अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धमा आफु विजयी भइसकेको घोषणा गरेका छन्
काठमाडौँ — इरानमा युद्धपछि ६ लाखदेखि १० लाख परिवार बिस्थापित भएको आँकलन शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय निकाय (यूएनएचसीआर) ले गरेको छ । ती परिवारका झन्डै ३२ लाख जनसंख्या बिस्थापित भएको यूएनएचसीआरको आँकलन छ ।
धेरैजसो मानिसहरु तेहरान र उत्तरी इरानबाट अन्यत्र शहरमा सुरक्षा खोज्न भागिरहेको यूएनएनसीआरले जनाएको छ । अमेरिका–इजरायलले २८ फेब्रुअरीदेखि तेहरानसहित उत्तरतर्फका शहरमा भीषण आक्रमण गरेका छन् । सार्वजनिक पूर्वाधार, अस्पताल र विद्यालयसमेत आक्रमणमा पर्दा मानवीय संकट निम्तिएको छ ।
केही वर्ष पहिले अफगानिस्तानबाट शरण खोज्दै इरान आएकाहरु यहाँ थप समस्यामा परेका छन् । ‘अफगानहरु पहिल्यैदेखिको अनिश्चित अवस्था र सीमित सहयोग सञ्जालका कारण विशेष गरी कमजोर छन् । बढ्दो असुरक्षा र आवश्यक सेवाहरूमा उनीहरुको सीमित पहुँच थियो,’ युएनएचसिआरले जनाएको छ ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण गरेपछि युद्ध सुरु भएको थियो । पहिलो दिनको आक्रमणमा इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेइसहित उच्च सैन्य कमान्डरहरू तथा सर्वसाधारण मारिएका थिए । संयुक्त राष्ट्रसङ्घका लागि इरानका स्थायी प्रतिनिधि अमिर–सइद इरवानीका अनुसार अहिलेसम्म इरानमा मारिनेको संख्या कम्तिमा १३ सय ४८ छ ।
त्यस्तै १७ हजारभन्दा धेरै घाइते भएको पनि उनले बताएका छन् । अहिलेसम्म अमेरिकाका सातजना सैनिक युद्धमा मारिएका छन् । त्यस्तै, १ सय ४० जना घाइते छन् । यसमध्ये अधिकांशको अवस्था सामान्य रहेको अमेरिकी रक्षा विभागले जनाएको छ । १ सय ८ जना ड्युटीमै फर्किसकेका छन् । अमेरिकाले गत मंगलबारयता तेहरानसहितका शहरहरुमा भीषण आक्रमण गरिरहेको छ । इजरायलले पनि लेबनानमा आक्रमण गरिरहेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धमा आफु विजयी भइसकेको घोषणा गरेका छन् । केन्टुच्कीको हेर्बनमा आयोजित रिपब्लिकन पार्टीको चुनावी र्यालीलाई सम्बोधन गर्दै उनले भने, ‘युद्ध जितिसक्यौं । तर, हामी चाडैं फर्कन चाहदैनौं ।’
उनले इरानका ८५ प्रतिशत ड्रोनहरु अमेरिकाले खसालेको दाबी गरे । ‘हामीले उनीहरुका कारखानालाई जलाएका छौं,’ ट्रम्पले भने, ‘हामी हरेक दुई वर्षमा त्यहाँ जान चाहदैनौं । त्यसैले काम फत्ते गर्नेछौं,’ ट्रम्पले भने ।
ट्रम्पको यस्तो दाबीका बाबजुद इरानको अर्धसैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आइआरजीसी) र नियमित सेनाले इजरायल र पश्चिम एशियाका विभिन्न क्षेत्रमा ड्रोन तथा मिसाइल आक्रमण गरिरहेको छ । हर्मुज जलघाँटीमा कुनै पनि जहाजलाई तेल ओसारपसारमा सक्रिय नहुन आइआरजीसीले चेतावनी दिएको छ ।
उसले हर्मुज जलघाँटीबाट एक लिटर तेल पनि बाहिर निस्कने नदिने चेतावनी दिएको थियो । यसअघि अमेरिकी गुप्तचरहरुले इरानले हर्मुज क्षेत्रमा पानीमुनी बम बिछ्याउन सुरु गरेको दाबी गरेका थिए ।
