निर्वाचनबारे अन्तर्राष्ट्रिय मिडियाहरुले प्रकाशित गरेका अधिकांश समाचारमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री पदका दाबेदार बालेन शाहको लोकप्रियताको चर्चा गरिएको छ ।
काठमाडौँ — जेनजी आन्दोलनपछि नेपालले पहिलोपटक निर्वाचन सम्पन्न गरेको छ र प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीको उभार देखिएको छ । निर्वाचनबारे अन्तर्राष्ट्रिय मिडियाहरुले प्रकाशित गरेका अधिकांश समाचारमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री पदका दाबेदार बालेन शाहको लोकप्रियताको चर्चा गरिएको छ ।
एशोसियट प्रेस (एपी) ले नेपालमा शान्तपूर्वक निर्वाचन सम्पन्न भएको जनाएको छ । निर्वाचनमा शाह प्रभावशाली व्यक्तिका रुपमा उदाएको एपीको समाचारमा उल्लेख छ ।
शाहले आफ्नो चुनावी अभियानका क्रममा स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारमा जोड दिएको समाचारमा उल्लेख छ । जेनजी आन्दोलनका माग सम्बोधन गर्नुपर्ने, भ्रस्टाचारसँग जुध्नुपर्ने तथा दुई शक्तिशाली छिमेकी भारत र चीनसँगको सम्बन्धलाई सन्तुलित राख्नुपर्ने चुनौती निर्वाचनपछिको सरकारलाई हुने एपीको विश्लेषण छ ।
बेलायती सञ्चारमाध्यम बीबीसीले भ्रस्टाचार, आर्थिक कठिनाइ र असमानता यस चुनावको मुख्य मुद्दा बनेको जनाएको छ । यहीकारण भदौमा आन्दोलन हुँदा ७७ जनाको ज्यान गएको बीबीसीमा उल्लेख छ । झापा–५ मा बालेन र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको भिडन्त विशेष चर्चामा रहेको बीबीसीको समाचारमा उल्लेख छ । चुनावी नतिजाबारे बीबीसीले गरेको विश्लेषण यस्तो छ, ‘यदी बालेनले जिते भने यसले निष्क्रिय बनेको नेपालको शासन प्रणालीमा धक्का दिनेछ ।
तीन दशकभन्दा लामो समयदेखि नेपालले धेरै गठबन्धन सरकार देख्यो । यी सरकार मुख्यतः तीन पार्टीको प्रभूत्वमा थिए । जसमध्ये दुई पार्टी कम्युनिष्ट हुन्,’ बीबीसीले लेखेको छ,‘ जेनजी मतदाताहरुले नयाँ, उर्जावान् पुस्ताले देशको भविष्यलाई आकार दिने विषय बाँकी जनतालाई आश्वस्त गराउनसक्छन् वा दशकाैंदेखि राजनीतिको केन्द्रमा रहेका हेभिवेटहरुले नै शक्ति सिञ्चित गरिरहन्छन् । यसको परीक्षा निर्वाचनले गर्नेछ ।’
बेलायती सञ्चारमाध्यम गार्डियनले ‘पुरानाविरुद्ध शक्तिशाली युवा अभियानको लडाइँमा नेपालीहरुले मत खसाल्दै’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । ‘यस निर्वाचनमा युवा उम्मेदवारहरुको लहर छ । उनीहरुले नेपालको कमजोर अर्थतन्त्रलाई सुधार गर्ने, दशकौंदेखि सत्तामा रहेका पुराना नेताहरुलाई चुनौती दिने र स्थायित्व तथा सुरक्षा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्,’ समाचारमा लेखिएको छ ।
