इरानमा सरकार ढाल्न कठिन हुने अमेरिकी गुप्तचरको आँकलन, युद्ध लम्बिने जोखिम

'पछिल्ला दिनमा इरानी ड्रोनहरुले त्यही स्थानमा आक्रमण गरेका छन्, जहाँ अमेरिकी सेना तैनाथ छ । '

फाल्गुन २४, २०८२

कान्तिपुर संवाददाता

US intelligence estimates that it will be difficult to overthrow the government in Iran, risking a prolonged war

काठमाडौँ — अमेरिकी राष्ट्रिय गुप्तचर परिषद् (एनआईसी) ले तयार गरेको अन्तरिक  प्रतिवेदनमा इरानमाथि ठूलो आक्रमण गरेपनि त्यहाँको सरकार ढल्ने संभावना कम रहेको उल्लेख छ । 

द वाशिंगटन पोस्टले यस प्रतिवेदनबारे जानका तीन स्रोतहरुलाई उद्रृत गर्दै लेखेको छ, ‘तीन देखि चार सातासम्म युद्ध समाप्त हुने ट्रम्प प्रशासनको दाबीमा यस रिपोर्टले शंका उत्पन्न गरेको छ ।’

नाम नखुलाउने शर्तमा उनीहरुले बताएअनुसार युद्ध सुरु भएको एक सातापछि यो रिपोर्ट तयार गरिएको थियो । इरानका विपक्षीहरुले देशले सत्ता लिनसक्ने संभावना असंभवप्रायः रहेको प्रतिवेदनमा उल्लेख छ । 

यसअघि सीएनएनमा प्रकाशित समाचारमा रुसले आफ्ना अत्याधुनिक ओभरहेड स्याटेलाइट तस्विरमार्फत प्राप्त हुने अधिकांश जानकारी  इरानलाई दिएको उल्लेख छ । 

रुसबाट गोप्य जानकारी हासिल गरेरमात्रै इरानले प्रत्याक्रमण गरेको हुनसक्ने दाबी गुप्तचर विभागका एक सदस्यले सीएनएनसँग गरेका थिए । ‘पछिल्ला दिनमा इरानी ड्रोनहरुले त्यही स्थानमा आक्रमण गरेका छन्, जहाँ अमेरिकी सेना तैनाथ छ ।  आइतबार अमेरिकी सेना बस्ने कुवेतस्थित अखडामा इरानले आक्रमण गर्दा ६ जना अमेरिकी सैनिकको मृत्यु भएको थियो,’ सीएनएनको समाचारमा उल्लेख छ । 

इरानलाई चीनले थप आर्थिक सहयोग तथा मिसाइलको कम्पोनेन्ट प्रदान गर्ने तयारी गरेको दाबी पनि अमेरिकी गुप्तचरले गरेका छन् । तर यसको स्वतन्त्र पुष्टि भइसकेको छैन । चीनले दुबै पक्षलाई युद्ध रोक्न आग्रह गर्दै आएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले यस युद्धको आगो फैलनसक्ने खतरा रहेको चिन्ता व्यक्त गरेका छन् । 

कान्तिपुर

Link copied successfully