अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी स्थल सेना खटाउने विकल्प खुला रहेको जनाएका छन्
एजेन्सी — अमेरिका–इजरायलले इरानमा आक्रमण सुरु गरेको १० दिनमा कम्तिमा १ सय ४० जना सैनिक घाइते भएका छन् । त्यसमध्ये ८ जना गम्भीर घाइते रहेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
'अपरेशन इपिक फ्युरी सुरु भएको १० दिनमा करिब १४० अमेरिकी सैनिक घाइते भएका छन् । अधिकांशको चोट सामान्य छ । १ सय ८ सैनिक उपचारपछि पुनः ड्युटीमा फर्किएका छन् । आठजना गम्भीर घाइते सैनिकलाई उच्चस्तरको उपचार सेवा उपलब्ध गराइएको छ,' विज्ञप्तिमा भनिएको छ ।
यसअघि अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले दुई अधिकारीलाई उद्रृत गर्दै १ सय ५० सैनिक घाइते भएको समाचार प्रकाशित गरेको थियो ।
अहिलेसम्म इरान युद्धमा सातजना सैनिकको मृत्यु भएको छ । कुवेतमा स्वास्थ्य समस्या देखिएपछि थप एक सैनिकको मृत्यु भएको थियो ।
इरानमा अमेरिका–इजरायलको आक्रमणमा परेर सर्वोच्च नेता आयतुल्लाह अली खामेनेइसहित १२ सय ५० भन्दा धेरैको मृत्यु भइसकेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी स्थल सेना खटाउने विकल्प खुला रहेको जनाएका छन् ।
