इरानमा मध्यमार्गी धारका नेताहरु संवादमार्फत युद्ध रोक्नुपर्ने पक्षमा देखिएका छन् भने कट्टरपन्थीहरु सर्वोच्च नेता खोमेनेइको हत्याको बदला लिएरै छाड्नुुपर्ने पक्षमा छन् ।
काठमाडौँ — इरानमा सर्वोच्च नेता आयतुल्लाह खामेनेइको निधनसँगै अन्तरिम नेतृत्वमा अमेरिकालाई हेर्ने दृष्टीकोणबारे मतभिन्नता रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी नेताहरुले आफुसँग वार्ता गर्न चाहेको दाबी गरेका थिए ।
इरानमा मध्यमार्गी धारका नेताहरु संवादमार्फत युद्ध रोक्नुपर्ने पक्षमा देखिएका छन् भने कट्टरपन्थीहरु सर्वोच्च नेता खोमेनेइको हत्याको बदला लिएरै छाड्नुुपर्ने पक्षमा छन् ।
यसअघि इरानका राष्ट्रपति मसुद पेजेश्कियनले शनिबार आफ्ना छिमेकीहरुमाथि आत्मरक्षाबाहेकको अवस्थामा आक्रमण नगर्ने जनाएका थिए ।
सरकार सञ्चालनका लागि बनेको तीन सदस्यीय अन्तरिम नेतृत्व परिषद्ले रिभोलुशनरी गार्डस् कप्र्सलाई (आईआरजीसी) यस्तो आदेश दिएको उनले बताएका थिए ।
त्यस्तै, विगतको आक्रमणका लागि माफी मागेका थिए । तर, आईआरजीसीले आक्रमण बन्द गरेको छैन ।
ईरानको राष्ट्रिय सेना तथा आईआरजीसीको कमाण्ड गर्ने निकाय खतम अल अन्वियाका प्रवक्ताले अमेरिका तथा इजरायलका सैन्य आधार रहेका सबै क्षेत्रमा निरन्तर आक्रमण गर्ने बताए ।
युएई, साउदी, बहराइन, कतार लगायत देशमा अमेरिकाका सैन्य अखडा छन् । त्यसको केही घण्टामै दुबई विमानस्थल तथा बहराइनको जुफैर सैन्य अखडामा आक्रमण गरिएको आइआरजीसीले जनाएको छ ।
तीन सदस्यीय परिषद्का सदस्य रहेका प्रधान न्यायाधिस घोलम हुसैन मोसेनी इजेईले शत्रुलाई गोप्य वा सार्वजनिक रुपमा आफ्नो भूभाग प्रयोग गर्न दिएका देशमाथि आक्रमण निरन्तर हुने बताएका छन् ।
राष्ट्रपति र प्रधानन्यायाधिसको फरक अभिव्यक्तीले इरानको नेतृत्वमा रहेको फरक मत उजागर भएको छ ।
सर्वोच्च नेता आयतुल्लाह अली खामेनेइको मृत्युपछि अन्तरिम सरकार सञ्चालनका लागि परिषद् गठन गरिएको थियो । इरानले छिट्टै नयाँ नेता चयन गरिने जनाएको छ ।
