इरानका तेल भण्डार तथा प्रशोधन गृहमा अमेरिकाले लगातार आक्रमण गरिरहेको छ
काठमाडौँ — इरानका तेल पूर्वाधारमा अमेरिका–इजरायलले गरेको हवाई आक्रमणपछि वातावरणमा फैलिएको कालो धुँवाले विषाक्त वर्षा गराएको छ । यसले जनस्वास्थ्यमा गम्भीर असर पार्नसक्ने चेतावनी स्वास्थ्यविद्हले दिएका छन् ।
इरानमा गत साता आँखामा जलन र सास फेर्न गाह्रो हुने समस्या देखिएको तेहरानका स्थानीयवासीले बताएका थिए । यहाँका तेल भण्डार तथा प्रशोधन गृहमा अमेरिकाले लगातार आक्रमण गरिरहेको छ ।
इरानले प्रत्याक्रमण गरेका पश्चिम एशियाका देशहरुमा पनि यस्तो समस्या देखिएको छ । इरानले खाडी राष्ट्रमा ड्रोन तथा मिसाइल प्रहार गरिरहेको छ ।
विज्ञहरुका अनुसार पानी परेको छोटो समयमै विषाक्त केमिकलहरु वायुमण्डलबाट हट्छन् । तर, यस्तो झरीमा रुज्ने मानिसहरुमा तत्कालीन तथा दीर्घकालीन स्वास्थ्य समस्या देखिने जोखिम रहन्छ ।
कालो वर्षा के हो ?
धुलो, धुवाँ तथा विषाक्त केमिकलहरु वायुमण्डलमा पानीको थोपामा मिलेर बस्ने बस्छन् । त्यसपछि वर्षा भएर धर्तीमा फर्कन्छन् ।
तेल प्रशोधन गृह वा भण्डारगृहमा आगो लाग्दा यस्तो अवस्था निम्तनु समस्या हो । डढेंलो, ज्वालामुखी बिस्फोट वा औद्योगिक प्रदूषणले पनि यस्तो अवस्था निम्त्याउँछ । विज्ञहरुका अनुसार इरानमा इन्धन तेलमा रहेका हाइड्रोकार्बन पूर्ण रुपमा नजल्दा आँखाले नदेखिने धुलोहरु वायुमण्डलमा पुगे ।
‘जलेको इन्धनबाट पनि पोलिसाइक्लिक अरोमेटिक हाइड्रोकार्बन्स (पिएचएस) नामक कम्पाउन्ड तथा सल्फर डाइअक्साइड र निट्रोजन अक्साइडजस्ता विषाक्त ग्यासहरु बन्छन् । यसले एसिड वर्षा गराउँछ,’ अमेरिकाको कार्नीजी मेलोन विश्वविद्यालयका सिभिल तथा वातावरणीय इन्जिनियरिङका प्रोफेसर पिटर एडम्सले भने ।
प्रायः अवस्थामा इन्धनको ट्यांक केही घण्टाभित्रै जलिसक्छ । तर, कुवेतमा २५ वर्षअघिको खाडी युद्धमा देखिएअनुसार तेलखानीमा बिस्फोटपछि महिनौंसम्म आगो लागिरहेको हुनसक्छ ।
मानिसको रौंभन्दा ४० गुणा साना आँखाले नदेखिने धुलोका साना कणहरु फोक्सोमा गहिरोसँग छिरेर रक्तनलीमा प्रवेश गर्छन् । यसले श्वासप्रश्वास तथा मुटुको समस्या सिर्जना गर्छ । उमेर नपुग्दै मृत्यु हुनसक्छ । पिएएचले क्यान्सरको जोखिम पनि बढाउँछ ।
इरानमा विश्व स्वास्थ्य संगठन र देशको स्वास्थ्य तथा वातारण विभागका अधिकारीहरुले मानिसलाई घरभित्रै बस्न र मास्क लगाउन सल्लाह दिएका छन् । उनीहरुले वर्षा निकै विषाक्त रहेको र यसले छालामा जलन तथा फोक्सोमा क्षति पुर्याउने जोखिम रहेको चेतावनी दिए ।
‘यस्ता घटनाबाट पक्कै पनि गम्भीर स्वास्थ्य समस्या निम्तन्छन्,’ अमेरिकाको कोलुम्बिया विश्वविद्यालयका केमिकल इन्जिनियरिङ प्रोफेसर भी फाय म्याकनिलले भनिन् । ‘नियमित वायु प्रदूषणले पनि स्वास्थ्य समस्या बढाउनसक्छ र अस्पताल भर्ना हुनुपर्ने अवस्था निम्त्याउनसक्छ । विशेषगरी ज्येष्ठ नागरिक, बालबालिका र पहिल्यै स्वास्थ्य समस्या भएकाहरुमा यस्तो समस्या देखिन्छ,’ वायुमण्डलीय रसायनशास्त्रकी विज्ञ समेत रहेकी म्याकनिलले भनिन्,‘ तर यो त स्पष्टै उच्च तहको प्रदूषण छ । त्यहीकारण स्वास्थ्य समस्या देखिन्छ ।’
प्रदूषित वर्षाले खानेपानीका ट्यांकीमा पनि संक्रमण निम्त्याउनसक्ने चिन्ता इरानीहरुलाई छ ।
