपछि झन्डै ७ हप्ताभित्र तालिवान अपदस्थ भयो । यसपछि अमेरिका र गठबन्धन सेना (बेलायत, जर्मनी, क्यानेडा, अस्ट्रेलियालगायत) यहाँ पुननिर्माणको कार्यमा खटिए । उनीहरुले तालिवानका लडाकुहरुलाई पनि निशाना बनाइरहेका थिए ।
पाकिस्तानले युद्ध सुरु हुनासाथ तालिवानसँगको सम्बन्ध कटौती गरेर अमेरिकालाई साथ दियो । पाकिस्तानका सैन्य शासक जनरल परभेज मुसरर्फले अमेरिकालाई पाकिस्तानी सेनाको ठूलो साथ रहने बताए । यस अवधिमा अमेरिकाले पाकिस्तानमा ठूलो सैन्य तथा आर्थिक सहयोग पनि गर्यो ।
अफगानिस्तानमा बाँच्न नसक्ने अवस्था आएपछि तालिवान लडाकुहरु पाकिस्तान छिरिरहेका थिए । पाकिस्तानको राष्ट्रिय सेनाले उनीहरुलाई खोजी–खोजी आक्रमण गरिरहेको थियो । तर, पाकिस्तानको दोहोरो भूमिका रहेको आशंका अमेरिकी विश्लेषकहरुको छ ।
अब्बास फारासोले ‘प्रोक्सी वार इन अफगानिस्तान’ पुस्तकमा पाकिस्तान–तालिवान सम्बन्धबारे लेखेका छन् । ‘पाकिस्तान र तालिवानबीचको वास्तविक सहकार्य जटिल छ । एकातर्फ, पाकिस्तानी गुप्तचर (आईएसआई) अमेरिकाको साथमा थियो ।
अर्कोतर्फ, पाकिस्तानले अनौपचारिक च्यानलहरु प्रयोग गरेर तालिवानलाई सहयोग गरिरहेको थियो । तालिवानलाई सैन्य प्रशिक्षण दिने, मदरसाहरुमा वैचारिक प्रशिक्षण उपलब्ध गराउने तथा गोप्य सुचनाहरु दिने काम पनि पाकिस्तानले गरेको थियो ।’
सत्ताच्युत भएपछि पुनर्गठन (रिग्रुपिङ) र रुपान्तरणबाट गुज्रिरहेको समय तालिवानले पाकिस्तानबाट ठूलो सहयोग पाएको विश्लेषकहरुको अनुमान छ । यहीक्रममा सन् २००७ मा सशस्त्र जिहादी समुहहरुले उत्तरपश्चिम पाकिस्तानमा भेला भएर ‘तहरिक ई तालिवान’ (टीटीपी) नामक छाता संगठन बनाएका थिए । यसलाई पाकिस्तान तालिवान भनिन्छ ।
यस संगठनले बजार, मस्जिद, विमानस्थल, सैन्य अखडा र प्रहरी स्टेशनमा बर्बरतापूर्ण आक्रमण गर्न थाल्यो । सन् २००८ मा पाकिस्तालने यस समुहमाथि प्रतिबन्ध लगायो । यसका बैंक एकाउन्ट तथा सम्पत्ति रोक्का गरियो । यस संगठनका नेताहरुबारे सुचना दिनेलाई पुरस्कारको व्यवस्था गरियो ।
सन् २०१२ मा मलाला युसुफजाई नामक स्कुले छात्रामाथि यही संगठनले आक्रमण गरेको थियो । २०१४ मा उनले नोबेल शान्ति पुरस्कार पाइन् ।
यस समुहले अफगानिस्तानमा तालिवानलाई साथ दिइरहेको थियो । वैचारिक समानता र एउटै इतिहास भएपनि अफगान तालिवान र पाकिस्तान तालिवान फरक–फरक संगठन थिए ।
अफगानिस्तानको प्रजातान्त्रिक सरकारका राष्ट्रपति (सन् २००४ देखि २०१४ सम्म ) हमिद कारजाईले पटक–पटक पाकिस्तानी गुप्तचरले तालिवानलाई सहयोग गर्ने गरेको आरोप लगाएका थिए । उनीपछि राष्ट्रपति बनेका असरर्फ घानीले पनि यही आरोप दोहोर्याए । उनीहरुले पाकिस्तानले जिहादी संगठनहरुलाई नियन्त्रणमा लिन पर्याप्त कदम नचालेको बताएका थिए ।
सन् २०१६ मा पाकिस्तानले टीटीपीविरुद्ध गरेको कारबाही सफल भएको घोषणा गर्यो । यस अवधिमा पाकिस्तानको सीमा क्षेत्रमा टीटीपीको उपस्थिती न्युन थियो । तर, अफगानिस्तानमा तालिवान फस्टाउँदै थियो । टीटीपीसहित पाकिस्तानका धेरै जिहादी संगठन अफगानिस्तानमा केन्द्रीत भएका थिए ।
पहाडहरुमा लुकेर यी संगठनका लडाकुले नाटो सेनालाई प्रत्याक्रमण गर्न थाले । शहरी क्षेत्र असरर्फ घानी नेतृत्वको सरकार र राष्ट्रिय सेनाको नियन्त्रणमा भएपनि गाउँका अधिकांशः क्षेत्र तालिवानको वर्चश्वमा थियो । तालिवानले यस अवधिमा ‘विदेशी शक्तिहरुलाई देशबाट लखेट्ने’ नारा दिएको थियो । देशभित्रै मौलाएको भ्रस्टाचार र वर्षौंदेखिको युद्धले निम्त्याएको दण्डहिनताको अवस्थाले जनता आजित थिए ।
