इरान र अमेरिका–इजरायलबीच युद्ध सुरु भएयता ठूलो संख्यामा ट्यांकर र कार्गो जहाजहरूले हर्मुज जलघाँटीबाट बाहिरिने अनुमति पाएका छैनन् । इरानको आक्रमणमा तीन जना भारतीय जहाज चालक दलका सदस्यको मृत्यु भइसकेको छ भने एक जना बेपत्ता छन् ।
काठमाडौँ — इरानी बन्दरगाह बन्दर अब्बासमा दुई सातादेखि फसिरहेको जहाजका चालक दलका सदस्य २६ वर्षे अम्बुज भारतीय नागरिक हुन् । ड्रोन र मिसाइलको धूवाँलाई नजिकबाट नियालिरहेका उनी सुरक्षित रूपमा घर फर्किने दिनको पर्खाइमा छन् ।
इरान र अमेरिका–इजरायलबीच युद्ध सुरु भएयता ठूलो संख्यामा ट्यांकर र कार्गो जहाजहरूले हर्मुज जलघाँटीबाट बाहिरिने अनुमति पाएका छैनन् । इरानको आक्रमणमा तीन जना भारतीय जहाज चालक दलका सदस्यको मृत्यु भइसकेको छ भने एक जना बेपत्ता छन् ।
पर्सियन खाडी र आसपासका बन्दरगाहमा सञ्चालन हुने जहाजमा काम गर्ने अम्बुजजस्ता झन्डै २३ हजार भारतीय इरान र अमेरिका–इजरायलबीचको युद्धको मारमा परेका छन् । भारतले इरानसहित विभिन्न देशका निकायसँग समन्वय गर्दै उनीहरूको सुरक्षाको व्यवस्था गरिरहेको जनाएको छ ।
‘जलसेनाको एस्कर्टबिना वा अनुमतिबिना हर्मुज पार गर्नु कति खतरनाक हुन्छ, हामीलाई थाहा छ,’ अम्बुजले फोनमार्फत भने । तेहरानबाट भारत आउने उडान अहिले सञ्चालनमा छैन । सुरक्षित रूपमा पश्चिम एसियाका अन्य कुनै देशको बन्दरगाह पुग्ने र त्यहाँबाट विमान हुँदै भारत आउने उनीहरूको योजना छ । तर, त्यसरी अर्को बन्दरगाह पुग्नका लागि इरान सरकारले जहाजलाई अनुमति दिनुपर्छ । ‘यदि पश्चिम एसिया वा नजिकको कुनै देशतिर जहाज लैजान अनुमति मिल्यो भने हामी त्यहाँबाट चाँडो घर फर्कने विमान समाउनेछौं,’ उनले भने ।
मार्चको सुरुतिर अम्बुजको जहाज दक्षिण–पूर्वी एसियाली देशतर्फ गइरहेको थियो । तर, इरानी इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले यस जहाजका क्याप्टेनलाई वायरलेसमार्फत चेतावनी दिए । बिनास्वीकृति हर्मुज पार गरे परिणाम भोग्नुपर्ने चेतावनी दिइएको थियो । जसकारण उनीहरू अघि बढ्न सकेनन् ।
उनीहरूले सुरक्षित मार्ग खुल्ने आशा गरिरहेका छन् । तर, युद्ध लम्बिएकाले बन्दरगाहमै हप्तौं अल्झिनुपर्ने जोखिम छ । व्यापारिक जहाजका लागि भारत विश्वकै तेस्रो ठूलो श्रमिक आपूर्तिकर्ता हो । सरकारी तथ्यांकअनुसार करिब ३ लाखभन्दा बढी भारतीय कर्मचारी विश्वभरका व्यापारिक जहाजहरूमा कार्यरत छन् ।
युद्धले हर्मुजमा फसेका अम्बुज र उनका सहकर्मीहरूजस्तै हजारौं भारतीय परिवार अहिले टेलिफोन र सन्देशमार्फत मात्र आफ्ना प्रियजनसँग सम्पर्कमा छन् ।
भारततर्फ आइरहेको जहाजका चालक एम कान्तले बाटोमा आफ्ना चालक दलका सदस्यहरूले ड्रोन र फाइटर उडिरहेको देखेको बताए । उनका अनुसार गत मार्चमा इरानी अधिकारीहरूले स्टारलिंकको इन्टरनेट बन्द गरेदेखि नै चालक दलका सदस्य त्रास छन् ।
‘खतराको साइरन बजेको सुनियो, टाढा रहेको एउटा जहाजमा आगो लागेको देख्यौं र वायरलेसमार्फत धम्क्याउने सन्देश पनि आयो,’ उनले त्रासद यात्राबारे भने ।
६ मार्चमा पछि स्टारलिंक पुनः सुरु गर्ने अनुमति पाएपछि बल्ल परिवारसँग नियमित सम्पर्क गर्न पाएको उनले बताए । तर प्रत्येक पटक ड्रोन वा फाइटर जेटको आवाज सुन्दा अझै पनि उनीहरूको मुटु द्रुत गतिले धड्किन्छ ।
भारत र इरानका अधिकारी तथा आफ्नो कम्पनीले जहाजको परिचय वा ठेगाना सार्वजनिक नगर्न निर्देशन दिएको कान्ताले बताए । सुरक्षाका कारण यस्तो निर्णय लिइएको हुन सक्ने पनि उनले बताए । चालक दलका अर्का एक सदस्यले हर्मुज खाडी नजिकै पुगेको एक जहाजमाथि ड्रोनले आक्रमण गरेको दृश्य देखेको बताए । आक्रमणमा पर्दा उक्त जहाज हर्मुजबाट केही माइलमात्रै पर रहेको उनले बताए । ‘आकाशमा देखिने विमान, जेट वा ड्रोन कुन प्रकारको हो भनेर हामी एकआपसमा रमाइलो गर्छौं । तर निद्रा लाग्दैन, धेरै तनाव छ,’ उनले भने ।
यसबीच इरानले १३ मार्चमा भारती–ध्वजावाहक दुईवटा जहाजलाई हर्मुजको घाँटी पार गर्ने अनुमति दिएको छ । यी जहाजले तरल पेट्रोलियम ग्यास बोकेका थिए । भारतका लागि इरानी राजदूत मोहम्मद फाथालीले पनि भारतीय जहाजका लागि सुरक्षित मार्ग खोल्ने आश्वासन दिएका छन् ।
