पश्चिम एसियाका डाटा सेन्टर इरानको निशानामा

डाटा सेन्टर ध्वस्त हुँदा वा ठूलो क्षति पुग्दा वेबसाइट, मोबाइल एप, क्लाउड सेवा, बैंकिङ, ई–कमर्सजस्ता सबै अनलाइन सेवा तुरुन्तै बन्द हुन्छन् ।

चैत्र २, २०८२

एजेन्सी

Data centers in West Asia targeted by Iran

काठमाडौँ — इरानसँगको युद्धमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग र परीक्षण भइरहेको अमेरिकी युद्ध मामिलामन्त्री पिट हेग्सेथले बताएका छन् ।

उनले अमेरिकी सेनाको प्राविधिक क्षमताको प्रशंसा गर्दै यसलाई ‘एआई फस्र्ट’ भनेका छन् । अर्कोतर्फ, इरानले पश्चिम एशियामा रहेका अमेरिकी कम्पनीका डाटा सेन्टरमा आक्रमण गरिरहेको छ, जसले अमेरिकाको प्राविधिक विकासलाई कमजोर बनाउनसक्छ ।  

युद्ध सुरु हुनअघि युएईले एआईमा लोभलाग्दो विकास हासिल गरिरहेको थियो । स्थिर राजनीतिक परिवेश, सरकारी सुरक्षा ग्यारेन्टी र सस्तो उर्जाका कारण धेरै कम्पनीहरु यहाँ आउन तयार थिए । जसले भविष्यमा युएई एआई विकासको केन्द्र बन्नसक्ने संभावना थियो । तर, अहिले यहाँको सुरक्षा वातावरणलाई लिएर कम्पनीहरु चिन्तित देखिएका छन् ।

२०२५ मे महिनामा चार दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरब, कतार र युएईको भ्रमण गर्दै करिब २.८ ट्रिलियन डलर बराबरको लगानी प्रतिबद्धता घोषणा गरेका थिए । यस घोषणामा समावेश मुख्य परियोजनामध्ये अबुधाबीमा बन्ने ७०० अर्ब डलर लागतको विशाल एआई डाटा सेन्टर एक थियो ।

यस पूर्वाधारले कालान्तरमा विश्वको झन्डै आधा जनसंख्यालाई सेवा दिनसक्ने दाबी ओपन एआईको थियो ।  ओपन एआईसँगै एनभिडिया, ओरेकल र सिस्कोले पनि  डेटा सेन्टर निर्माणमा सहकार्य गर्नेवाला थिए ।  २०२५ अक्टोबरमा अस्ट्रेलियाली कम्पनी एयरट्रङ्कले साउदी अरबमा ४.२ अर्ब डलरको डाटासेन्टर्स निर्माण गर्ने योजना सार्वजनिक गरेको थियो ।

एकपछि अर्का एआई कम्पनी र विशाल लगानी आकर्षित गरिरहेका खाडी मुलुकमा अहिले द्वन्द्वले वातावरण बिथोलिएको छ ।

अस्ट्रेलियन नेशनल युनिभर्सिटी (एएनयू)की राजनीतिक अर्थशास्त्रकी वरिष्ठ अध्येता जेसी मोरिट्जले युद्धको असर खाडी क्षेत्रलाई दिर्घकालसम्म पर्नसक्ने बताइन् । 

‘अब यो क्षेत्र सुरक्षित स्थान रहेन । कुनै पनि देशले आफ्ना डाटासेन्टर्स अस्थिर वातावरणमा राख्न चाहँदैन,’ उनले भनिन्, ‘इरानले रणनीतिअनुसार नै आक्रमण गरिरहेको छ । होटल, तेल तथा पानी प्रशोधन गृहसम्म आक्रमण गरेर उसले साबित गर्दैछ, खाडीका देशहरुले अमेरिकासँग सहकार्य  गर्दाको मूल्य चुकाउनुपर्छ ।’

इरान युद्धले तेलको भाउ बढाएको छ । हर्मुजसहितका प्रमुख जलमार्ग अवरुद्धजस्तै छन् । हवाई यात्रा पनि प्रभावित छ । पश्चिम एशियाका होटल, विशाल भवन र अब डाटा सेन्टर्स पनि निशानामा परेका छन् । 

अहिले अमेरिकी र इजरायली सेनाले एआई प्रणालीमार्फत प्रतिद्वन्द्वीको निशाना पत्ता लगाइरहेको छ । गोप्य सुचना, साइबर अपरेशन र ड्रोन तथा मिसाइलको समन्वयमा पनि एआई प्रयोग भइरहेको युद्ध मामिलामन्त्री हेग्सेथले बताएका छन् । 

अमेजनजस्ता ठूला प्रविधि कम्पनीहरूले वर्षौंदेखि अमेरिकी सेनासँग सहकार्य गर्दै आएका छन्  । जसकारण युद्धमा यी कम्पनीहरुलाई प्रत्यक्ष निशाना बनाइएको इस्लामिक रिभोलुशनरी गार्ड्स (आईआरजीसी) ले जनाएको छ ।

आईआरजीसीले सार्वजनिक गरेका आक्रमणका नयाँ निशानाहरुमा अमेरिकी सेनाका पूर्वाधारसँगै मध्यपूर्वमा रहेका अमेरिकी कम्पनीका डाटा सेन्टर पनि छन् । यसअघि गत साता युएइस्थित अमेजनका दुईवटा डाटा सेन्टरमा आईआरजीसीले आक्रमण गरेको थियो ।