तालिवानले ‘इस्लामिक इमिरेट्स’ लागु गरेर कडा सरिया कानुन लगाउने घोषणा गरेको थियो । ठूलो संख्यामा युवा तालिवानीमा भर्ती भए । अन्ततः अगस्ट २०२१ मा अमेरिका र नाटो फौजले अफगानिस्तान छोड्नासाथ तालिवानले काबुल कब्जा गर्यो ।
पाकिस्तानले सुरुवातमा अफगानिस्तानमा तालिवानको पुनरागमनलाई स्वागत गरेको थियो । पाकिस्तानका तत्कालीन प्रधानमन्त्री इमरान खानले अफगानी जनताले दासत्व तोडेको अभिव्यक्ती दिए । तर, दुई देशको सम्बन्ध चाडैं नै बिग्रियो । सन् २०२२ देखि पाकिस्तान तालिवान फेरि सक्रिय भयो ।
पाकिस्तानका खैबर पख्तङ्वा, उत्तर वारिजिस्तान,दक्षिण वारिजिस्तान,कुर्राम, बाजौर र ओराकजाईलगायत क्षेत्रमा यस संगठनले आफुलाई बिस्तार गर्यो । पेशाबर, बन्नु, पञ्जाब र बलोचिस्तानमा पनि आक्रमण गर्यो ।
खैबर पख्तङ्वा र बलोचिस्तानका पठान बाहुल्य क्षेत्रलाई पाकिस्तानबाट स्वायत्तता दिनुपर्ने तथा यहाँ कडा सरिया कानुन लागु हुनुपर्ने पाकिस्तान तालिवानको माग छ । अफगानिस्तानको तालिवान सरकारले इतिहासदेखिको दाबी (खैबर पख्तङ्वा र बलोचिस्तानका पठान बाहुल्य भूभाग अफगानिस्तानको भूभाग रहेको) दोहोर्याइरहेको छ ।
पाकिस्तानले आफ्नो भूमीमा आतंकवाद फैलाउन तथा विभाजनको राजनीतिलाई बढावा दिन अफगानिस्तानको तालिवान सरकारले लगानी गरिरहेको आरोप लगाएको छ । यसलाई अफगानिस्तानले अस्विकार गरेको छ । तालिवान सरकार भारतको गोटी बनेको आरोप पनि पाकिस्तानको छ ।
जबकी, १९७९ देखि १९८९ सम्म रुस र सन् २००१ देखि २०२१ सम्म अमेरिकालाई साथ दिएर जिहादी संगठनहरुविरुद्ध उभिएको भारतले यस आरोप अस्विकार गरेको छ ।
पाकिस्तान–अफगानिस्तानबीच यी विषयलाई लिएर सन् २०२४ र २०२५ मा पटक–पटक सीमा क्षेत्रमा लडाँइ चल्यो । अक्टुबर र नोभेम्बर २०२५ मा कतार र टर्कीको मध्यस्थतामा उच्चस्तरीय छलफलमार्फत दुईपटक युद्धविरामको सहमति पनि बन्यो । तर, विवादको स्थायी निकास निस्किएन ।
६ फेब्रुअरी २०२६ मा पाकिस्तानको राजधानी इस्लामावादमा बम बिस्फोटमा कम्तिमा ३१ जनाको मृत्यु भएको थियो । यसको जिम्मा आईएसआईएसले लिएको थियो । १६ फेब्रुअरीमा बाजौर जिल्लामा ११ जनाको ज्यान जानेगरी भएको आत्मघाती आक्रमणका मुख्य दोषी अफगानी नागरिक थिए । यसको जिम्मा पाकिस्तान तालिवानले लिएको थियो ।
पाकिस्तानले २१ फेब्रुअरीमा नाङगर्हर, पख्तिका, खोस्तामालगायत पाकिस्तान तालिवानको शिविरहरु रहेका इलाकामा हवाई आक्रमण गर्यो । २५ फेब्रुअरीमा पाकिस्तानको सुरक्षा स्रोतले आफ्नो देशमा भएका पछिल्ला शृंखलावद्ध आक्रमण तथा आत्मघाती हमलामा अफगानिस्तानको संलग्नता रहेको ठहर गर्यो ।
२०२४ को अन्त्यदेखि भएका ७ वटा योजनावद्ध र सफल आक्रमणमा अफगानिस्तानको संलग्नता देखिएको सुरक्षा स्रोतको अनुसन्धानात्मक दाबी थियो ।
२६ फेब्रुअरीमा विवाद चर्कदा तालिवान सरकारले सीमाक्षेत्र नजिक रहेको पाकिस्तानको सैन्य अखडामा आक्रमण गर्यो ।
केही दिनअघि पाकिस्तानले आफ्नो भूमीमा गरेको आक्रमणको जवाफ फर्काइएको अफगानिस्तानको दाबी थियो । यसको केही घण्टाभित्रै पाकिस्तानले अफगानिस्तानको राजधानी काबुलसहित धेरैवटा क्षेत्रमा बम खसाल्यो । पाकिस्तानले यसपछि खुला युद्ध सुरु भएको घोषणा गर्यो । त्यसयता दुबै देशले एक–अर्काविरुद्ध लगातार हवाई आक्रमण गरिरहेका छन् ।
- यो सामग्री विभिन्न समाचार एजेन्सीहरुको सहयोगमा तयार पारिएको हो ।
