इरान युद्धले तेलको मूल्य आकासिएपछि रुससँग संवाद बढाउँदै अमेरिका

ट्रम्पले इरानमा अमेरिकी सेनाको अपरेसन सफलतातर्फ अघि बढिरहेको भन्दै यसअघि अपेक्षा गरेको चार साताको समयभन्दा अगाडि नै युद्ध सकिने दाबी गरेका छन् ।

फाल्गुन २७, २०८२

अन्वेषण अधिकारी

US steps up dialogue with Russia as Iran war sends oil prices soaring

काठमाडौँ — मध्यपूर्वको युद्ध लम्बिँदै जाँदा विश्वमा तेलको भविष्यबारे फेरि चिन्ता सुरु भएको छ । इन्धन बजारमा देखिएको उतारचढावले एक पटक फेरि अन्तर्राष्ट्रिय भूराजनीतिलाई तरंगित फारेको छ । अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट त्रुडको कारोबार सोमबार १ सय डलरभन्दा माथि पुगेको थियो । उच्च बिन्दुमा १ सय २० डलरसम्म पनि कारोबार भयो । २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गर्दा सिर्जना भएको अनिश्चित अवस्थापछि ब्रेन्ट क्रुडको कारोबार १ सय डलरभन्दा माथि पुगेको यो नै पहिलो पटक हो । मंगलबार एक पटक ९० डलरभन्दा कममा झर्‍यो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध चाँडै समाप्त हुने घोषणा गरेसँगै मूल्यवृद्धि फेरि रोकिएको थियो । ट्रम्पले इरानमा अमेरिकी सेनाको अपरेसन सफलतातर्फ अघि बढिरहेको भन्दै यसअघि अपेक्षा गरेको चार साताको समयभन्दा अगाडि नै युद्ध सकिने दाबी गरेका छन् । तर, इरानले यस दाबीलाई खारेज गर्दै अमेरिका–इजरायलविरुद्ध शक्तिशाली प्रत्याक्रमण गरिने बताएपछि तेलको मूल्य फेरि उकालो लाग्दै गएको छ । 

तेल बजारमा देखिएको यो उतारचढावबीच अमेरिकी राष्ट्रपति ट्रम्पले वैश्विक अभाव पूर्ति गर्न केही देशमाथि यसअघि लगाइएका इन्धन प्रतिबन्ध हटाउने घोषणा गरेका छन् । ट्रम्पले सोमबार फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै भने, ‘हामीले केही देशमाथि प्रतिबन्ध लगाएका छौं । हर्मुज घाटी खुलाउनका लागि हामी ती प्रतिबन्ध हटाउँदै छौं ।’ विश्वकै ठूलो तेल निर्यातकर्ता कम्पनी साउदी आराम्कोले हर्मुजको घाटी बन्द भइरहेमा विश्व तेल बजारमा ठूलो समस्या पर्ने चेतावनी दिएको छ । 

हर्मुजको घाँटी इरान र बाँकी अरब देशको जलसीमा हो । यहाँ लामो समयदेखि इरानको सैन्य उपस्थिति बलियो छ । यस क्षेत्रमा आउने ट्यांकरहरूमाथि आक्रमण गर्ने इरानको चेतावनीसँगै केही समयदेखि यहाँबाट हुने तेल आपूर्ति प्रभावित बन्दै आएको छ । युद्धअघि विश्वको २० प्रतिशत तेल र २० प्रतिशत एलएनजी ग्यास यही सामुद्रिक मार्ग हुँदै पश्चिम एसियाबाट निस्कने गर्छ । साउदी अरब, यूएई, कतार, बहरान, जोर्डन, इराकलगायत देशमा इरानले प्रत्याक्रमण गरिरहेको छ । आफ्ना ध्वस्त पूर्वाधार तथा तेल आपूर्ति गर्ने मार्गमा देखिएको अवरोधले यी देशहरू दोहोरो मारमा छन् । यहाँका तेल तथा ग्यास कम्पनीहरूले आफ्नो उत्पादन क्षमता पनि घटाएका छन् । 

