कच्चा तेलको भाउ १ सय डलर माथि

हर्मुजबाट एक लिटर तेल पनि बाहिर निस्कन नदिने इरानको दाबी छ । उसले यस क्षेत्रमा ठूलो संख्यामा ड्रोन तथा युद्ध डुंगा परिचालन गरेको छ ।

फाल्गुन २८, २०८२

कान्तिपुर संवाददाता

Crude oil price above $100

काठमाडौँ — उर्जा उत्पादक देशहरुको संगठन इन्टरनेशनल इनर्जी  एशोसियसन (आईईए) ले इतिहासमै सबैभन्दा ठूलो भण्डार खोल्ने निर्णय गरेपनि तेलको भाउ घटेको छैन । अमेरिका, बेलायत र अधिकांश पश्चिमा मुलुक सम्मिलित आईइएले यसअघि सदस्य राष्ट्रको रणनीतिक भण्डारबाट  ४ सय मिलियन ब्यारेल तेल निकालेर बजारमा पठाउने निर्णय गरेको थियो । 

यसका बाबजुद वैश्विक रुपमा तेलको भाउ बढेको छ । बिहीबार अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको मुल्य फेरि प्रति ब्यारेल १ सय डलर माथि पुगेको छ ।

यसअघि सोमबार यसको भाउ बढेर अधिकतम १ सय २० डलरसम्म पुगेको थियो । तर, डोनाल्ड ट्रम्पले युद्ध चाडैं सकिने घोषणा गरेपछि मंगलबार भाउ केही घटेको थियो । बुधबार फेरि बजार भाऊ बजेर बिहीबारसम्म आइपुग्दा प्रतिब्यारेल १ सय डलर माथि देखिएको हो । 

इरानले हर्मुजको सामुद्रिक घाँटीमा नियन्त्रण कायम राखेर यहाँबाट कुनै पनि जहाज निस्कन दिएको छैन । यस क्षेत्र हुँदै यात्रा गर्न खोज्ने थाइल्यान्ड र जापानका जहाजसहित कुल ६ जहाज आक्रमणमा परिसकेका छन् । तर, आक्रमणको जिम्मा कसैले लिएको छैन । 

हर्मुजबाट एक लिटर तेल पनि बाहिर निस्कन नदिने इरानको दाबी छ ।  उसले यस क्षेत्रमा ठूलो संख्यामा ड्रोन तथा युद्ध डुंगा परिचालन गरेको छ ।

पश्चिम एशियाका अधिकांश देशबाट एशियाली क्षेत्रमा हर्मुजको घाँटी हुँदै तेल ओसारिन्छ । यसरी विश्व बजारको कुल २० प्रतिशत तेल र ग्याँसको हिस्सा हर्मुज हुँदै निस्कन्छ । 

यसअघि हर्मुजमा इरानले पानीमुनी बम राख्ने खोजेको दाबी अमेरिकी गुप्तचरहरुले लगाएका थिए । त्यसरी बम राख्ने प्रयोजनका लागि परिचालित १६ वटा जहाजलाई मंगलबार ध्वस्त गरिएको दाबी अमेरिकाले गरेको छ । तर, यसका बाबजुद हर्मुज इरानकै नियन्त्रणमा छ । 

बिहीबार पनि इरान र अमेरिका—इजरायलले एकअर्काविरुद्ध आक्रमण जारी गरेका छन् । पश्चिम एशियाका तेलखानी, उर्जा पूर्वाधार र पानी प्रशोधन केन्द्रहरु पनि यसक्रममा निशानामा परेका छन् । 

कान्तिपुर

Link copied successfully