यसैबीच बिहीबार इराकको तटनजिक पर्सियन खाडीमा दुई तेल ट्याङ्करमा आक्रमण भएको छ । उक्त घटनामा ३८ जना चालक दलका सदस्यलाई उद्धार गरिएको छ भने एक जनाको मृत्यु भएको इराकको सुरक्षा मिडिया सेलका प्रमुख साद मानले बताए ।
पछिल्ला ४८ घण्टाभित्र जापान र थाइल्यान्डसहित ६ वटा जहाजहरु पश्चिम एशियाको समुद्री क्षेत्रमा आक्रमणमा परेका छन् । तर, अहिलेसम्म कसैले पनि यस आक्रमणको जिम्मा लिएको छैन ।
हर्मुजमा बढेको तनावले विश्वभर उर्जा संकट निम्त्याएको छ । उर्जा उत्पादक देशहरुको संगठन इन्टरनेशनल इनर्जी एशोसियसन (आईईए) ले इतिहासमै सबैभन्दा ठूलो भण्डार खोल्ने निर्णय गरेपनि तेलको भाउ घटेको छैन ।
अमेरिका, बेलायत र अधिकांश पश्चिमा मुलुक सम्मिलित आईइएले यसअघि सदस्य राष्ट्रको रणनीतिक भण्डारबाट ४ सय मिलियन ब्यारेल तेल निकालेर बजारमा पठाउने निर्णय गरेको थियो ।
तर, वैश्विक रुपमा तेलको भाउ बढेको छ । बिहीबार अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको मुल्य फेरि १ सय डलर माथि पुगेको छ । यसअघि सोमबार यसको भाउ बढेर अधिकतम १ सय २० डलरसम्म पुगेको थियो ।
तर, डोनाल्ड ट्रम्पले युद्ध चाडैं सकिने घोषणा गरेपछि मंगलबार भाउ केही घटेको थियो । बुधबार फेरि बजार भाऊ बजेर बिहीबारसम्म आइपुग्दा १ सय डलर माथि देखिएको हो ।
यसैबीच संयुक्त राष्ट्र सुरक्षा परिषद्ले खाडी सहयोग परिषद् (जीसीसी) देशहरू र जोर्डनमाथि इरानले गरेको आक्रमणको निन्दा प्रस्ताव पारित गरेको छ । १५ सदस्यीय परिषद्मा प्रस्तुत उक्त प्रस्ताव १३–० मतले पारित भएको थियो । चीन र रुस मतदानमा उपस्थित भएनन् ।
प्रस्तावलाई युएइले अघि सारेको थियो । जसमा १ सय ३५ भन्दा धेरै देशले समर्थन गरेका थिए । प्रस्तावमा बहराइन, कुवेत, ओमान, कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र जोर्डनमाथि इरानले गरेको आक्रमणलाई अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भन्दै कडा शब्दमा निन्दा गरिएको छ ।
संयुक्त राष्ट्रसंघका लागि युएइका स्थायी प्रतिनिधि मोहम्मद अबुशाहाबले यूएईका सहर र महत्वपूर्ण पूर्वाधारलाई निशाना बनाइएको बताए । यूएईले इरानमाथि आक्रमणका लागि आफ्नो भूगोल वा आकाश प्रयोग गर्न नदिने स्पष्ट गर्दा–गर्दै पनि इरानले आक्रमण गर्नु अन्यायपूर्ण रहेको उनले बताए ।
इरानका राष्ट्रपति मसुद पेजेश्कियनले युद्ध अन्त्यका लागि तीन प्रमुख शर्त अघि सारेको छ । आफ्नो सार्वभौमसत्ताको अन्तर्राष्ट्रिय मान्यता, इजरायल–अमेरिका आक्रमणमा ध्वस्त भएका पूर्वाधार तथा मारिएका सर्वसाधारणको क्षतिपुर्ति र फेरि आक्रमण नहुने अन्तर्राष्ट्रिय ग्यारेन्टी नभएसम्म युद्ध नरोकिने राष्ट्रपति पेजेश्कियनले बताए ।
उनले सामाजिक सञ्जाल एक्समार्फत यस्तो घोषणा गरेका हुन् । उनले यसअघि रुस र पाकिस्तानका नेतासँग भएको कुराकानी भएको पनि बताएका छन् ।