राष्ट्रपति ट्रम्पले पश्चिम एसियाबाट तेल तथा ग्यासको निर्यात सुचारु नभएसम्म इन्धन प्रतिबन्ध हटाउने संकेत गरेका हुन् । अमेरिकाले रुस, इरान र भेनेजुएलामाथि त्यस्तो प्रतिबन्ध लगाएको थियो । यतिबेला इरान युद्धमा छ । तर भेनेजुएलाको सरकारले ट्रम्पसँग सहकार्य गरिरहेकाले त्यहाँ खास समस्या छैन । तसर्थ, ट्रम्पले प्रतिबन्ध हटाउने घोषणा गरेर रुसलाई विश्व बजारमा पहुँच दिन खोजेको विश्लेषण अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले गरेका छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले स्रोतहरूलाई उद्धृत गर्दै ट्रम्पले रुसमाथिको प्रतिबन्ध हटाउन लागेको जनाएको छ । सोमबारै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र ट्रम्पबीच टेलिफोन वार्ता भएको थियो । ट्रम्प प्रशासनले इन्धनको मूल्यवृद्धि रोक्नका लागि आफ्नो सामरिक भण्डारबाट तेल निकाल्ने वा अमेरिकाबाट तेल निर्यातमा कडाइ गर्ने विकल्प पनि अघि सारेको रोयटर्सको समाचारमा उल्लेख छ । गत साता अमेरिकाले भारतलाई पनि रुसी तेल किन्ने छुट दिएको थियो । जबकि इरान युद्ध सुरु हुनअघिसम्म भारतलाई रुससँगको तेलको निर्भरता घटाउन दबाब दिइरहेको थियो । युरोपेली युनियन (ईयू) भित्र पनि रुसमाथि लागेको इन्धन तथा ऊर्जा प्रतिबन्ध हट्नुपर्ने माग उठेको छ । ईयू सदस्य राष्ट्र हंगेरीले यस्तो माग राखेको हो । ‘मध्यपूर्वमा युद्ध चलिरहेको र हर्मुजको घाटी बन्द भइरहेको अवस्थामा वैश्विक ऊर्जा आपूर्तिको मुख्य हिस्सा अहिले जोखिममा छ । यदि ब्रसेल्स (ईयू मुख्यालय) ले रुसमाथिको प्रतिबन्ध कायम राख्यो भने यसले युरोपका जनता र युरोपेली अर्थतन्त्रलाई नराम्ररी हानि पुर्‍याउनेछ । ईयूले विचारधारा होइन, युरोपेलीहरूको हित रक्षालाई प्राथमिकता राख्नुपर्छ,’ हंगेरीका विदेशमन्त्री सियाजार्तो पिटरले भने । 

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ऊर्जा संकट सिर्जना भएको अहिलेको अवस्थामा युरोपलाई तेल र ग्यास आपूर्ति गर्न रुस तयार रहेको संकेत गरेका थिए । विश्वको दोस्रो ठूलो तेल निर्यातकर्ता र सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डार भएको रुसले मध्यपूर्वको संकटबाट फाइदा उठाउनुपर्ने पुटिनको मत छ । तर अहिलेको मूल्यवृद्धि सम्भवतः अस्थायी हुने उनको मूल्यांकन छ । उनले रुसी कम्पनीहरूलाई यसअघि नै ठूलो परिमाणमा तेल र ग्यास निर्यातका लागि तयार रहन आग्रह गरेका छन् ।

ट्रम्पले इरानलाई आत्मसमर्पण गर्न वा अमेरिकाले चाहेअनुसारको नयाँ सर्वोच्च नेता चयन गर्न चेतावनी दिएका थिए । तर, इरानले सोमबार आयातुल्लाह अली खामेनेईका छोरा मोज्तबा खोमेनेईलाई उनको उत्तराधिकारी घोषणा गरेर युद्धलाई जारी राख्ने स्पष्ट सन्देश दियो । ट्रम्पले इरानको मिसाइल कार्यक्रम तहस–नहस भइसकेको दाबी गरेका थिए । तर, यस दाबी खण्डन गर्दै इरानले शक्तिशाली मिसाइलमार्फत इजरायल र पश्चिम एसियाका अन्य देशमाथि प्रहार गरिने बताएको छ । 

दोस्रो विश्वयुद्धपछि बाँकी विश्वलाई लामो समय प्रभावित गरिरहेको तेलको राजनीति २०१० को दशकपछि वैकल्पिक ऊर्जाको विकासले केही सेलाएको देखिन्थ्यो । १९५६ मा स्वेज च्यानल बन्द गर्ने इजिप्टको निर्णयले उपनिवेशवादी शक्तिहरूको घट्दो प्रभावलाई बाँकी विश्वसामु उजागर गरिदिएको थियो । १९७३ मा अरब–इजरायल युद्धका दौरान अमेरिका र पश्चिमा देशहरूले इजरायललाई साथ दिएका थिए । यसको विरोधमा अरब देशहरूले अमेरिका र इजरायललाई समर्थन गर्ने देशहरूमाथि तेलको प्रतिबन्ध लगाए । जसकारण अमेरिकामा झन्डै चार गुणाले तेलको भाउ बढेको थियो । कुवेतको तेल खानीमा नियन्त्रण जमाउने इच्छाशक्तिले १९९० मा इराकका सद्दाम हुसेनलाई त्यहाँ आक्रमण गर्न प्रेरित गरेको थियो । यस आक्रमणपछि अमेरिका र पश्चिमासँग चिसिएको सम्बन्ध सद्दामलाई भारी पर्‍यो । सम्बन्ध र अविश्वास गहिरिँदै जाँदा २००३ मा अमेरिकाले इराकमाथि आक्रमण गर्‍यो ।

