यूएईले इरानमाथि आक्रमणका लागि आफ्नो भूगोल वा आकाश प्रयोग गर्न नदिने स्पष्ट गर्दागर्दै पनि इरानले आक्रमण गर्नु अन्यायपूर्ण रहेको अबुशाहाबले बताए
काठमाडौँ — संयुक्त राष्ट्रसंघले इरानले खाडी राष्ट्रमाथि गरिरहेको आक्रमणको निन्दा गरेको छ । युएइले राष्ट्रसंघमा लगेको निन्दा प्रस्तावमा इरानले यूएई, अन्य खाडी सहकार्य परिषद् (जिसिसी) का सदस्य राष्ट्र तथा जोर्डनमाथि अवैध रूपमा मिसाइल र ड्रोन आक्रमण गरेकाे उल्लेख छ । यस्तो कदम रोक्न पनि माग गरिएको छ ।
यस प्रस्तावलाई राष्ट्रसंघले पारित गरेको हो । १ सय ३५ देशले प्रस्तावको समर्थन गरे ।।
संयुक्त राष्ट्रसंघका लागि युएइका स्थायी प्रतिनिधि मोहम्मद अबुशाहाबले आफ्नो देशमा भएका आक्रमणबारे संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई जानकारी गराएका छन्। उनले खाडी समन्वय परिषद् (जिसिसी) का सदस्य देशहरू र जोर्डनमाथि भएका आक्रमणको पनि निन्दा गरे ।
अबुशाहाबका अनुसार यूएईका सहर र महत्वपूर्ण पूर्वाधारलाई निशाना बनाइएको छ । यस पीडादायी घडीमा आफ्ना जनताले देशको धैर्य र दृढताको पनि उनले तारिफ गरेका छन् । “इरानले हाम्रो समाजमा त्रास फैलाउने प्रयास गर्यो, तर हाम्रो जनताले एकताबद्ध भई ती आक्रमणहरूलाई सामना गरे,” उनले सुरक्षा परिषद् बैठकमा भनेका छन्।
यूएईले इरानमाथि आक्रमणका लागि आफ्नो भूगोल वा आकाश प्रयोग गर्न नदिने स्पष्ट गर्दागर्दै पनि इरानले आक्रमण गर्नु अन्यायपूर्ण रहेको उनले बताए ।
अन्तर्राष्ट्रिय कानुनले मान्यता दिएको आत्मरक्षाको अधिकार प्रयोग गरी आफ्नो भू–क्षेत्र, नागरिक र महत्वपूर्ण पूर्वाधार जोगाउन आवश्यक कदम चालिने प्रतिबद्धता उनले व्यक्त गरे ।
