इरान युद्ध अन्त्यका लागि कूटनीतिक पहल गर्दै चीन 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले चीनले युद्धविराम गर्न र संवादमा फर्किएर राजनीतिक समाधान निकाल्न आग्रह गरेको बताए

फाल्गुन २८, २०८२

कान्तिपुर संवाददाता

China taking diplomatic initiative to end Iran war

काठमाडौँ — चीनले इरान युद्धलाई कुटनीतिक प्रयासमार्फत समाप्त गर्ने पहल थालेको छ । पश्चिम एशियामा युद्धले भयावह अवस्था निम्त्याएको समय सम्बन्धित देशहरुसँग चीनले छलफल अघि बढाएको हो । 

पछिल्ला १० दिनमा विदेशमन्त्री वाङ यीले रुस, ओमान, इरान, फ्रान्स, इजरायल, साउदी अरेबिया, युएई, कुवेत, बहराइन, कतार र पाकिस्तानसँग छलफल गरेको चाइना डेलीमा उल्लेख छ । ‘द्वन्द्वमा सहभागी, छिमेकी खाडी राष्ट्र वा ठूलो शक्तिसँग वार्ता गरिएको छ,’ समाचारमा उल्लेख छ । 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले चीनले युद्धविराम गर्न र संवादमा फर्किएर राजनीतिक समाधान निकाल्न आग्रह गरेको बताए । बुधबार सम्पन्न नियमित पत्रकार सम्मेलनमा उनले यस्तो जानकारी दिएका हुन् । 

गुओले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्य र पश्चिम एशियाका देशहरुको मित्रका रुपमा चीनले शान्तिको प्रयास गरिरहने बताए । उनले न्याय र निष्पक्षताको लागि बोल्न र संवाद बलियो बनाउन कुनै असर नराखिने बताए । 

पश्चिम एशिया मामिलका लागि चिनियाँ सरकारका विशेष दूत झाई जुन छलफलका लागि मध्यपूर्वमै छन् । गत आइतबार उनले साउदी अरेबियाको राजधानी रियादमा खाडी समन्वय परिषद् (जीसीसी) का महासचिव जसेम मोहम्मद अल्बुदाईवी र साउदी विदेशमनत्री फैसल बिन फर्हानसँग भेटेका थिए । मंगलबार झाईले युएईका उपप्रधान तथा विदेशमन्त्री शेख अब्द्ल्लाह बिन जायदसँग भेटे । 

आइतबार बेइजिङमा बोल्दै विदेशमनत्री वाङ यीले यस द्वन्द्वबाट कसैलाई फाइदा नहुने बताए । ‘सशस्त्र द्वन्द्वले घृणा र नयाँ संकटमात्रै बढाउँछ । पश्चिम एशियाको इतिहासले युद्धबाट कुनै समाधान ननिस्किएको बताउँछ,’ उनले भने । 

कान्तिपुर

Link copied successfully