अमेरिका र इरानबीचको युद्ध १७ औं दिनमा प्रवेश गरिसकेको छ ।
काठमाडौँ — इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानका शीर्ष सुरक्षाा अधिकारी अली लारिजानी र अर्धसैन्य दस्ता बासिजका कमाण्डर घोलामरेजा सुलेमानी मारिएको दाबी गरेका छन् ।
सोमबार रातिको इजरायली सेनाको आक्रमणका क्रममा यी दुई नेता मारिएको दाबी काट्जले गरे । बासिज दस्ताका धेरै कमाण्डरहरुलाई निशाना साँधिएको उनले बताए ।
'हिजो राति इरानमा विभिन्न आक्रमणहरूमा बासिज सेनाका प्रमुख घोलामरेजा सुलेमानीसहित एक दर्जनभन्दा बढी बासिज अधिकारीहरूलाई लक्षित गरिएको थियो । यो संयुक्त अमेरिकी र इजरायली प्रयास थियो,' इजरायलका एक सैन्य अधिकारीलाई उद्रृत गर्दै फक्स न्युजले लेखेको छ ।
अमेरिका र इरानबीचको युद्ध १७ औं दिनमा प्रवेश गरिसकेको छ । इरानले हर्मुजको जलघाँटीमा अवरोध गर्दा विश्वको २० प्रतिशतभन्दा धेरै तेल तथा प्राकृतिक ग्याँस मध्यपूर्वबाट बाहिरिन पाएको छैन । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटो सदस्य राष्ट्रलाई हर्मुजको जलघाँटी खुलाउनका लागि सैन्य जहाज पठाउन आग्रह गरेका थिए ।
आफ्ना सहयोगीबाट सैन्य सहयोग प्राप्त नभएमा नाटोको अवस्था निकै खराब हुने उनको चेतावनी थियो । तर, कुनै पनि देशले सैन्य जहाज पठाउने निर्णय गरिरहेको छैनन् ।
मंगलबार इजरायलले तेहरान र लेबनानको बेरूतमा हवाई आक्रमण गरेको छ । जवाफमा इरानले पनि खाडी देशहरूमा आक्रमण गरिरहेको छ । कतार, साउदी अरेबिया, युएई र कुवेतल इरानी मिसाइल प्रतिरोध गरिएको जनाएका छन् ।
एम्नेस्टी इन्टरनेशनलको अनुसन्धानले इरानी छात्रा प्राथमिक विद्यालयमा भएको आक्रमणमा अमेरिका संलग्न गरेको देखाएको छ । उक्त आक्रमणमा कम्तिमा १७० जनाको मृत्यु भएको थियो, जसमा अधिकांश स्कुले छात्राहरू थिए ।
जर्मनीले अमेरिका र इजरायलबीचको युद्धमा सहभागी हुने आफ्नो कुनै योजना नरहेको जनाएको छ ।