रोयटर्सले ‘युवा नेतृत्वको प्रदर्शनपछि मतदाताले परिवर्तन खोज्दै’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । कृषिप्रधान देश नेपालमा बेरोजगारी र भ्रस्टाचार मौलाएको यसमा उल्लेख छ । एमाले, कांग्रेस र नेकपा पछिल्ला ३ दशकमा नेपाली राजनीतिको केन्द्रमा रहेको र यसक्रममा ३५ वर्षमा ३२ पटक सरकार परिवर्तन भएको यसमा उल्लेख छ । ‘तर, यसपटकको चुनावमा प्रमुख दाबेदारका रुपमा तीन वर्षको इतिहास भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) छ र यसले र्यापरबाट राजनीतिज्ञ बनेका बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको छ ,’ रोयटर्सको समाचारमा उल्लेख छ ।
ब्लुम्वर्गले पनि ‘नेपालका युवा र्यापर बालेन शाह पुराना नेतासँग लडाँइमा’ शीर्षकमा समाचार छापेको छ । जर्मन सञ्चारमाध्यम डिडब्ल्युले ‘साँचो राजनीतिक सुधारको आशमा जेनजी’ शीर्षकमा समाचार छापेको छ । तर यस निर्वाचनमा जेनजी पुस्ताका उम्मेदवारहरुको संख्या निकै कम रहेको तथ्य पनि यसले समावेश गरेको छ । ‘यस उमेर समुहका (१९९७–२०१२ सम्म जन्मिएका) झन्डै ५ प्रतिशतमात्रै उम्मेदवार निर्वाचनमा छन्,’ समाचारमा लेखिएको छ,‘विज्ञहरुले संरचनागत अवरोध, वरिष्ठलाई फाइदा पुग्ने राजनीतिक संस्कार र युवालाई नेतृत्व दिन अनुभवविहिन देख्ने दृष्टीकाणले यस्तो अवस्था सिर्जना गरेको औल्याएका छन् ।’
विगत केही दिनदेखि नै निरन्तर अलजजिरा, फाइनान्सियल टाइम्स, सीबीसी न्युज, टाइम्स अफ इन्डियालगायत सञ्चारमाध्यमले नेपालका युवामाझ बालेन लोकप्रिय रहेको विश्लेषण गरेका थिए । नेपालमा मौन अवधि चलिरहदाँ अमेरिकी सञ्चारमाध्यम सीएनएन, वल्र्ड प्रेस जर्नललगायतले बालेन प्रधानमन्त्री पदको शशक्त दाबेदार रहेको भन्दै उनीबारे समाचार प्रकाशित गरेका थिए ।
रुसी सरकारी सञ्चारमाध्यम आरटीमा मौन अवधिकै समय प्रकाशित विश्लेषणमा नेपालका पुराना पार्टीहरुले पपुलिस्टको बाढी सामना गरेको उल्लेख छ । ‘केहीले यसलाई पुराना पार्टीहरु पाखा लाग्ने अवसरका रुपमा हेरेका छन् । जो युवा नेतृत्वको आन्दोलनको एउटा सम्भावित नतिजा हो । अर्कोथरीले वैध पार्टीहरुलाई कमजोर बनाउनेगरी विदेशी शक्तिले नै प्रदर्शन चलाएको तर्क गरिरहेका छन् ,’ आरटीमा ४ मार्चमा प्रकाशित फिचरमा उल्लेख छ ।
द टेलिग्राफ युकेमा प्रकाशित समाचारमा काठमाडौंको मेयर बन्नासाथ बालेनले नदी किनारबाट गरिबहरुलाई लेखेटेको उल्लेख छ ।
‘यदी उनले महानगरको प्रहरीलाई यसरी दुरुपयोग गर्नसक्छन् भने नेपाल पुलिसलाई के गर्लान् ? अभिव्यक्ती स्वतन्त्रतामा खतरा हुनसक्छ,’ काठमाडौंमा कानुनशास्त्र पढिरहेका माजिद अन्सारीले द टेलिग्राफसँग भनेका छन् । द टेलिग्राफले राजनीतिक विश्लेषक तुला नारायण साहसँग पनि प्रतिक्रिया लिएको छ ।
‘जेनजीलाई बालेनले हाइज्याक गरिसकेका छन् । जेनजी अभियान इतिहास बनिसक्यो । अब विभिन्न शक्ति केन्द्रको खेल हुँदैछ,’ साहले भनेका छन् ।