यसको स्पष्ट कारण अमेजनसँगको अमेरिकी सेनाको सहकार्य रहेको आईआरजीसीले जनाएको छ । त्यही दिन बहराइनमा रहेको डाटा सेन्टरमा पनि आक्रमण भएको थियो । 

डाटा सेन्टरहरु त्यस्ता भौतिक पूर्वाधार हुन् । जहाँ, सर्भर, स्टोरेज सिस्टम, नेटवर्किङ उपकरण तथा ठूलो परिमाणको डाटा  प्रोसेस, स्टोर र म्यानेज गर्ने उपकरणहरु हुन्छन् । टेक कम्पनीको मुटु वा मुल कारखाना नै डाटा सेन्टर हो ।

त्यहीकारण यहाँ ठूलो संख्यामा मानिसहरु कार्यरत हुन्छन् । नयाँ–नयाँ प्रविधि विकासको काम पनि हुन्छ । 

अहिलेको समय अनलाइन सेवामाथि धेरैको निर्भरता बढेको छ । त्यहीकारण डाटा सेन्टरमाथिको आक्रमणले मानिसहरुको दैनिक जीवन तत्कालै बिथोलिन सक्छ । 

डाटा सेन्टर ध्वस्त हुँदा वा ठूलो क्षति पुग्दा वेबसाइट, मोबाइल एप, क्लाउड सेवा, बैंकिङ, ई–कमर्सजस्ता सबै अनलाइन सेवा तुरुन्तै बन्द हुन्छन् । अस्पताल, बैंक, सरकारी प्रणालीले प्रयोग गर्ने एप नचल्दा उपचार, भुक्तानी, दर्ता–रिपोर्टिङजस्ता महत्वपूर्ण काम रोकिन्छ वा ढिलो हुन्छ ।

डाटा ब्याकअप राम्रो नभए महत्वपूर्ण फाइल, रेकर्ड, कारोबार स्थायी रूपमा हराउन वा करप्ट हुन सक्छ ।  यातायात बुकिङ, डिजिटल भुक्तानी, अनलाइन रोजगारीजस्ता धेरै कुराहरु अस्तव्यस्त हुन्छ ।

सेवा बन्द हुँदा प्रति मिनेट हजारौँ रुपैयाँदेखि ठूलो कम्पनीको हकमा लाखौँ रकम बराबरको आम्दानी गुम्न सक्छ । केवल कम्प्युटर मात्र होइन, त्यसमा आधारित सेवा, पैसा र मानिसको दैनिकी सबै प्रभावित हुन्छन् ।

डाटा सेन्टर सञ्चालन गर्न सामान्य अवस्थामा पनि निकै ठूलो खर्च हुन्छ । यस्ता पूर्वाधारमा ठूलो मात्रामा पानी र बिजुली चाहिन्छ, चौबीसै घण्टा ड्युटीमा रहने उच्च दक्ष प्राविधिक जनशक्ति आवश्यक पर्छ । लगातार साइबर आक्रमणबाट जोगाउनुपर्ने हुन्छ ।

द्वन्द्वले यसको लागत बढाउने पक्का रहेको विशेषज्ञहरु बताउँछन् । 

गत बिहीबार इरानले निशाना साँधिने केही स्थानहरुको नामावली सार्वजनिक गरेको छ । यसमा  डाटासेन्टर र प्रविधि कम्पनीका कार्यालय समावेश छन् । 

अमेरिकाले तेहरानस्थित एक बैंकको शाखामा हवाई आक्रमण गरेकाले बदलामा पश्चिम एशियामा  रहेका डाटा सेन्टरमा आक्रमण गरिने आईआरजीसीका प्रवक्ताले बताएका छन् । 

अबुधाबीस्थित राब्दन सेक्युरिटी एन्ड डिफेन्स इन्स्टिच्युटका प्रमुख शोधकर्ता क्रिस्टियन एलेक्ज्यान्दरले डाटा सेन्टरलाई क्षेप्यास्त्र, ड्रोन, बिस्फोटको झट्का, छर्रा, आगलागी, पानीको क्षति र एकपछि अर्को आक्रमणबाट जोगाउनु निकै चुनौतीपूर्ण हुने बताए ।

यस्ता जोखिमपूर्ण क्षेत्रमा डाटा सेन्टर खोल्दा कम्पनीहरुले बुझाउनुपर्ने बिमाको प्रिमियम खर्च पनि बढी हुने उनले बताए । त्यस्तै, उत्कृष्ट इन्जिनियरहरु (जो डाटा सेन्टरका मेरुदण्ड हुन्) यस्ता स्थानमा आउने संभावना पनि कम रहन्छ । 

डाटा सेन्टरहरू लुकाउन पनि सजिलो हुँदैन । यी विशाल संरचनाबाट ठूलो तापमान निस्कने भएकाले सबैले सहजै थाहा पाउँछन् । यसका भवन र निर्माण स्थलमा अनौठा अनौठा प्रविधि प्रयोग हुने भएकाले भू–उपग्रहबाट खिचिएका चित्रमा यसलाई सहजै छुट्याउन सकिन्छ । 

‘युद्धमा डाटा सेन्टरहरू प्रत्यक्ष निशाना पर्न थाले,’ लन्डनको किङ्स कलेजका पीएचडी शोधकर्ता जाखरी कैलनबोर्नले भने, ‘भविष्यमा नयाँ डाटा सेन्टर कहाँ निर्माण गर्ने भन्ने निर्णय लिँदा प्रविधि कम्पनीहरूले यो तथ्यलाई पनि मुल्याङ्कन गर्नेछन् ।’

एजेन्सी

Link copied successfully