जनवरी २००९ मा भुक्तानी विवादपछि रुसले युक्रेन हुँदै जाने ग्यासको पाइपलाइन गाजप्रोम छोटो समयका लागि बन्द गरेको थियो । यसले रुसी ग्यास र तेलमा युरोपको निर्भरतालाई उजागर गर्‍यो । पछिल्ला वर्षहरूमा प्रकाश, हावा तथा पानीमार्फत स्थानीयस्तरमै उत्पादन हुने वातावरणमैत्री ऊर्जाको प्रयोग बढ्दै जाँदा तेल तथा प्राकृतिक ग्यासको महत्त्व घट्ने विश्लेषण आकलन गरिएको थियो । तर पश्चिम एसियामा जारी द्वन्द्वले फेरि एक पटक तेलमा विश्व बजारको अत्यधिक निर्भरतालाई उजागर गरेको छ । ट्रम्पको पहिलो कार्यकालमा इरान र भेनेजुएलाका लागि अमेरिकी दूत रहेका इलिट अब्राम्सले बिजनेस स्ट्यान्डर्डसँग भनेका छन्, ‘मानिसहरूको अनुमानविपरीत फेरि पुरानै खेल सुरु भएको छ ।

भेनेजुएलाका तेल खानीहरू नियन्त्रण गर्ने योजनाले ट्रम्प प्रशासनलाई त्यहाँका राष्ट्रपति निकोलस मदुरोको अपहरण गर्न प्रेरित गरेको थियो । क्युवामा अमेरिकाले सत्ता परिवर्तन गर्नका लागि तेललाई नै प्रमुख हतियार बनाएको छ । मदुरोको अपहरणपछि ट्रम्पको दबाबमा रहेको भेनेजुएला क्युवामा तेल आपूर्ति बन्द गर्न बाध्य छ । मेक्सिकोले पनि ट्रम्पको दबाबमा क्युवालाई तेल बेच्न कम गरेको छ । जसकारण, दैनिक जीवनमै ठूलो संकट छ ।

भारतमा भान्सासम्मै पुग्यो इरान–अमेरिका युद्धको असर

भारतको खाना पकाउने ग्यासको अभावले सर्वसाधारण तथा उद्योगीहरू प्रभावित भएका छन् । ग्यासका डिपोहरूमा मानिसको लाइन लागेको छ । त्यस्तै, ग्यासको भाउ ६० भारुले बढेको छ । 

होटल तथा पर्यटन क्षेत्र संकटमा धकेलिएका छन् । सरकारले एलपीजी ग्यास वितरणमा अस्पताल, शैक्षिक क्षेत्रलगायत आपत्कालीन प्रयोजनलाई प्राथमिकतामा राखेको छ । जसकारण, बेंगलुरु, दिल्ली, हैदराबाद र मुम्बईजस्ता ठूला सहरका रेस्टुरेन्टहरूले संकट सामना गरिरहेका छन् । होटल व्यवसायी संघहरूले अस्थायी रूपमा व्यवसाय बन्द गर्ने, कार्य सञ्चालनको समय घटाउनेलगायत काम गरेका छन् । व्यवसायीहरूले ग्यासको धेरै ठूलो भण्डारण नगर्ने भएकाले यस्तो समस्या देखिएको हो ।

स्विग्गी, जोमाटोजस्ता फुड डेलिभरी प्लाटफर्महरूमा पनि असर देखिएको छ । सरकारले कालोबजारी रोक्न र आपूर्ति सहज बनाउन थुप्रै कदम चालिएको बताएको छ । देशभित्रका रिभाइनरीहरूलाई एलपीजी उत्पादन बढाउन निर्देशन दिइएको छ । खाना पकाउने ग्यास वितरण गर्ने क्रममा ठूलो उद्योगीभन्दा सर्वसाधारणलाई प्राथमिकतामा राख्न सरकारले आदेश जारी गरेको छ । भारतमा वार्षिक झन्डै ३१.३ मिलियन टन एलपीजी खपत हुन्छ । जसको झन्डै ६२ प्रतिशत आयात गरिएको हुन्छ । यीमध्ये धेरैजसो आयात सामान्यतया पश्चिम एसियाबाट हर्मुजको घाटी हुँदै आउँछ । हर्मुजको बाटो अवरुद्ध भएसँगै पश्चिम एसियाका तेल उत्पादक देशहरूले पनि आफ्नो उत्पादन घटाउन थालेका छन् । कतार इनर्जीले इरानको आक्रमणपछि प्राकृतिक ग्यासको उत्पादन तत्कालका लागि बन्द गरिएको जनाएको छ । 

इराकले आफ्नो दक्षिणी तेल खानीमा उत्पादन करिब ७० प्रतिशतले झारेर १.३ मिलियन ब्यारेल प्रतिदिन उत्पादन गरेको छ । कुवेत पेट्रोलियम कर्पोरेसनले पनि आपत्काल घोषणा गरेर उत्पादन घटाउन सुरु गरेको छ । पश्चिम एसियामा जारी यस तनावले भारतलाई एलपीजी ग्यासका लागि नयाँ विकल्प खोज्नुपर्ने अवस्थामा पुर्‍याएको छ । भारतीय अधिकारीहरूले अल्जेरिया, अस्ट्रेलिया, क्यानडा र नर्वेसँग कुराकानी भइरहेको बताएका छन् ।(एजेन्सीको सहयोगमा)

अन्वेषण

Link copied successfully